शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काठेखोला गाउँपालिकाको बजेट ६२ करोड ५ लाख

काठेखोला गाउँपालिकाको बजेट ६२ करोड ५ लाख

कुल बजेटमध्ये चालु खर्चतर्फ ४३ करोड ५५ लाख (७०.१८ प्रतिशत) र पुँजीगततर्फ १८ करोड ५० लाख रुपैयाँ (२९.८२ प्रतिशत) छुट्याइएको छ ।


  • ढोरपाटन संवाददाता
  • असार १० २०८३, बुधबार

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड ५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले बुधबार आयोजित गाउँसभाको १९ औँ अधिवेशनमा बजेट प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाले “कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारः समृद्ध काठेखोला निर्माणको आधार’’ भन्ने मूल नारासहित उत्पादनमुखी र रोजगारी वृद्धि गर्ने क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

कुल बजेटमध्ये चालु खर्चतर्फ ४३ करोड ५५ लाख (७०.१८ प्रतिशत) र पुँजीगततर्फ १८ करोड ५० लाख रुपैयाँ (२९.८२ प्रतिशत) छुट्याइएको छ ।

बजेटको स्रोतमध्ये सङ्घीय सरकारको अनुदानमात्रै ४६ करोड ३७ लाख रहेको छ । त्यसमा समानीकरण अनुदान ९ करोड ८८ लाख, सशर्त चालु अनुदान ३२ करोड २५ लाख, सशर्त पुँजीगततर्फ ४२ लाख, समपूरक अनुदान २ करोड १२ लाख र विशेष अनुदानमा १ करोड ७० लाख रुपैयाँ रहेको छ ।

यसैगरी गण्डकी प्रदेश सरकारको अनुदान २ करोड २६ लाख २९ हजार रहेको छ । त्यसमा समानीकरणतर्फ १ करोड २७ लाख ४ हजार, समपूरकमा ६० लाख, विशेषमा ३९ लाख २५ हजार अनुमान गरिएको छ ।

त्यस्तै राजस्व बाँडफाँटमा ९ करोड ५४ लाख ५१ हजार ८०३ रुपैयाँ अनुमान गरिएको छ । यसमा संघीयमा ८ करोड ५१ लाख ७६ हजार, प्रदेशको ९७ लाख ३० हजार ८०३, स्थानीय सरकारको ५ लाख, र रोयल्टी ४५ हजार छ ।

साथै आन्तरिक स्रोत तथा सञ्चित कोषबाट ३ करोड ८७ लाख १९ हजार १९७ रुपैयाँ पनि बजेटको स्रोतमा राखिएको छ । यसमा आन्तरिक आय ८८ लाख, सञ्चित कोष मौज्दात २ करोड ९९ लाख १९ हजार १९७ रुपैयाँ छ ।

बजेटका मुख्य प्राथमिकता र विनियोजित कार्यक्रमहरूमा गाउँपालिकाले प्रशासनिक भवन निर्माणदेखि लिएर ग्रामीण सडक र शैक्षिक सुधारका लागि विभिन्न शीर्षकमा रकम विनियोजन गरेको छ ।

पालिकाका ८ वटै वडाका योजनाका लागि ३ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ भने वडा समपूरक कोषका लागि ६२ लाख रुपैयाँ छुट्ट्याइएको छ । सङ्घ र प्रदेशसँगको साझेदारीका लागि समपूरक कोषमा २ करोड ५० लाख रुपैयाँ राखिएको छ ।

गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण सुरु गर्न यस वर्ष १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै, पालिकास्तरीय पूर्वाधार विकास र रुग्ण योजनाका लागि २ करोड ४३ लाख ७५ हजार रुपैयाँ छुट्याइएको छ ।

कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकरणका लागि ‘कृषि यान्त्रीकरण साझेदारी कार्यक्रम’ अन्तर्गत ५० लाख रुपैयाँ र समग्र आर्थिक विकासका लागि ६५ लाख रुपैयाँ विनियोजन भएको छ ।

सामुदायिक विद्यालयहरूमा ‘ई–हाजिरी’ जडान तथा व्यवस्थापनका लागि १६ लाख र समग्र सामाजिक विकासका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रतर्फ नसर्ने रोगको स्क्रिनिङ, आमा सुरक्षा, निःशुल्क गर्भपतन, क्षयरोग मुक्त अभियान र जटिल रोग (मृगौला, क्यान्सर आदि) का बिरामीलाई औषधि उपचार खर्च दिने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

पालिकाले ‘उज्यालो काठेखोला कार्यक्रम’ अन्तर्गत सडक बत्ती जडानका लागि १५ लाख र बालमैत्री तथा पोषणमैत्री गाउँपालिका निर्माणको सुरुआत गर्न १० लाख रुपैयाँ बजेट तोकेको छ ।

विपद् व्यवस्थापन, उद्धार तथा राहतका लागि २५ लाख र सेवा प्रवाहलाई प्रविधिमैत्री एवं पारदर्शी बनाउन सुशासनतर्फ २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाको प्रशासनिक र कार्यालय सञ्चालन खर्चका लागि ८ करोड ३० लाख रुपैयाँ छुट्याइएको छ ।

बजेटमा सङ्घीय र प्रदेश सरकारको अनुदान सहयोगमा सञ्चालित हुने केही ठूला भौतिक पूर्वाधार आयोजनाहरू समेटिएका छन् । त्यस्ता योजनामा ढोलकाटे चोक–तङ्ग्राम–धम्जा देउराली सडक स्तरोन्नति, बागलुङ नगरपालिका–भिमापोखरा–सायँकोट–लेखानी सडक रहेका छन् । यसैगरी धाउखोला बगर सिँचाइँ, डाङ्गेखोला ढोटेपाटा सिँचाई, घोडाबाँधे ड्रिलिङ खानेपानी योजना, कुमाले–धारचोक–वडा नं २ कार्यालय सडक पनि योजनामा समावेश छन् ।

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष थापाले सीमित आन्तरिक स्रोत र असीमित नागरिकका आवश्यकताबीच सन्तुलन मिलाएर बजेट तयार पारिएको बताए । उनले करको दरभन्दा दायरा विस्तारमा जोड दिइएको स्पष्ट पार्दै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई वित्तीय अनुशासन कायम गरिने प्रतिबद्धता जनाए । “अबको हाम्रो यात्रा सिंहदरबारको अधिकार गाउँमा पु¥याउने मात्र होइन, नागरिकले आफ्नै घरदैलोमा प्रविधिमैत्री सेवा पाउने गरी नागरिकमैत्री सरकारको आभाष दिलाउने हो,’’ थापाले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->