बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शून्य बेरुजूको साख जोगाउँदै ‘घुम्न जाउँ महाशिला’ अभियान र डिजिटल शिक्षामा जोड

शून्य बेरुजूको साख जोगाउँदै ‘घुम्न जाउँ महाशिला’ अभियान र डिजिटल शिक्षामा जोड


  • Dhorpatan News
  • असार ११ २०८३, बिहिबार

पर्वत/ महाशिला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले संघीयताको मर्म अनुसार “समृद्ध गाउँपालिका, सुखी नागरिक“ को सोचलाई व्यवहारमा उतार्ने लक्ष्यसहित शिक्षा, कृषि, पर्यटन र प्रविधिलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको हो ।

विगतको लेखापरीक्षणमा देशैभरिका तीन स्थानीय तहमध्ये शून्य बेरुजू कायम गरेर उदाहरणीय बनेको यस गाउँपालिकाले आगामी वर्ष आफ्नो प्रशासनिक साखलाई थप सुदृढ बनाउने संकल्प गरेको छ । गाउँसभाको २० औं अधिवेशनमा पालिका अध्यक्ष ईश्वरीप्रसाद भुसालद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा वैदेशिक रोजगार र बसाइसराइले रित्तिँदै गएका गाउँहरूलाई पुनः जीवन दिन उद्यमशीलता र रोजगारी सिर्जनामा विशेष जोड दिइएको छ ।

‘घुम्न जाउँ महाशिला’ र सांस्कृतिक जगेर्ना
गण्डकी प्रदेश र पर्वत जिल्लामा बढ्दै गएको पर्यटकीय गतिविधिबाट लाभ लिन गाउँपालिकाले आगामी आर्थिक वर्षमा ‘घुम्न जाउँ महाशिला’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअन्तर्गत वडा नं. १ को पैयूँकोट मन्दिर क्षेत्र (जहाँ पोखरी, कलात्मक ढुंगाको पदमार्ग र आवासीय भवन निर्माण भइसकेको छ), वडा नं. ५ को महाशिला क्षेत्र (जहाँ १०८ धारासहित आश्रम निर्माण भएको छ), वडा नं. ६ को फलामखानी क्षेत्र र वडा नं. ४ को लामतुन ग्रामीण होमस्टेलाई मिडियामार्फत विशेष प्रचारप्रसार गरिने जनाईएको छ ।

यसैगरी, तत्कालीन पैयूँ राज्यको केन्द्र रहेको यस क्षेत्रको इतिहास जोगाउन ऐतिहासिक गुर्धमपोखरीलाई पुरातात्विक स्वरूपमा संरक्षण गरिने र पुराना अभिलेखहरू संकलन गरी डिजिटल रूपमा सुरक्षित राखिने नीति लिइएको छ । ७० वर्षमाथिका नागरिकको आवाज रेकर्ड गरी बनाइएको ‘वल्ड सिटिजन अडियो बैंक’ र नेपालमै पहिलोपटक गुरुङ भाषाको ‘खेमा लिपि’ मा नीति तथा कार्यक्रम प्रकाशन गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।

शिक्षामा डिजिटल प्रविधि र ‘रियल टाइम’ मूल्यांकन
महाशिलाले शिक्षा क्षेत्रमा व्यापक सुधारको नीति अघि सारेको छ । शैक्षिक सत्र २०८१ मा २७ प्रतिशत रहेको एसईई नतिजालाई शैक्षिक सत्र २०८२ मा ६४ प्रतिशत पु¥याउन सफल भएको गाउँपालिकाले आगामी वर्ष कक्षा ४ भन्दा माथिका कक्षाहरूमा अनलाइनमा आधारित शिक्षण सुरु गर्ने भएको छ । शिक्षक अनुपस्थित हुँदा पनि सिकाई प्रभावित नहोस् भन्नका लागि मोवाइल एपमार्फत ‘रियल टाइम लर्निङ एसेसमेन्ट एन्ड फिडब्याक’ कार्यक्रम सञ्चालन गरिनेछ, जसको मूल्यांकन नतिजा अभिभावक, शिक्षक र गाउँपालिकाले तत्कालै प्राप्त गर्नेछन् ।

सरकारी तलबभत्ता लिने जनप्रतिनिधि, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने नीतिलाई थप कडाइका साथ लागू गरिनेछ । यसका साथै, ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई बैंक खातामार्फत विस्तार गरिने, ‘लर्निङ टु बिजनेस कोरिडोर’ को अवधारणा ल्याइने र स्वयंसेवक शिक्षक तथा कर्मचारीको सुविधामा वृद्धि गरिने कार्यक्रममा उल्लेख छ ।

कृषिमा ‘गुड एग्रिकल्चर प्राक्टिस’ र बजारीकरण
कृषकहरूले कृषि ऋणमा तिर्नुपर्ने ब्याज गाउँपालिकाले व्यहोर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । कृषि उत्पादनको प्राङ्गारिकता प्रमाणीकरण गर्न र असल कृषि अभ्यासको सुरुवात गर्न प्रदेश सरकारसँग समन्वय गरिनेछ ।

विगत २० महिनामा कृषकहरूले तरकारी, फलफूल र खसीबोका बिक्रीबाट ८ करोड १३ लाख २१ हजार ५५८ रुपैयाँ आम्दानी गरेको तथ्याङ्क प्रस्तुत गर्दै गाउँपालिकाले उत्पादन अनुदानलाई निरन्तरता दिएको छ । ‘प्रोडक्ट अफ महाशिला’ को लोगो राखी रैथाने दलहन बालीको बजारीकरण गरिनेछ भने कृषि एम्बुलेन्समार्फत प्रत्येक घरको उत्पादन बजारसम्म पु¥याउने सुनिश्चितता गरिएको छ । स्थानीय ‘लिमे पार्कोटे’ जातको भैंसी संरक्षणका लागि पाडापाडी पाल्ने कृषकलाई विशेष भत्ता दिने कार्य जारी रहनेछ ।

भौतिक पूर्वाधार र ’घर फर्क प्याराप्यारी’
बसाइसराइ रोक्न र बाहिर गएकाहरूलाई फर्काउन सञ्चालित ‘घर फर्क प्याराप्यारी’ कार्यक्रममार्फत हालसम्म १५ परिवार गाउँ फर्किसकेका छन् । यस्तै, गरिब परिवारलाई मौसमी रोजगारी दिन सञ्चालित ‘निर्माण स्वयंसेवक कार्यक्रम’ लाई निरन्तरता दिँदै स्वयंसेवकहरूको कट्टी रकम फिर्ताका लागि छुट्टै संचित कोष स्थापना गरिनेछ।

पूर्वाधारतर्फ गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भई सेवा सुरु भइसकेको छ । राष्ट्रिय गौरव र प्रादेशिक समन्वयका सडकहरूको कालोपत्रे र ढलान कार्य अन्तिम चरणमा पुगेको र गाउँपालिकाभित्र कुल सडक सञ्जाल १९० किलोमिटर पुगेको छ । विवादित बनेको वाइचोक–दुक्तान सडक खण्डलाई गाउँपालिकाले आफ्नै स्रोतबाट आगामी माघभित्र पूर्ण रूपमा स्तरोन्नति (ढलान) गरिसक्ने प्रतिबद्धता जनाएको छ । शाखा बाटो सरसफाइको जिम्मा बजेटसहित वडालाई नै दिइनेछ ।

सुशासन र एकीकृत कानूनी सँगालो
गाउँपालिकाले सेवाग्राहीको सहजताका लागि हटलाइन मोवाइल नम्बर र समर्पित कर्मचारीसहितको ‘डेडिकेटेड सेवा केन्द्र’ स्थापना गर्ने भएको छ । विद्यालय र स्वास्थ्य संस्थाहरूमा सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली अनिवार्य लागू गरिनेछ । गाउँपालिकाले हालसम्म निर्माण गरेका सम्पूर्ण कानूनहरू परिमार्जन गरी ’एकीकृत कानूनी सँगालो’ प्रकाशन गर्ने र जिल्ला बाहिरको कम्तिमा एक स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गर्ने नीति लिएको छ ।

गाउँसभाको पहिलो अधिवेशन सञ्चालन भएको ऐतिहासिक दिन असार २५ गतेलाई यसै वर्षदेखि ‘महाशिला स्थापना दिवस’ को रूपमा भव्यताका साथ मनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->