पोखरा / नेकपा (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि प्रदेशस्तरीय सुझाव संकलन अभियान विहीबार गण्डकी प्रदेशमा चलिरहेको छ ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबिचको सम्बन्ध थप मजबुत बनाउन आवश्यक सुधारका विषयमा सातै प्रदेशमा सुझाव लिन एमालेले कार्यदलमार्फत अभियान थालेको थियो । सोही अभियान अन्तर्गत विहीबार गण्डकी प्रदेशस्तरीय सुझाव संकलनको आयोजना गरिएको हो ।
भेलामा जिल्ला र प्रदेशका पदाधिकारीहरुले आफ्नो सुझाव राखिसकेका छन् । अहिले केन्द्रीय सदस्यहरु बोलिरहेका एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले बताए ।
भेलामा सहभागी एक एमाले नेताका अनुसार वक्ताहरुमध्ये कसैले माथिबाट नेतृत्व परिवर्तन हुनुपर्ने त कतिपयले तल्लो तहबाटै नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन् । यसैगरी गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजय हुनुमा विशेष गरी गत भदौमा भएको जेन जी आन्दोलन निम्तने परिस्थितिको दोष सबै एमालेमाथि खनाइएकोले बताएका थिए । यसका साथै कतिपयले पार्टीको कार्यशैली गलत भएर पनि निर्वाचनमा हार व्यहोर्नुपरेको उल्लेख गरेका थिए ।
गत जेठ १० गते बसेको एमाले सचिवालयको आठौँ बैठकले पार्टी उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय सुझाव संकलन कार्यदल गठन गरेको थियो । त्यसपछि जेठ २६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बसेको कार्यदलको पहिलो बैठकले प्रदेशस्तरमा सुझाव संकलन गर्ने कार्यतालिका तय गरेको थियो ।

प्रदेशस्तरीय आजको भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका पदाधिकारी सहभागी छन् । कार्यदलले असार १८ गते जनसंगठनका प्रतिनिधि तथा असार १९ गते केन्द्रीय विभाग प्रमुख र विभिन्न निकायका पदाधिकारीसँग पनि सुझाव संकलन गर्ने कार्यक्रम तय गरेको छ । एमालेले संकलित सुझावका आधारमा पार्टी पुनर्गठन र रूपान्तरणका लागि आगामी रणनीति तय गर्ने जनाएको छ ।





