बागलुङ/पश्चिम बागलुङ तमानखोला गाउँपालिकाले लघउद्यम प्रवर्द्धन, व्यवसायिक कृषक प्रोत्साहन र युवा स्वरोजगारलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याएको छ ।
नवौं गाउँसभामा आर्थिक वर्ष २०८३/८४ का नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले कृषि क्षेत्रको विकास, लघुउद्यम प्रवर्द्धन, युवा स्वरोजगारमूलक कार्यक्रम र व्यावसायिक कृषक प्रोत्साहनलाई प्राथमिकता दिईएको बताए ।
तमानखोलामा कृषि, पर्यटन र लघुउद्यम विकासको पर्याप्त सम्भावना रहेकाले घरबास प्रवर्द्धन, कृषि बजारीकरण, लगानीमैत्री वातावरणका कार्यक्रमलाई प्राथमिकता दिइएको अध्यक्ष जोकलाल बुढाले बताए ।
‘गुणस्तरीय विद्यालय शिक्षा तमानखोलाको प्रतिज्ञा, जेहेन्दारलाई कदर’ र ‘शिक्षामा अवसर’ जस्ता कार्यक्रमलाई सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकालाई पोषणमैत्री पालिका बनाउने उद्देश्यसहित आवश्यक सूचक पूरा गर्ने कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य क्षेत्रको विकास तथा विस्तार गर्ने, दलित तथा जनजाति समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्ने तमानखोलाले नीति लिएको छ ।
पूर्वाधारतर्फ सडक स्तरोन्नतिलाई तमानखोलाले केन्द्रमा राखेको छ । खानेपानी तथा सरसफाइ, उद्यमीलाई प्रोत्साहन, सहुलियत ऋण तथा अनुदानका कार्यक्रमलाई तमानखोलाले नीतिमा समेटेको छ । गाउँपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउने नीतिमा उल्लेख गरिएको छ ।
खेलकुद विकास, नेतृत्व विकास, सीप विकास तथा विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि विभिन्न कार्यक्रम समावेश गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँसभामा न्यायिक समिति संयोजक हिरा कुमारी छन्त्यालले प्रस्तुत गरेको न्यायिक समिति पहिलो संशोधन विधेयक २०८३, छ प्रसाद श्रीपालीले प्रस्तुत गरेको गाउँपालिकाको संगठन तथा व्यवस्थापन सम्बन्धी प्रस्ताव सभाबाट पारित भएका छन् ।
यस्तै, तमानखोलाले आगामी आर्थिक वर्षका लागि ३३ करोड ६७ लाख रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ । उपाध्यक्ष हिरा कुमारी छन्त्यालले बजेट सार्वजनिक गर्दै सबैलाई सम्बोधन हुने गरी ३३ करोड ६७ लाख ८७ हजार बराबरको बजेट ल्याएको बताइन् । प्रस्तुत बजेटमध्ये चालुतर्फ २५ करोड ५९ लाख ५० हजार ९ सय २३ रुपैयाँ र पूँजीगततर्फ ८ करोड ८ लाख ३६ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले पूर्वाधार विकासतर्फ सडक निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ । स्थानीय आवश्यकताका आधारमा यातायात पहुँच विस्तार गर्ने तथा दीर्घकालीन महत्वका भौतिक संरचना निर्माणमा बजेट केन्द्रित गरिएको जनाएको छ । कृषि उत्पादन वृद्धि, पर्यटन प्रवद्र्धन, श्रम तथा रोजगार सिर्जना, शिक्षा सुधार, युवा तथा खेलकुद विकास र स्वास्थ्य सेवाको विस्तारलाई समेत बजेटमा प्राथमिकता दिइएको छ । गाउँपालिकाले स्थानीय स्रोत, सम्भावना र आवश्यकतालाई आधार बनाएर विकास निर्माणका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।





