मुस्ताङ/ मुस्ताङको थासाङ गाउँपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले असार ८ गते आयोजित गाउँसभाको विशेष बैठकमा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
संघीयताको मर्म र दिगो विकासको लक्ष्यलाई आत्मसात गर्दै तयार पारिएको यस नीति तथा कार्यक्रमले हिमाली क्षेत्रको विशिष्टता, कृषि, पर्यटन, सामाजिक विकास र सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ ।
कृषि र पर्यटनमा विशेष योजना
गाउँपालिकाले आफ्नो मुख्य स्रोतका रूपमा रहेका स्याउ, आलु, ओखर, जौ, उवा र फापर जस्ता रैथाने बालीहरूको प्रवद्र्धन तथा उत्पादकत्व वृद्धिमा जोड दिएको छ । परागसेचन प्रक्रियामार्फत स्याउ उत्पादन बढाउन कृषकहरूलाई मौरीसहितको घार अनुदानमा वितरण गर्ने र किवी खेतीको सम्भावना भएका क्षेत्र पहिचान गरी कृषकलाई प्रोत्साहित गर्ने नीति लिइएको छ । यस्तै, विषादी र रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दै प्राङ्गारिक कृषि प्रणालीलाई बढावा दिइने घोषणा गरिएको छ ।
पर्यटनतर्फ, टिटी ताल, सेकुङ ताल र भुछर्तो ताल लगायतका प्रमुख पर्यटकीय स्थलहरूको प्रचारप्रसार र पूर्वाधार विकास गर्ने गाउँपालिकाको योजना छ । पर्यटन प्रवद्र्धनकै लागि विभिन्न स्थानमा पर्यटन सूचनामूलक बोर्डहरू राखिनेछन् ।
सामाजिक विकास र शिक्षा–स्वास्थ्य
स्वास्थ्य क्षेत्र अन्तर्गत लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट २४ घण्टे सेवा प्रवाहका लागि स्वास्थ्यकर्मी प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । शून्य होम डेलिभरीको अवधारणालाई साकार पार्न गर्भवती महिलाहरूका लागि संघीय सरकारको यातायात खर्चमा गाउँपालिकाले थप रकम र पौष्टिक आहार उपलब्ध गराउने कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइएको छ ।
शिक्षाको गुणस्तर सुधारका लागि गाउँपालिकाका सबै माध्यमिक विद्यालयमा स्मार्ट बोर्डको व्यवस्था गरिसकिएको र आगामी वर्ष कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तक निर्माण तथा कक्षा १ देखि ८ सम्मको पुस्तक छपाई गरिने नीतिमा उल्लेख छ । सामुदायिक विद्यालयहरूमा ई–हाजिरी जडान गरिनेछ भने विद्यालयहरूमा जङ्क फुड पूर्ण रूपमा निषेध गरिनेछ । युवाहरूमा खेलकुदप्रति रुचि जगाउन ‘अध्यक्ष कप खेलकुद प्रतियोगिता’ सञ्चालन गरिनेछ।
पूर्वाधार र फोहोरमैला व्यवस्थापन
गाउँपालिकाले साना तथा टुक्रे विकास योजनाहरूलाई निरुत्साहित गर्दै रणनीतिक महत्वका आयोजनाहरूलाई प्राथमिकता दिने नीति लिएको छ । लेतेमा निर्माणाधीन १५ शैयाको आधारभूत अस्पताल र गाउँपालिकाको प्रशासकीय भवन आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्न पहल गरिने अध्यक्ष गौचनले बताए । ५ लाखसम्मका योजना मंसिर मसान्तभित्र र सोभन्दा माथिका योजना जेठ मसान्तभित्र सम्पन्न गरिसक्ने गरी कार्ययोजना बनाइनेछ ।
त्यस्तै, राजमार्गको छेउछाउमा पर्यटकहरूले खाना बनाउँदा हुने फोहोरलाई व्यवस्थित गर्न शुल्कसहितको निश्चित क्षेत्र तोकिने र फोहोर मैला संकलनका लागि ल्यान्डफिल्ड साइट निर्माण गरिने कार्यक्रममा समेटिएको छ ।
सुशासन र प्रविधि
थासाङ गाउँपालिकाले आगामी वर्षदेखि ‘कृत्रिम बुद्धिमत्ता’ (एआई) सम्बन्धी तालिम सञ्चालन गर्ने नवीन योजना अघि सारेको छ । कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरूलाई सूचना प्रविधिमैत्री बनाउन कर्मचारीहरूलाई एआई र सूचना प्रविधिको तालिम दिइनेछ ।
गाउँपालिकाको आफ्नै लोगो आगामी श्रावण १ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ । बजारमा हुने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन सुरु गरिने र प्रत्येक वडा कार्यालयमा मेलमिलाप केन्द्र सञ्चालन गरी न्यायिक समितिको कार्यलाई प्रभावकारी बनाइने प्रतिबद्धता नीति तथा कार्यक्रममा छ ।
अध्यक्ष गौचनले समृद्ध, सुशासित र आत्मनिर्भर थासाङ गाउँपालिका निर्माण गर्ने अभियानमा सबै जनप्रतिनिधि, कर्मचारी र आम गाउँपालिकावासीको निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरेका छन् ।





