बागलुङ (खर्वाङ)/गत जेठ ११ गते हावाहुरीबाट क्षति पुगेका बडिगाड गाउँपालिकाका २ सय १७ जनालाई लायन्स क्लब बागलुङ बडिगाडले सहयोग गरेको छ । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ‘एम’ को सहयोग तथा लायन्स क्लब बागलुङ बडिगाडको सहजीकरणमा उनीहरुलाई सहयोग गरिएको बडिगाडका प्रेसिडेन्ट नरिश्वर घिमिरेले बताए ।
लायन्सले संकलन गरेको १५ हजार डलर बराबरको सहयोगबाट उनीहरुलाई खाद्यन्न र लत्ताकपडासहित १२ हजार ५ सय रुपैयाँका दरले सहयोग तथा १५ घरपरिवारलाई घर छाउने जस्तापाता समेत वितरण गरिएको घिमिरेले जानकारी दिए ।
११ गतेको हावाहुरीबाट बडिगाड–२ बाहेक सबै वडामा क्षति गरेको थियो । जसमध्ये वडा नं. १ मा ३३, वडा नं. ३ मा ४२, वडा नं. ४ मा १७, वडा नं. ५ मा ४६, वडा नं. ६ मा ६, वडा नं. ७ मा १३, वडा नं. ८ मा ७, वडा नं. ९ मा १७ र वडा नं. १० का ३५ गरी २ सय १७ जनालाई सहयोग प्रदान गरिएको लायन्स क्लब बागलुङ बडिगाडका सेक्रेटरी कृष्ण भट्टराईले जानकारी दिए ।
एक महिना अघिको हावाहुरीबाट बडिगाडका २ सय ३५ घरमा क्षति पुगेको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् । अधिकारीका अनुसार, दुई बालविकास केन्द्रसहित एघार विद्यालयमा समेत हावाहुरीले क्षति पुगेको छ भने ५८ घर पुर्ण क्षति भएका छन् ।
विपत्को समयमा पालिकाबाट समेत तत्काल पीडितलाई त्रिपाल सहयोग गरेको पालिकाले पुर्ण क्षति भएकाको आवास निमार्णको लागि प्रदेशसंग सहकार्य गरिरहेको समेत थापाले बताइन् ।





