
बागलुङ/दश वर्ष पहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका–१२ का लिलाधर शर्मा अहिले गाउँमा गाई फार्म सञ्चालन गरिरहेछन् । विदेशमा जस्तै मेहनत गर्दा आफ्नै गाउँमा केही गर्न सकिन्छ भन्ने लागेर थालेको व्यवसायले उनलाई व्यवसायीक दुध उत्पादक किसान बनायो । उनको फार्ममा अहिले २५ वटा माउ गाई छन् । केही साना बाच्छा र भैंसी समेत छन् । शर्माले गाउँमा दुध उत्पादन गरेर बिक्रीका लागि बागलुङ बजारमा बिक्री केन्द्रनै सञ्चालन गरेका छन् ।
चार वर्ष साउदी अरेविया बसेर फर्किएका जैमिनी नगरपालिका नगरपालिका–१ कुश्मीशेराका विकास पौडेलको गोठ पनि दुधालु गाईले भरीभराउ छ । व्यवसायीक दुध उत्पादक किसान पौडेलको दम्पत्तीलाई अहिले दुधको उत्पादन र बिक्रीका लागि भ्याईनभ्याई छ । पौडेल र शर्मा मात्रै होईन पछिल्लो समय विदेशका दुःख सम्झेर गाउँ फर्किने, विदेशबाट फर्केका युवाको देखासिकी गर्ने र विदेश जानै नचाहने युवाहरु व्यवसायीक उत्पादनमा लाग्न थालेका छन् ।
विदेश जानुभन्दा स्वदेशमा नै बसेर आम्दानी गर्न सकिन्छ भनेर बागलुङका किसानहरु व्यवसायी गाईभैसी पाल्न थालेका हुन् । गाईभैसी पाल्ने किसानहरुलाई स्थानीय, प्रदेश र संघिय सरकारबाट अनुदान, उपचार र प्राविधिक सहयोग उपलब्ध हुन्छ । सरकारको सहयोगले किसान थप हौसिएका छन् ।
बागलुङमा वार्षिक २३ हजार १ सय ५७ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । व्यावसायिक किसानको संख्या बढेसँगै बागलुङ दुध उत्पादनमा आत्मनिर्भर बनेको हो । व्यावसायिक किसानलाई स्थानीय सरकारले सहयोग गर्ने र संघीय तथा प्रदेश सरकारका किसान लक्षित कार्यक्रमसमेत व्यावसायिक किसानसँगै पुग्ने भएकाले दूधको उत्पादन बढेको हो । आवश्यकताभन्दा बढी उत्पादन भइरहेको दूध छिमेकी जिल्लामा निर्यात हुने गरेको छ ।
जिल्लाको दक्षिण क्षेत्रबाट छिमेकी जिल्ला पर्वत र पश्चिम क्षेत्रबाट छिमेकी गुल्मीमा दूध निर्यात हुने गरेको तथ्यांक रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख चिकित्सक ऋषिराम सापकोटाले बताए ।
केही वर्ष पहिलासम्म पोखराबाट दूध ल्याएर बिक्री गर्दैै आएका व्यापारीहरु अहिले भने किसानको घरबाट सिधै दूध डेरी पसलमा ल्याउने गरेका छन । दुध बिक्रिको लागि जिल्लामा १५ ओटा सहकारीबाट दुध बिक्री हुदै आएको छ । जिल्लामा किसानहरु व्यक्तिगत, समुहगत र सहकारीमार्फत गाईभैंसी पालन गरी दुध उत्पादन हुने गरेको छ । बजारमा स्थानीय किसानहरुले उत्पादन हुने गरेको दुधबाट पर्याप्त हुने गरेको जिल्ला दुग्ध सहकारी सघंका अध्यक्ष दिपक गौतमले बताए ।
जिल्लाभर ८६ हजार नौ सय २० भैँसी र २१ हजार छ सय ६० गाईपालन भइरहेको तथ्यांक केन्द्रसँग छ । व्यावसायिक र घरायासी प्रयोजनलाई पालिएका पशुचौपायाको समय तथ्यांक निकालेर केन्द्रले दूधको उत्पादन मूल्यांकन गर्ने गरेको छ । किसानले मुर्रा, स्थानीय क्रस,जर्सी गाई, होलस्टेन जातका गाई किसानले पाल्दै आएका छन् ।
ग्रामीण भेगसम्म सडकको सहज पहुँच, यातायातको सुविधा, उचित मूल््य, स्थानीय तहको उत्पादनमा आधारित अनुदान, घाँस परालको उपलब्धतालगायतले किसानलाई व्यावसायिक बनाउन सहयोग पुगेको किसान विकास पौडेलले बताए । हाल बजारमा दूधको मूल्य थोकमा ७० रुपैयाँदेखि ९० रुपैयाँ तथा खुद्रा एक सय रुपैयाँदेखि एक सय २० रुपैयाँमा बिक्री हुँदै आएको छ ।




