शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दैनिक २ हजार गाडीबाट पोखरा आउँछन् भारतीय

दैनिक २ हजार गाडीबाट पोखरा आउँछन् भारतीय

भारतमा मे र जुन महिनामा विद्यालय र कलेजमा बिदा हुने तथा गर्मी अत्याधिक बढ्ने समय भएका कारण तथा भारतको डलर बचाउने नीतिका कारण भारतीयहरु नेपालमा उर्लिएका हुन ।


  • ढोरपाटन संवाददाता
  • असार १६ २०८३, मंगलबार

पोखरा/सिद्धार्थ राजमार्गमा सवारीको चाप निकै बढेको छ । भारतीय नम्बरप्लेटका सवारी पृथ्वी राजमार्गमा पनि उत्तिकै गुडिरहेका देखिन्छन । पोखराका सडकमा भारतीय नम्बरप्लेटका सवारीहरु जहाँपनि देख्न पाइन्छ । कोही बाइकमा त कोही निजी सवारी देखि सार्वजनिक सवारी रिजर्भ गरेर पोखरा आइरहेका छन् ।

कति भारतीय पोखरा आए भन्ने यकिन तथ्यांक कसैसँग पनि छैन ।

सिद्धार्थ राजमार्ग प्रयोग गरेर भित्रिने भारतीय नागरिकको संख्या नभएतापनि गण्डकीको दक्षिणी नाका राम्दीमा उनीहरुले प्रयोग गरेको सवारीको तथ्यांक राखिएको छ ।

स्याङजा प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को जेठसम्म २० हजार ३१९ सवारी गण्डकीमा भित्रिएका छन । यो तथ्यांक पछिल्लो तीन महिनामा झनै बढेको तथ्यांकले देखाउँछ । पछिल्लो तीन महिनाको औसत हेर्दा दैनिक २ हजार सवारीबाट भारतीयहरु पोखरा आएका छन ।

भारतमा मे र जुन महिनामा विद्यालय र कलेजमा बिदा हुने तथा गर्मी अत्याधिक बढ्ने समय भएका कारण तथा भारतको डलर बचाउने नीतिका कारण भारतीयहरु नेपालमा उर्लिएका हुन ।

भारतको मुद्रा नेपालमा पनि चल्ने तथा हालै सरकारले भारतमा पनि नेपालको बैंक चल्ने र नेपालमा पनि भारतको बैंकबाट क्युआरबाट भुक्तानी गर्न मिल्ने क्रसबोर्डर ट्रान्सफर सम्झौताका कारण पनि भारतीयको रोजाइमा नेपाल परेको हो ।

नजिकको दूरी तथा पहिला घुम्न आएका पर्यटक, डिजिटल कन्टेन्ट क्रियटरको पोस्टका कारण पनि नेपाल, त्यसमाथि पोखरा भारतीयको पहिलो रोजाइमा परेको देखिन्छ । भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला पर्यटकले भरिभराउ छ ।

हरेक दिन फेवातालमा कायकिङदेखि डुंगा सयर गर्ने बहुसंख्यकमा भारतीय पर्छन ।

डुङ्गा व्यवसायीहरूका अनुसार फेवातालमा एकै दिन पाँच हजारभन्दा बढी पर्यटकले डुङ्गा सयर गरेका छन् । अन्नपूर्ण क्षेत्रलगायत आसपासका विभिन्न पदमार्गहरूमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ ।

पर्यटकको बढ्दो चापसँगै पोखराका अधिकांश होटलहरू भरिभराउ भएका छन् । सामान्यतया ‘अफसिजन’ मानिने यस अवधिमा समेत पर्यटकको संख्या उल्लेख्य रूपमा बढेपछि पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन् ।

पर्यटन क्षेत्रका सरोकारवालाहरूका अनुसार वैशाखयता भारतीय पर्यटकको आगमन निरन्तर बढिरहेको छ । उनीहरूका अनुसार यो अवस्था नेपालको पर्यटन उद्योगका लागि सकारात्मक र सुखद संकेत हो ।

होटल व्यवसायीहरूले विगतका वर्षहरूको तुलनामा यस वर्ष भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको बताएका छन् । नेपाली नयाँ वर्षयता सुरु भएको पर्यटक आगमनको लहर हालसम्म पनि निरन्तर छ ।

पोखरा मात्र नभइ गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगरी मुक्तिनाथ तथा विभिन्न पदयात्रा मार्गहरूमा समेत भारतीय पर्यटकको संख्या उत्साहजनक देखिएको छ । भारतमा बढ्दो गर्मीबाट राहत खोज्न तथा बिदाको सदुपयोग गर्न भारतीय नागरिकहरूले नेपाललाई आकर्षक र सहज गन्तव्यका रूपमा रोज्न थालेका छन् ।

पर्यटन व्यवसायीहरूका अनुसार भारतीय पर्यटकको बढ्दो आगमनले पोखरा तथा समग्र नेपालको पर्यटन उद्योगमा नयाँ उत्साह थपेको छ ।

सोमबार नै तालवाराही मन्दिर जानको लागि अजयको परिवार तयार हुँदै थियो । आफन्त र परिवार गरि उनको समूह आइतबार पोखरा आइपुगेको हो । तालवाराही मन्दिर जाने तयारी गर्दैगर्दा उनले आफूहरु भारतको वाराणसीबाट काठमाण्डौ र त्यहाँबाट पोखरा आइपुगेको बताए ।

पोखराको बसाइ सिध्याएर उनको टोली मुक्तिनाथ दर्शनको लागि जाने तयारीमा छ । उनीमात्रै होइन, हजारौँ भारतीयको रोजाईमा पोखरा परेको छ ।

उत्तरप्रदेशका दुई युवाहरु बाइकमा पोखरा आएका छन । बसाई छोटो भएका कारण पोखराबाटै फर्किने र अर्कोपटक आउँदा मुक्तिनाथ जाने उनले बताए ।

नेपालयात्राको अनुभवबारे सुनाउँदै ती युवाले भने, ‘नेपालमा सबै राम्रो छ, हामी सडक मार्गबाट बाइकमा आयौँ, धेरै नयाँ ठाउँ पनि देख्यौँ, सामाजिक सञ्जालकै कारण हामीले पोखरा देख्यौँ र छोटो योजना बनाएर आयौँ ।’

भारतीयको चहलपहलकै कारण पोखरा क्षेत्रमा रहेका पर्यटकीय स्तरका होटलहरूको अकुपेन्सी हाल करिब ९० प्रतिशत पुगेको पर्यटन व्यवसायी बताउँछन ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले हाल उक्त सङख्याको ९० प्रतिशत बेड भारतीय, नेपाली तथा तेस्रो मुलुकका पर्यटकले भरिएको बताए ।

‘हाल पोखराका अधिकांश पर्यटकीय होटलहरू भरिभराउ अवस्थामा छन् । भारतीय, आन्तरिक तथा विदेशी पर्यटकको चापका कारण होटल व्यवसायमा उत्साह थपिएको छ,’ सुवेदीले भने ।

गर्मी छल्नका साथै मुक्तिनाथ र पशुपतिनाथ मन्दिर दर्शन गर्ने उद्देश्यले भारतीय पर्यटक नेपाल आउने क्रम बढेको सुवेदीले बताए ।

हाल दैनिक करिब एक हजार पाँच सय भारतीय सवारी साधन पोखरा भित्रिने उनको अनुमान छ ।

‘सानोदेखि ठूला पर्यटकीय बस तथा निजी सवारी साधनमार्फत भारतीय पर्यटकहरू दैनिक रूपमा पोखरा भित्रिरहेका छन् । अहिले सबै प्रकारका भारतीय पर्यटकको आगमन भइरहेको छ,’ उनले भने ।

भारतीय पर्यटकहरु थोरै खर्च गर्नेदेखि अत्यधिक सुविधा खोज्नेसम्मका छन् । पोखरामा सस्तो सेवा खोज्ने भारतीय पर्यटकका लागि त्यही तहका धेरै होटलहरु पनि उपलब्ध छन् ।

पोखरामा हाल आगमन हुने पर्यटकमध्ये करिब ५० प्रतिशत भारतीय, ३० प्रतिशत आन्तरिक तथा २० प्रतिशत तेस्रो मुलुकका पर्यटक रहेको सुवेदीको भनाइ छ ।

यता, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सरकारले लागू गरेको साताको दुई दिन सार्वजनिक बिदाको व्यवस्थाले आन्तरिक पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पारेको बताए ।

उनका अनुसार पछिल्लो समय विशेषगरी भारतीय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ । ‘करिब दुई महिनादेखि पोखरामा भारतीय पर्यटकको आगमन उल्लेखनीय छ । सरकारले दिएको दुई दिनको बिदाले पनि आन्तरिक पर्यटकको संख्या बढाएको छ,’ पहारीले भने ।

अधिकांश भारतीय पर्यटकको पोखरा बसाइ एकदेखि दुई दिनसम्म रहने गरेको उल्लेख गर्दै पहारीले कतिपय पर्यटक पोखराबाट मुक्तिनाथ पुगेर सोही दिन फर्किने गरेका छन् ।

पोखराका पर्यटकीय गन्तव्य फेवाताल, पुम्दीकोट बिशाल महादेवको मुर्ति, विश्व शान्ति स्तुप, सराङकोट, विन्ध्यवासिनी मन्दिर, गुप्तेश्वर गुफा, डेभिडफल्स, महेन्द्र गुफा, चमेरे गुफा, भद्रकालि मन्दिर, काहुँडाँडा, घार्मी डाँडा, फोक्सिङ डाँडा लगायतको क्षेत्रमा पर्यटक चहल पहल रहेको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले नीजि क्षेत्र र वोर्डको बिषेश पहलमा गर्मी मौसममा भारत केन्द्रित कार्यक्रम चलीय पोखरा, गर्मीसे बेहाल चलो नेपाल, गर्मी छल्न जाऊँ है पोखरा लगायतका नारासहित गरिएको प्रमोशन टुर कारणले गर्दा पनि हाल पोखरामा भारतीय पयटक आगमनमा बृद्धि भएको बताए ।

केही वर्ष अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ मन्दिरमा केही समय अघि दर्शन गर्नु, पछिल्लो समयमा अमेरीका र इरानमा भएको युद्ध पछि डलर बचाउने नीतिका कारण पनि भारतीय पोखरा भित्रिएका हुन ।

केही भारतका चर्चीत भ्लगरहरु पोखरा क्षेत्रमा आई बनाएका भिडियो सामग्रीले पर्यटकहरुलाई आकर्षण गराएको उनको भनाई छ ।

टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले पोखरा र पोखरा देखि माथिल्लो मुस्ताङसम्म हाल होटलहरु पाउन मुस्किल परेको अवस्था भएको बताए ।

गन्तव्य मुक्तिनाथ
चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममात्रै मुस्ताङमा दुई लाख ४४ हजार विदेशी पर्यटक पुगेका छन । मुस्ताङ प्रहरीका अनुसार ती विदेशी पर्यटकमध्ये ९५ प्रतिशतसम्म भारतीयमात्रै छन ।

चैतमा ३४ हजार र वैशाखमा ३६ हजार विदेशी पर्यटक मुस्ताङ जाँदा जेठको संख्याले भने रेकर्ड तोडेको छ । जेठमा मात्रै झन्डै ९१ हजार जनाले मुस्ताङ भ्रमण गरेका छन ।

मुस्ताङ जाने भारतीयको एउटामात्रै गन्तव्य भनेको मुक्तिनाथ हो । अर्थात, मुस्ताङ आउने सतप्रतिशत भारतीय मुक्तिनाथ पुगेकै हुन्छ ।

यही तथ्यांकलाई आधार मान्दा तीन महिनामा मात्रै डेढ लाख भारतीयले मुक्तिनाथको दर्शन गरेका छन् ।

गत आव २०८१/०८२ को एघार महिना र चालु आवको एघार महिनाको अवधिलाई तुलना गरिंदा (८१.८०) प्रतिशत बढी विदेशी पर्यटकले हिमाली जिल्ला मुस्ताङको भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले प्रविष्ट गरेको पर्यटकीय तथ्यांक अनुसार गत आवको भन्दा चालु आवको एघार महिना अवधिमा एक लाख १० हजार १६६ जना बढी विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको पाईएको छ ।

गत आव २०८१/०८२ को बाह्र महिनामा कुल एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेकामा सोही वर्षको असार महिनालाई छोडेर एक लाख ३४ हजार ६६४ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

यसैगरी चालु आव २०८२/०८३ को एघार महिनामा दुई लाख ४४ हजार ८८० जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु आवको जेठ महिनामा मात्रै नब्बे हजार ९३९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

यस्तै गत वर्षको बाह्र महिना अवधिमा सबैभन्दा कम साउन महिनामा तीन हजार ५४ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकामा चालु वर्षको साउनमा सात हजार ९५० जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।

गतवर्ष र चालुवर्षको साउन महिनालाई तुलना गर्दा चार हजार ८९६ जना विदेशी पर्यटक बढेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->