
बागलुङ/जन्मदिन लगायतका उत्सब मनाउने खर्च सामाजिक क्षेत्रमा खर्चने क्रम चलेको समयमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भने कुकुर होस्टल सहयोग गरेका छन् । हालै मात्र बनाएर संचालनमा आएको होस्टेलमा श्रेष्ठले सहयोग गरेर आम नागरिकलाईपनि सहयोगको बाटो खोलेको बताए ।
श्रेष्ठले होस्टलमा राखिएका कुकुरलाई खानाकालागि १० हजार बराबरको खाद्यान्न र सरसफाई सामाग्री सहयोग गरेका हुन् । नगरपालिकाले बजेट व्यवस्थापन गरेर यहाँको संचालन खर्च गरेपनि प्रमुख श्रेष्ठले आफ्नो जन्मदिन पारेर सोमबार सहयोग हस्तान्तरण गरेका हुन् ।
सोमबार एक कार्यक्रम आयोजना गरेर उनले सहयोग हस्तान्तरण गर्दै अबदेखि जन्मदिन लगायत अन्य खुसी मनाउन सहयोग गर्ने एउटा स्थान बनेको उनले बताए । सामुदायिक कुकुरलाई दुःख नहोस् भनेर होस्टलमा राख्ने व्यवस्था गरिएको भन्दै श्रेष्ठले अब त्यहाँ राखिएका कुकुरलाई निरोगी, स्वस्थ्य र मानवसँग मिल्ने बनाउने पनि बताए ।
होस्टेलमा राखेका कुकुरलाई माया गर्दा मानिससँगै रमाउने बन्न थालिसकेको उनले बताए । हाल एक जना सहयोगी राखेर कुकुरको नियमित हेरचाह र सरउसफाइ तथा खाना खुवाउने काम गरिंदै आइएको छ । १ सय कुकुर राख्न सकिने क्षमताको होस्टल बनेपनि हाल ३० वटा मात्रै राखिएको छ । एकैपटकमा राख्दा झगडा गर्ने भएकोले एउटा समूह मिल्न थालेपछि अर्को समूह राख्ने गरी व्यवस्थापन गरिएको पशु स्वास्थ्य शाखाका प्रमुख मित्रलाल सापकोटाले बताए । सोमबार नगरप्रमुख श्रेष्ठ, उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा सहितको टोली होस्टेल गएर कुखुरलाई खाना पनि खुवाएका थिए । नगरपालिकाले झण्डै ५ रोपनी जमिन लिएर घेराबार लगाएपछि कुकुर राखिएको छ ।
सडकमा छाडा छाडिएका कुकुरले जोखिम बढेपछि बागलुङ नगरपालिकाले ‘कुकुर होस्टेल’ बनाएको हो । नवप्रवद्र्धन कार्यक्रम अन्र्तगत बागलुङ नगरपालिकाले मुख्यमन्त्री कार्यालयको साझेदारीमा १ करोड लागतमा होस्टेल बनाएको हो । वडा नंं ३ मा नगरको ३५ लाख र मुख्यमन्त्री कार्यालयले ६५ लाख खर्च गरेर होस्टेल बनेको हो ।
भुस्याहा कुकुर भनिने सामुदायिक कुकुरको व्यवस्थापनकालागि नगरपालिकाले यो नीति ल्याएको थियो । नगर प्रमुख बसन्तकुमार श्रेष्ठले नीतितथा कार्यक्रममै यो व्यवस्था गरेका थिए । सडकमा छाडा छाडिने कुकुरबाट हुने जोखिम र रेबिज लगायतका रोग नियन्त्रण गर्न होस्टेल संचालन गर्नु परेको श्रेष्ठको भनाइ छ । ती कुकुरले टोकेर बर्षमा धेरै जना घाइते भएको, कतिपयलाई रेबिज रोग समेत लागेको थियो ।
नगरपालिकाले सामुदायिक र घरघरका कुकुर दर्ता पनि थालेको छ । दर्ता गरेका कुकुरलाई नगरले खोप र औषधि सेवा निशुल्क दिनेछ । मृत्यु भएमा शव व्यवस्थापन पनि नगरपालिकाले गर्नेछ । खोप लगाएका कुकुरलाई घरमा पालेको भए रातो र सामुदायिक भए निलो पेटी समेत लगाएर पहिचान दिने व्यवस्था शुरु भएको छ ।
रेबिज लगायतका संक्रामक रोगबाट कुकुरलाई बचाउने, कुकुरले टोक्दा मानिसमा पनि रोग सर्ने भएकोले आम नागरिकको समेत सुरक्षाकालागि यो अभियान थालिएको हो । नगर प्रहरीको सहयोगमा पशु बिकास शाखाले छाडा कुकुर लाई खोप लगाउने र छोपेर होस्टेल पठाउने काम गरिरहेको हो । कुकुर होस्टेल नमूना कार्यक्रम हो । होस्टेलका राखिएका कुकुरलाई नगरले नै नियमित खाने व्यवस्थापन गर्नेछ । नियमित खोप कार्यक्रम समेत राखेर स्वच्छ बनाएपछि घरमा पाल्न चाहनेले लैजान पनि सक्नेछन् ।




