शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप असार २० मा

राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप असार २० मा


  • ढोरपाटन संवाददाता
  • असार १६ २०८३, मंगलबार

पोखरा/पोखरामा देशभरका कफी उत्पादक किसान, व्यवसायी, कफी पारखी र उपभोक्ताको जमघट हुने भएको छ । आगामी असारको २० गते पोखरामा कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप आयोजना हुने भएको हो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराले नेपाल कफी व्यवसायी महासंघ र केन्द्रीय कफी सहकारी संघसँगको सहकार्यमा सो कार्यक्रमको आयोजना हुन लागेको हो । कार्यक्रम पोखरा–५, डुम्रीबोटस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय परिसर तथा कफी बगैँचामा हुनेछ । प्रदशर्ननी तथा च्याम्पियनसिपमा गण्डकी प्रदेशका जिल्लासहित इलामदेखि गुल्मी, पाल्पा लगायत करिब १५ जिल्लाका कफी उत्पादक, प्रशोधनकर्ता, व्यवसायी तथा प्रतियोगी सहभागी हुनेछन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा कफी खेतीसँगै कफी संस्कृतिप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । उत्पादनदेखि प्रशोधन, गुणस्तर परीक्षण, बजारीकरण र उपभोगसम्मको सम्पूर्ण कफी मूल्य शृङ्खलालाई एकै स्थानबाट चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । कार्यक्रममा कफी किसान, सहकारी संस्था, प्रशोधनकर्ता, क्याफे सञ्चालक, व्यवसायी, उपभोक्ता तथा कफीप्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । पछिल्लो समय पोखरा नेपाली स्पेसियालिटी कफीको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएकाले यस कार्यक्रमले नेपाली कफीको विशिष्ट स्वाद, गुणस्तर र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप हुनेछ। प्रतियोगिताका विजेताले दश हजार रुपैयाँ, उपविजेताले सात हजार पाँच सय रुपैयाँ र तेस्रो हुनेले पाँच हजार रुपैयाँसहित अवार्ड प्राप्त गर्नेछन् ।

नेपालमा कफी खेतीको इतिहास करिब ८८ वर्ष पुरानो मानिन्छ । इतिहासअनुसार सन्त होरा गिरीले बर्मा ९हालको म्यानमार०बाट कफीको बीउ ल्याई गुल्मीको आँपचौरमा रोपेपछि नेपालमा कफी खेतीको सुरुआत भएको थियो । रैथाने बाली नभए पनि आज कफी नेपाली किसानका लागि आशाको खेती बन्दै गएको छ । पहाडी भूगोल, अनुकूल हावापानी र बढ्दो अन्तर्राष्ट्रिय मागका कारण नेपाली कफीले छुट्टै पहिचान बनाइरहेको छ। बाँझो जमिनको उपयोग, वातावरणमैत्री खेती प्रणाली र राम्रो मूल्य पाउने सम्भावनाका कारण कफी खेती धेरै किसानको रोजाइमा पर्दै गएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->