शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘वैदेशिक रोजगार जहाँ मृत्यु भएका समेत ठगिन्छन्’

‘वैदेशिक रोजगार जहाँ मृत्यु भएका समेत ठगिन्छन्’

सुरक्षित आप्रवासन कार्यक्रम (सामी) की व्यवस्थापक उमाकला शर्मा भन्छिन्, ‘कसैलाई ठग्ने हिसाबले कुरा गर्दा जिउँदो मान्छेलाई त ठग्छ, त्यो हामीलाई स्वाभाविक लाग्छ । ठग्ने मान्छे नि जिउँदो छ भनिन्छ । तर, यहाँ वैदेशिक रोजगारीको नाममा लास माथि ठगी चाहिँ भयंकर छ ।’


  • ढोरपाटन संवाददाता
  • असार १७ २०८३, बुधबार

पोखरा/वैदेशिक रोजगारमा जाँदा ठगिनेको संख्या गनेर साध्य हुँदैन । हरेक दिनजसो वैदेशिक रोजगारमा ठगिनेहरु व्यवपक छन् । तर, रोजगारमा जाने मात्रै नभइ रोजगारको क्रममा मृत्यु भएको शवमाथि समेत ठग्ने गरेको देखिएको छ ।

मंगलबार पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाको आयोजनामा भएको स्थानीय तह न्यायक समिति, मेलमिलापकर्ता तथा सञ्चारकर्मीसंग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले लासमाथि समेत ठगि भइरहेको कुरा खुलाएका हुन् । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) की व्यवस्थापक उमाकला शर्माका अनुसार वैेदेशिक रोजगारको नाममा लास माथि हुने ठगि भयंकर छ ।

‘कसैलाई ठग्ने हिसाबले कुरा गर्दा जिउँदो मान्छेलाई त ठग्छ, त्यो हामीलाई स्वाभाविक लाग्छ । ठग्ने मान्छे नि जिउँदो छ भनिन्छ । तर, यहाँ वैदेशिक रोजगारीको नाममा लास माथि ठगी चाहिँ भयंकर छ’ उनले भनिन्, ‘यदि विदेशमा रोजगारका लागि गएको व्यक्तिको मृत्यु भयो भने परिवारले २४ लाख रुपैयाँ पाउँछन् तर त्यो रकम परिवारले नपाइ गिरोहले कुम्ल्याउछन् ।’

वैदेशिक रोजगारमा जाँदा २– ३ लाख ठगिने गरेपनि श्रम स्वीकृति गरेर प्रक्रिया पु¥याएर वैदेशिक रोजगारमा गएको मान्छेको मृत्यु भयो भने उसले २४ लाख रुपैयाँ पाउँदा त्यसमा १५–१८ लाखसम्म ठगि गरेको घटनाहरु समेत रहेका छन् । मानिसको मृत्यु भइसकेपछिको २४ लाख व्यक्तिको मूल्य नभएपनि त्यसले परिवारमा राहत मिल्ने उनको भनाइ थियो ।

अन्तरक्रिया कार्यक्रमाम प्रस्तुत गरिएको प्रतिवेदन अनुसार गण्डकी प्रदेशबाट चालु आर्थिक वर्ष २०८१÷८२ मा एक लाख १३ हजार ६८२ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषणले राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याए पनि श्रमिक ठगी, पारिवारिक विखण्डन, मानसिक तनाव, कानुनी जटिलता तथा असुरक्षित आप्रवासनका चुनौती अझै कायम रहेको सरोकारवालाले बताएका छन् ।

न्यायिक समितिमा आउने धेरै विवाद प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वैदेशिक रोजगारीसँग सम्बन्धित हुने गरेको पोखरा महानगरपालिका न्यायिक समिति सदस्य रजनी परियारले बताइन् ।

कार्यक्रम सहयोग इकाइकी अधिकृत रोजलिन कुमारी सिंहले प्रस्तुत गरेको कार्यपत्रमा वैदेशिक रोजगारीका सकारात्मक तथा नकारात्मक पक्ष, कानुनी व्यवस्था, सामी कार्यक्रमका सेवा तथा वैदेशिक रोजगार बोर्डबाट उपलब्ध हुने कल्याणकारी सेवाबारे जानकारी दिइन् ।

कार्यपत्रअनुसार वैदेशिक रोजगारी अझै पनि धेरै नेपाली युवाका लागि रोजगारीको प्रमुख विकल्प बनेको छ। नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार विप्रेषणले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा करिब २८ प्रतिशत योगदान पु¥याएको छ । यसले गरिबी न्यूनीकरण, शिक्षा तथा स्वास्थ्यमा पहुँच विस्तार, परिवारको आयस्तर वृद्धि तथा महिलाको नेतृत्व विकासमा सकारात्मक योगदान पु¥याएको उल्लेख गरिएको छ ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१÷८२ मा गण्डकी प्रदेशबाट १२ हजार २२८ महिला र एक लाख एक हजार ४५४ पुरुष गरी कुल एक लाख १३ हजार ६८२ जनाले श्रम स्वीकृति लिएका छन्। कास्की जिल्लाबाट मात्रै २१ हजारभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।

कास्कीस्थित आप्रवासी स्रोत केन्द्रमार्फत हालसम्म १० हजार ९०६ जनाले सूचना तथा परामर्श सेवा प्राप्त गरेका छन्। विभिन्न स्थानीय तहबाट प्राप्त ९० वटा समस्यामध्ये ४१ वटा समाधान भइसकेका, ४१ वटा प्रक्रियामा रहेका तथा आठ वटा बन्द गरिएका छन्। वैदेशिक रोजगार बोर्डमार्फत दुई करोड १५ लाख ६१ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरियो ।

त्यस्तै मनोसामाजिक परामर्श कार्यक्रमअन्तर्गत ६८ जनाले व्यक्तिगत तथा १८२ जनाले सामूहिक परामर्श सेवा लिएका छन् भने वित्तीय साक्षरता कार्यक्रममा एक हजार ५१४ जना सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->