बागलुङ/बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब १४ करोड ९४ लाख ८३ हजार रुपैयाँको अनुमानित आयव्यय सार्वजनिक गरेको छ ।
नगरसभाको १९ औँ अधिवेशनमा नगर उप–प्रमुख राजु खड्काले प्रस्तुत गरेको बजेटमा संघ सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदानततर्फ १५ करोड ६५ लाख, सशर्त अनुदानतर्पm ५९ करोड १६ लाख, समपुरक अनुदानतर्फ १ करोड ६१ लाख, विशेष अनुदानतर्फ १ करोड ८० लाख बजेट प्राप्त हुने अनुमान गरिएको हो ।
प्रदेश सरकारबाट समानीकरण अनुदानतर्फ २ करोड १७ लाख ४२ हजार, समपुरक अनुदानतर्फ ६० लाख र विशेष अनुदानतर्फ ३९ लाख ९५ हजार, संघ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँडतर्फ १५ करोड ५५ लाख ४६ हजार, आन्तरिक राजस्व र अनुमानित बैंक मौजदातसहित १८ करोड प्राप्त हुने नगरपालिकाको अनुमान छ ।
आर्थिक विकास समितितर्फ नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम, कृषि तथा पशुपंक्षीमा आत्मनिर्भर बनाउन पकेट कार्यक्रम, पाडा–पाडी संरक्षण, स्थानीय मदिरा उत्पादन तथा ब्राण्डिङ, कृषि बजार व्यवस्थापन, सहकारी, जलस्रोत, सिंचाई, लघुउद्यम तथा रोजगारी सिजना लगायतका कार्यक्रममा बजेट विनियोजन गरिएको छ ।
पूर्वाधार विकास समितितर्फ वडा तथा नगरस्तरीय योजना, चालु आ.व.का क्रमागत योजनाहरु, समपुरक आयोजनामा लागत साझेदारी, कार्यालय भवन व्यवस्थापन, आकस्मिक सडक सञ्चालन, नगरस्तरका निर्माणाधिन आयोजना, आकस्मिक योजनाका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको उप–प्रमुख खड्काले जानकारी दिए ।
आर्थिक अभावको कारण स्वास्थ्य सेवाबाट बन्चित नागरिकका लागि अािर्थक सहायता, थप आवासीय विद्यालय सञ्चालन, नगरस्तरीय खेलकुद कार्यक्रम, विद्यालय शिक्षा अनुदान तथा कार्यक्रम, नगरकी छोरी, कुकुर सेल्टर हाउस, होमस्टे सञ्चालन, नगर अस्पताल सञ्चालन, दिवा खाजा, आधारभुत स्वास्थ्य सेवा पनि बजेटको प्राथमिकतामा परेका छन् ।
उपप्रमुख खड्काले सीमित स्रोत साधनका बाबजुद उत्पादनमुखी अर्थतन्त्र, गुणस्तरीय सेवा, दिगो पूर्वाधार, सामाजिक सुरक्षा तथा स्थानीय रोजगारी विस्तारमा केन्द्रित बजेट आएको बताए । खड्काले आन्तरिक स्रोत परिचालन, उत्पादन वृद्धि र प्रभावकारी खर्च व्यवस्थापनमार्फत नगरको समग्र विकासलाई गति दिने विश्वास व्यक्त गरे ।




