बागलुङ/बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य र पुर्व अध्यक्ष युवराज राजभण्डारी लगायतका पदाधिकारीमाथी भएको कुटपिटको विषयमा सामाजिक सञ्जालमा फैलाइएको भ्रामक सन्देश हटाउन संघले प्रशासनसमक्ष माग गरेको छ ।
शनिबार ६२ औं साधारणसभा सकेर पाहुनासहित घुम्न निस्केको टोलीलाई हालै संचालनमा आएको दोहोरी साँझको हाताभित्र कुटपिट भएको थियो । कुटाइबाट राजभण्डारीको आँखामा गम्भिर चोट लागेको छ । चोटकै कारण पोखरा लगेर उनको अपरेसन पनि भएको छ ।
अपरेशनपछि आराम गरिरहेका राजभण्डारीको पट्टी नखोलुन्जेल आँखाको ज्योती आउने नआउने समेत शंका रहेको परिवारका सदस्यले बताएका छन् । यो घटनामा संलग्न रहेको आरोपमा बागलुङ नगरपालिका–३ का मनोज खड्का र सचिन खड्काविरुद्व प्रहरीमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरीका सूचना अधिकारी रामेश्वर त्वातीलाई सम्पर्क गर्दा कुटपिटको जाहेरी आएको बताएका छन् ।
जाहेरी दर्तापछि पनि प्रहरीले खड्कालाई पक्राउ भने गरेको छैन । घटनामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न प्रहरीमाथी दबाव बढेको छ । यद्यपी प्रहरी भने बागलुङको शक्ति सन्तुलनको मारमा परेको अनुमान गरिएको छ ।
यो घटनापछि जाहेरी दर्ता गरेको विषयलाई लिएर घटनाको प्रतिवाद गर्दै संघका पदाधिकारीले नै मनोज खड्का र सचिन खड्कालाई कुटपिट गरेको भन्दै त्यसको प्रतिवाद गर्न खड्का समाज बागलुङको बैठक बोलाइएको सन्देश सामाजिक संजालमा आएपछि उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले विज्ञप्ती प्रकाशित गरी भ्रामक सन्देश हटाउन प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
उनले उक्त दिनको घटना संस्थागत नभएको, कार्यक्रम सकेर खाजा खान गएको बेला एउटा समूहको छलफलमा अर्को समूह आएर आक्रमण गरेको र पीडितलाई नै दोष देखाउने गरी सामाजिक संजालमा अफवाह फैलाइएको भन्दै विरोध गरेका हुन् । साथै प्रशासनले त्यो विषय छानविन गरी दोषीलाई कारवाही गर्न पनि माग गरिएको छ ।

यता, पुवार खड्का समाज बागलुङले भने मदिराले मातेका संघका पुर्व तथा वर्तमान समितीका पदाधिकारी अश्लिल शब्द बोल्ने, टेबुल र माइक फुटाउन खोज्दा समाजका सदस्य सचिन र मनोजले छुट्टाउन खोज्दा उल्टै कुटपिट र अपमान गरेको बताएको छ ।
संघका पदाधिकारीलाई घर छाड्न ट्याक्सीमा छाडीदिंदा समेत फर्केर आ–आफै लड्ने र दोहरी घर फोड्ने कार्य गर्दा सरोकारवाला निकाय मौन बस्दा घटना रहस्यमयी भएको समाजका अध्यक्ष अमर खड्काले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
आफ्ना सदस्यलाई लक्षित गरी अरुलाई उम्काइ ज्यान मार्ने उद्योगको मुद्दा भन्दै अभद्र व्यवहार मुद्दा दिएको विषयले अचम्मित भएको समाजले बताएको छ । समाजले अन्यायका विरुद्व मुद्वा दर्ता गर्ने विषयमा छलफल चलाईरहेको जनाएको छ ।




