शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अग्रज पत्रकार ‘केशव गुरु’ को महाप्रस्थान

अग्रज पत्रकार ‘केशव गुरु’ को महाप्रस्थान

अंग्रेजी र संस्कृत बाङ्मयको अध्ययन गरेका पराजुली निबन्धात्मक शैलीमा ओजिलो सम्पादकीय लेख्ने सम्पादकको रुपमा चिनिन्छन् । मार्टिन चौतारीले उनको सम्पादकीयको संग्रह प्रकाशन पनि गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • असार १८ २०८३, बिहिबार

पोखरा/अग्रज पत्रकार तथा स्वतन्त्रता सेनानी केशवप्रसाद पराजुलीको निधन भएको छ । १९९२ साल मंसिर १६ गते नदीपुरमा जन्मेका पराजुलीको मंगलबार राति निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । हिमदूत साप्ताहिकबा पत्रकारिता सुरु गरेका पराजुली तत्कालीन अवस्थाको सगरमाथा संवाद समितिमा पनि आवद्ध भएका थिए । नेपाल प्रेस काउन्सिलको सदस्यसमेत बनेका उनलाई २०५५ सालमा पोखरा महानगरले पोखरेली नवरत्नको सम्मान प्रदान गरेको थियो । पोखरेली पत्रकारितामा उनलाई श्रद्धापूर्वक ‘केशव गुरु’ नामले पुकारिन्थ्यो ।

पराजुलीले पत्रकारितामात्र नभएर शिक्षण, उद्योग, व्यापार, र राजनीतिमा पनि हात हालेका थिए । पोखरामा पहिलो पुस्तक पसल संचालन गर्ने श्रेय पनि उनलाई नै जान्छ । उनले आफ्नो जीवनयात्राबारे एकपटक भनेका थिए,‘ शिक्षक हुँदा मैले कहिल्यै नपढेको सेक्रेटरियल कोर्स मैले पढाउनुपथ्र्यो । सोध्ने ठाउँ थिएन । अहिले जस्तो इन्टरनेट थिएन । केही किताब पढ्दै पढाउँदै गर्थें ।’

उनी आर्वामा रहेको रतन पाण्डे माविको पहिलो शिक्षक हुन् भने लामो समयसम्म उनले राष्ट्रिय बहुद्देश्यीय उच्च विद्यालयमा अध्यापन गरे । दयाशंकर पालिखे पत्रकारिता पुरस्कार २०५४ बाट विभूषित पराजुलीले २०१७ सालमा बिपी, गणेशमान पोखरा आउँदा काठमाडौंमा सगरमाथा संवाद समिति गठन भएको भनी त्यसमा पोखराको संवाददाता भई काम गर्न आग्रह भएबमोजिम आफू पत्रकारितामा आएको बताएका थिए । युवाकालमै नेपाली कांग्रसको राजनीतिमा होमिएका उनी २०३७ सालमा करुणानिधि कोइरालाको अध्यक्षतामा गठित कार्यसमितिमा सचिव थिए ।

२०४३ सालमा उनी कांग्रेसको तर्फबाट तत्कालीन पोखरा नगर पञ्चायतको प्रधानपञ्चको उम्मेदवार पनि बनेका थिए ।

२०४२ साल जेठ १० गतेबाट सुरु भएको देशव्यापि सत्याग्रहमा उनी जेल परेका थिए भने २०४६ सालको जनआन्दोलन परिचालनका निम्ति नेपाली कांग्रेसले गठन गरेको समितिको संयोजक पनि उनी नै थिए । त्यो बेला पनि उनी पक्राउ परेका थिए ।

आफ्नो सक्रिय जीवनमा उनी कांग्रेस निकट किसान संघ र प्रजातन्त्र सेनानी संघको नेतृत्वमा पनि पुगे । तर, ती सवै पद लाभ लिनका निम्ति नभएर कांग्रेसप्रतिको आस्थाकै कारण भएको उनका निकटहरु बताउँछन् ।

पत्रकारिता उनको शोख थिए । २०३९ सालदेखि उनले आफै प्रकाशक सम्पादक भइ जनमत दैनिकको सुरुवात गरेका थिए । पत्रिका प्रकाशनको क्रममा जायजेथा नै सके पनि उनी रोकिएनन् । पत्रिकालाई उनले प्रजातन्त्र प्राप्तिको साधन बनाएका थिए ।

अंग्रेजी र संस्कृत बाङ्मयको अध्ययन गरेका पराजुली निबन्धात्मक शैलीमा ओजिलो सम्पादकीय लेख्ने सम्पादकको रुपमा चिनिन्छन् । मार्टिन चौतारीले उनको सम्पादकीयको संग्रह प्रकाशन पनि गरेको छ ।

वरिष्ठ कलाकार तथा पराजुलीका नातेदार वात्सायनका अनुसार केशव गुरु अंग्रेजीमा पनि उत्तिकै पोख्त थिए ।‘मैले दाइसँग नै हो अंग्रेजी पढेको,’उनले यो पंक्तिकारसँग भनेका छन् ,‘पत्रकारिताको गुणवत्ता र उन्नति सम्पादन र व्यवस्थापनमा निर्भर गर्दछ । दुवै सँगसँगै जानु पर्दछ । गुणवत्ताका लागि पत्रिकामा दिइने सामग्री कति तथ्यपरक छन्,कति बस्तुनिष्ठ छन्,कति विश्वसनीय छन्,तिनको प्रस्तुति कसरी गरिएको छ,भाषा सरल र शुद्ध छ छैन,पत्रिकामा सामग्रीको स्पेसिङ,कुन कुरालाई कुन ठाउँ दिने–कसरी राख्ने जस्ता कुराले महत्व राख्दछन् । यो पत्रिकाको श्रृंगार हो । श्रृंगारले सौन्दर्य सिर्जन्छ । सौन्दर्यले आकर्षण पैदा गर्छ ।’ उनका श्रीमती, ४ छोरी र १ छोरा रहेका छन् । उनको पार्थिक शरीरको बुधबार अन्त्येष्टि गरिएको छ ।

उनको निधनमा नेपाल पत्रकार महासंघ कास्की, नेपाल प्रेस युनियन कास्कीसहित विभिन्न पत्रकारसम्बद्ध संघ÷संगठनले शोक व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ कास्कीका सचिव भूपाल गुरुङबाट जारी शोक वक्तव्यमा पोखराको पत्रकारिता र लोकतान्त्रिक आन्दोलनमा उनको योगदान अतुलनीय भएको बताएको छ भने नेपाल प्रेस युनियक कास्कीका सचिव धनबहादुर गुरुङबाट जारी शोक विज्ञप्तिमा स्वतन्त्रता सेनानी पराजुलीले पत्रकारिताकै माध्यमबाट लोकतान्त्रिक आन्दोलनलाई ठूलो योगदान दिएका उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->