बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ब्राउन सुगरसहित छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ

ब्राउन सुगरसहित छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ


  • ढाेरपाटन संवाददाता
  • असार १९ २०८३, शुक्रबार

पोखरा / कास्की प्रहरीले छुट्टाछुट्टै चार स्थानमा सञ्चालन गरेको कारबाहीमा ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिका–१० उत्तमचोक, वडा नं. १५ पेन्सन क्याम्प तथा पोखरा–३२ मजुवास्थित पृथ्वी राजमार्गमा कारबाही गरेको हो।

प्रहरीले पोखरा–१० मा स्नुकर हाउस सञ्चालन गर्दै आएका ३७ वर्षीय गोविन्द थापा र उनका दाइ ३८ वर्षीय रुमबहादुर थापाको घरमा खानतलासी गर्दा १३ ग्राम ब्राउन सुगरजस्तो पदार्थ र स्रोत नखुलेको ६ लाख ७ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ।

यस्तै, पोखरा–१५ पेन्सन क्याम्पबाट २९ वर्षीय सुमन गुरुङलाई ०.३७ मिलिग्राम ब्राउन सुगरजस्तो पदार्थ, दुई थान डिजिटल तराजु र एक थान मोबाइलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२ मजुवामा वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको सार्वजनिक बसमा जाँच गर्ने क्रममा स्याङ्जाका ३२ वर्षीय बिनोद क्षेत्री र २६ वर्षीय रेशम क्षेत्रीको साथबाट ३४ ग्राम (प्लास्टिकबाहेक ३१.०७ ग्राम) ब्राउन सुगरजस्तो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

सोही स्थानमा गरिएको अर्को कारबाहीमा काकडभिट्टाबाट पोखरातर्फ आउँदै गरेको अर्को सार्वजनिक बसमा सवार बाँकेको कोहलपुर नगरपालिका–१४ का ३१ वर्षीय सुरज सुनारको साथबाट प्लास्टिकसहित १०५ ग्राम ब्राउन सुगरजस्तो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी बीरेन्द्रकुमार पासवानले जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->