पोखरा / नेपाली कफीको बजार प्रवद्र्धन गर्ने र यसको गुणस्तरबारे जानकारी दिने उद्देश्यले पोखरामा असार २० गते शनिवार ‘राष्ट्रिय कफी प्रदर्शनी एवम् राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप’ आयोजना हुने भएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजनामा हुन लागेको यस कार्यक्रममा नेपाल कफी व्यवसायी महासंघ, केन्द्रीय कफी सहकारी संघ, पोखरा महानगरपालिका र गण्डकी प्रदेशको कृषि मन्त्रालयले प्राविधिक तथा व्यवस्थापकीय सहयोग गरेका छन् ।
‘चिनौं, चाखौं, अपनाऔं र प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ आयोजना हुने यस मेलाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराको डुम्रीबोटस्थित बोर्डको कार्यालय प्राङ्गणमा गर्नेछन् । कार्यक्रममा कफीको उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण प्रक्रिया (भ्यालु चेन) बारे प्रदर्शनी गरिनेछ । कार्यक्रममा सहभागीहरूले कफी नर्सरीको अवलोकन गर्न पाउनेछन् भने विभिन्न स्थानका उत्कृष्ट कफीको निःशुल्क स्वाद समेत लिन सक्नेछन् ।
यसपटकको राष्ट्रिय कफी कपिङ च्याम्पियनसिपको नतिजा अनुसार उत्कृष्ट ठहरिएका उत्पादकहरुलाई सोही दिन विशेष समारोहका बीच पुरस्कृत गरिनेछ । प्रतियोगितामा ८६.२५ अंक प्राप्त गरी ललितपुरको कफी सहकारी संघ लिमिटेड प्रथम भएको छ । त्यसैगरी, ८६ अंकका साथ काभ्रेको महाभारत साना किसान कृषि सहकारी संस्था दोस्रो भएको छ । प्रतियोगितामा गोर्खाको कोट थोक कफी उत्पादक कृषक समूह, काभ्रेको महादेबटार धोग कृषि फर्म र गुल्मी कफी स्टेट प्रा।लि।ले समान ८४.७५ अंक प्राप्त गर्दै तेस्रो भएका छन् ।
प्रथमलाई १० हजार, दोस्रोलाई ८ हजार र तेस्रो हुने ३ वटै समूहलाई ६र६ हजार रुपैयाँसहित पुरस्कृत गरिने बोर्डका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीले जानकारी दिए ।
पोखरालाई नेपाली ’स्पेसियालिटी कफी’को हबका रूपमा विकास गर्न यो कार्यक्रमले कोशेढुंगाको काम गर्ने उनले बताए । उनले युवा पुस्तालाई कफी खेतीमा आकर्षित गर्न र नेपाली कफीको विशिष्ट स्वादलाई विश्वबजारमा चिनाउन यस्ता कार्यक्रम फलदायी हुने उल्लेख गरे । प्रदर्शनीमा कफी प्रशोधन गर्ने उपकरणहरूको प्रदर्शन, कफीको गुणस्तर सुधार सम्बन्धी विज्ञहरूसँगको अन्तक्र्रिया र विभिन्न मनोरञ्जनात्मक खेलहरू समेत समावेश गरिएको आयोजकले जनाएको छ ।





