शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बानपा-६ लहरेपिपलमा स्वास्थ्य चौकी भवन संचालनमा

बानपा-६ लहरेपिपलमा स्वास्थ्य चौकी भवन संचालनमा

स्थानीयले २ रोपनीभन्दा बढी जमिन दान गरेपछि संघिय सरकारको ७४ लाख रुपैयाँको लागतमा यो भवन बनेको हो ।


  • ढोरपाटन संवाददाता
  • असार २० २०८३, शनिबार

बागलुङ/स्थानीय तह गठन भएको ९ वर्षपछि बानपा ६ मा आधुनिक स्वास्थ्य चौकी भवन बनेर संचालनमा आएको छ । नवनिर्मित भवन बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गरे ।

स्थानीयले २ रोपनीभन्दा धेरै जमिन दान गरेपछि संघिय सरकारको ७४ लाख रुपैयाँको बजेटमा यो भवन बनेको हो । स्थानीयले यो रकममा श्रमदान गरेर सहयोग गरेका थिए ।

भवन उद्घाटन गर्दै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले हरेक वडाबासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने अधिकारको सुरक्षा गर्दै वडामा स्वास्थ्य चौकी बनाउन सकिएको बताए ।

काम थालेको तीन महिनाभित्रै स्थानीय निर्माण समितिले भवन बनाएको हो । पुरानो र जीर्ण भवनमा रहेको स्वास्थ्य चौकीले सेवा दिन कठिन भएपछि संघिय सरकारबाट आएको ७४ लाखमा भवन बनाइएको हो । यो भवन ठेक्कामा नदिई निर्माण समितिले बनाएको हो । यो भवनमा तत्कालका लागि ओपिडी, इमरजेन्सी उपचार कक्ष, परिवार नियोजन तथा मातृशिशु सेवा कक्ष, स्वास्थ्यकर्मी कक्ष र भान्सा समेत बनाइएको छ ।

सदरमुकामदेखि ८ किमी दुरीमा रहेको यो वडाबासीले सामान्य समस्याका लागि पनि बजार झर्नुपर्ने बाध्यता थियो । समयमा गाडी नपाउने, महंगो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन संघिय सरकारको बजेटमार्फत योजना सम्झौता गरेर रातदिन नभनी काम गरिएको निर्माण समितिका अध्यक्ष दुर्गाबहादुर कार्कीले बताए । यो भवनमा संघिय सरकारको ७४ लाख बाहेक स्थानीयले झण्डै ५ लाख बराबरको श्रमदान पनि गरेका छन् ।

नियमित रुपमा आउने बिरामीको उपचारका साथै दक्ष प्रसुतीकर्मी भएकोले सुत्केरी सेवा पनि दिन सकिने स्वास्थ्य चौकीका प्रमुख विष्णुनाथ शर्माले जानकारी दिए । वडा कार्यालयले पनि समयमा काम सक्ने उपभोक्ता समिति, जग्गादाता र सहयोगीलाई सम्मान गरेको वडा अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए । अब मुल सडकदेखि १ सय मीटर पक्की सडक बनाएर स्वास्थ्य चौकीसम्म एम्बुलेन्स र ट्याक्सी जाने बनाउने लक्ष्य केसीले सुनाए ।

स्वर्गिय नरबहादुर कार्कीको स्मृतिमा पत्नि हिमा कार्की, छोराबुहारी नन्दबहादुर र पवित्रा कार्की, अर्का नरबहादुर कार्कीको स्मृतिमा पत्नि कुमारी कार्की र छोराबुहारी रमेश र देवी तथा छोरी सरस्वती कार्कीले जग्गा दान गरेका थिए ।

त्यस्तै स्वर्गिय पहलमान कार्कीको स्मृतिमा पत्नि लिलामती कार्की, छोरी कोपिला कार्की, स्वर्गिय गोबिन्द कार्कीको स्मृतिमा आमा बिष्णु कार्की, भाइहरु ठगबहादुर र प्रताप कार्कीले जग्गादान गरेका थिए । उक्त अवसरमा जग्गादातालाई सम्मान समेत गरियो ।

गत वर्ष बागलुङ नगरपालिका वडा नं. २ र ६ का लागि स्वास्थ्य संस्था व्यवस्थापन शिर्षकमा ३७÷३७ लाख रुपैयाँ आएको थियो । बानपा २ मा धौलागिरि अस्पताल समेत रहेकोले वडाको सहमतिमा दुवै बजेट राखेर वडा नं. ६ को स्वास्थ्य चौकीलाई नै सहयोग गरेको वडा नं. २ का अध्यक्ष सुरज बोसेलले बताए ।

यो भवनमा अपांगमैत्री शौचालय, सुरक्षित खानेपानीको व्यवस्थापन, ब्हिलचियरमा पनि बिरामी आउन सक्ने गरी ¥याम्पको व्यवस्था छ । उद्घाटन कार्यक्रममा उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, वडा नं. २ का अध्यक्ष सुरज बोसेल, पुर्व वडा अध्यक्ष खिमराज सापकोटा, स्थानीय जितबहादुर कार्की, लगायतले मन्तव्य राखेका थिए । वडा अध्यक्ष रुद्रबहादुर केसीको अध्यक्षता, स्वास्थ्य चौकी इन्चार्ज विष्णुनाथ शर्माको संचालन र वडा सदस्य शान्ता नेपालीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

भवन उद्घाटनको अवसरमा पञ्जेबाजा, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, लहरेपिपल माविका विद्यार्थीले गीत संगीत र नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->