पोखरा/ लेखनाथ आर्थिक पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको ३० औं स्थापना दिवसका अवसरमा शनिवार कोइरालालाई पुरस्कार प्रदान गरिएको हो ।
समाधान दैनिकका प्रधान सम्पादक कोइरालालाई १५ हजार ८८ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको हो । गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमाल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीलगायतले कोइरालालाई सम्मान गरेका थिए ।
पुरस्कार संघका पूर्व कार्यसमिति सदस्य तथा नमस्ते पार्टी प्यालेसका सञ्चालक सूर्यमणि लामिछानेले स्थापना गरेका थिए । पुरस्कारबाट यसअघि आदर्श समाजका प्रधान सम्पादक कृष्ण वास्तोला तथा आर्थिक आवाजका प्रधान सम्पादक सुरेन्द्र पौडेल सम्मानित भइसकेका छन् ।
यसैगरी संघका पूर्व कार्यसमिति सदस्य कृष्णप्रसाद ढुंगानाद्वारा स्थापित वातावरण संरक्षण पुरस्कार–२०८३ यस वर्ष पोखरा–२७ शिवटोल विकास संस्थालाई प्रदान गरिएको छ । ११ हजार १ सय ११ नगद राशिको उक्त पुरस्कार उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमालले हस्तान्तरण गरेकी थिइन् ।
सोही अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्मचार्यको संरक्षकत्वमा स्थापना गरिएको ‘चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक पुरस्कार–२०८३’ एपी टेलिभिजनका प्रधान सम्पादक टिकाराम यात्रीलाई प्रदान गरिने घोषणा गरिएको छ । पुरस्कार छनोट समितिका संयोजक छत्रधर आत्रेयका अनुसार पुरस्कारको राशी रु. १ लाख १ हजार रहेको छ ।





