शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मिडियामाथि प्रहार हुँदा समेत मिडिया बोल्न सकेनन् : मुख्यमन्त्री पाण्डे

मिडियामाथि प्रहार हुँदा समेत मिडिया बोल्न सकेनन् : मुख्यमन्त्री पाण्डे

रास्वपाले चितवनमा आयोजना गरेको महाधिवेशनमा संघीयताबारेमा अर्थमन्त्री स्वर्णिम वाग्लेले पेश गरेको र पार्टी सभापतिले पेश गरेको दस्तावेज नै फरक आएको र कुन सत्य भन्ने यकिन नभएका कारण सत्य तथ्य बाहिर ल्याउने काम सञ्चार जगतको रहेको औल्याउनुभयो ।


  • ढोरपाटन संवाददाता
  • असार २१ २०८३, आइतबार

पोखरा/गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान केन्द्रिय सरकारले मिडियामाथि प्रहार गरिरहँदा समेत बोल्न नसकेको बताउनुभएको छ ।

मुख्यमन्त्री पाण्डेले सरकारले जस्तै हिजोका सरकारले सरकारी मिडियामा मात्रै विज्ञापन प्रकाशन गर्ने नीति अवलम्बन गरेको भए मिडियाले ठूलो आन्दोलन गर्ने अवस्था आउने भएपनि अहिलेको सरकारविरुद्ध त्यस्तो नदेखिएको सुनाउनुभयो । प्रेस रजिस्ट्रारको कार्यालय गण्डकीले आयोजना गरेको गण्डकी मिडिया समिट २०८३ को सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो ।

यस्तै अहिलेको सरकार बदलाको भावनामा अघि बढिरहेकोले यसले मुलुकलाई फेरी द्धन्द्धमा जानसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीको संघीयताप्रतिको धारणा स्पष्ट नभएको र अर्थमन्त्री स्वर्णिम वाग्ले र पार्टी सभापति रवि लामिछाने बीच मतभेद हुँदा अन्योलमा परेको सुनाउनुभयो ।

रास्वपाले चितवनमा आयोजना गरेको महाधिवेशनमा संघीयताबारेमा अर्थमन्त्री स्वर्णिम वाग्लेले पेश गरेको र पार्टी सभापतिले पेश गरेको दस्तावेज नै फरक आएको र कुन सत्य भन्ने यकिन नभएका कारण सत्य तथ्य छानविन गरि बाहिर ल्याउने काम सञ्चार जगतको रहेको औल्याउनुभयो ।

मुख्यमन्त्री पाण्डेले देशमा ३५ वर्षमा केही पनि भएन भन्ने गलत भाष्यको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । हिजो क्यासेट काठमाडौं पु¥याएर दुई तिन दिन लगाएर बल्लतल्ल समाचार प्रकासन गर्नुपर्ने र आज क्षणभरमै समाचार प्रकाशन गर्न सक्ने अवस्था आउनु पनि ३५ वर्षकै काम भएको उहाँको भनाइ छ ।

यस्तै प्रविधिमा आमसञ्चारले ठूलो फड्को मारिरहँदा त्यत्तिकै चुनौति समेत थपिएको छ । गण्डकी प्रदेशमा अहिले कांग्रेस–एमालेको सरकार हुँदा प्रतिपक्षि कम्जोर भएको अवस्थामा आवाजहरु कम उठिरहेको अवस्थामा सञ्चार माध्यमले नै प्रतिपक्षिको भूमिका निर्वाह गरेर कलम चलाउनुपर्ने देखिएको छ । मुख्यमन्त्री पाण्डेले त्यसमा सद्यैँ प्रश्न गर्ने, लेख्ने र बोल्ने काम गर्नुका साथै सत्य र तथ्यमा आधारित भएर प्रकाशन गरिदिन समेत आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीले मिडिया समिट औपचारिक कार्यक्रम मात्रै नभइ गण्डकी प्रदेशको समग्र पत्रकारिताको वर्तमान अवस्था, भविष्यको दिशा निर्देश, प्रविधिको प्रभाव र मिडियाको आर्थिक अवस्थाको सामुहिक चिन्तन रहेको सुनाउनुभयो ।

समिटमा पत्रकारितामा ए आई र मिडियाको अर्थतन्त्रबारेमा चर्चा गरिएको थियो । यस्तै समिटमा पत्रकारिता र लोकतन्त्रको पक्षमा कलम चलाउने अग्रज पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो । आफ्नो जिवनकाल नै पत्रकारितामा समर्पित गर्ने स्वर्गीय केशवराज पराजुली, तिलकमान गुभाजु, प्रेमचन्द्र रौनियार, सरस्वती शर्मा र विश्वबन्धु भण्डारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->