पोखरा/ रोटरी क्लब अफ पोखरा मिडटाउनले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती तथा २५औँ पदस्थापन समारोह सम्पन्न भएको छ । समारोहमा रोटरियन सङ्गीता तिमिल्सिनाले रोटरी वर्ष २०२६–२७ का लागि क्लबको अध्यक्षको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण लिइन् । निवर्तमान अध्यक्ष रोटरियन उपेन्द्र प्रसाद पौडेलले गाभेल, चार्टर प्रमाणपत्र तथा अध्यक्षीय कलर हस्तान्तरण गरी नेतृत्व औपचारिक रूपमा हस्तान्तरण गरे्का थिए ।
समारोहको उद्घाटन प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर इलेक्ट रोटरियन डा. आई.पी. ढकालले गरेका थिए । विशेष अतिथिका रूपमा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. जगन्नाथ रेग्मीको उपस्थिति रहेको थियो । साथै सहायक गभर्नरहरू, जिल्ला पदाधिकारीहरू, पोखरास्थित विभिन्न रोटरी क्लबका अध्यक्षहरू, चार्टर सदस्यहरू, इनर ह्विल, रोट्र्याक्ट, इन्टर्याक्टका प्रतिनिधिहरू तथा विशिष्ट अतिथिहरूको पनि सहभागिता थियो ।
अध्यक्ष–निर्वाचित रोटरियन नवराज तिवारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । समारोहको सञ्चालन रोटरियन समीर बरालले गरेका थिए भने प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर इलेक्ट रोटरियन डा. आई.पी. ढकालको परिचय रोटरी क्लब अफ पोखरा मिडटाउनका पूर्व अध्यक्ष रोटरियन सन्तोष पोखरेलले गराएका थिए । पूर्व अध्यक्ष रोटरियन कृष्ण घिमिरेले नवनिर्वाचित अध्यक्षको परिचय गराए भने डिस्ट्रिक्ट गभर्नर इलेक्ट डा. ढकालले अध्यक्षको पद तथा गोपनीयताको शपथ गराएका थिए ।
कार्यक्रममा क्लबका सचिव रोटरियन शिवहरि आचार्यले रोटरी वर्ष २०२५–२६ मा सम्पन्न भएका गतिविधि तथा उपलब्धिहरू समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । निवर्तमान अध्यक्ष रोटरियन उपेन्द्र प्रसाद पौडेलले आफ्नो कार्यकालको समीक्षा गर्दै बोर्ड सदस्यहरू तथा सम्पूर्ण रोटरियनहरूको योगदानको प्रशंसा गरे ।
नवनिर्वाचित अध्यक्ष रोटरियन सङ्गीता तिमिल्सिनाले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै आगामी वर्ष समुदायमुखी सेवा, युवा सशक्तीकरण, व्यावसायिक उत्कृष्टता, वातावरणीय संरक्षण तथा दिगो विकासका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । साथै उनले आफ्नो कार्यसमिति परिचय गराउँदै नवगठित बोर्ड सदस्यहरूको शपथ ग्रहणसमेत सम्पन्न गराइन् ।
यस अवसरमा रोटरी क्लब अफ पोखरा मिडटाउन डायरी २०२६–२७ को समेत औपचारिक विमोचन गरिएको थियो, जसले आगामी वर्षको सेवा, प्रतिबद्धता र संस्थागत यात्राको प्रतीकका रूपमा स्थान पाएको छ । समारोहमा समाज तथा पेशागत क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको कदरस्वरूप इन्जिनियर बिमल बास्तोलालाई भोकेशनल अवार्ड प्रदान गरिएको थियो । साथै ज्येष्ठ नागरिक सम्मान तथा शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरी उनीहरूको योगदानको उच्च मूल्याङ्कन गरिएको थियो ।
पुरस्कार ग्रहणपछि बोल्दै इन्जिनियर बिमल बास्तोलाले दिगो विकास, सामुदायिक सहभागिता तथा जिम्मेवार नेतृत्वको आवश्यकतामाथि प्रकाश पारेका थिए । विशेष अतिथि प्रा. डा. जगन्नाथ रेग्मी, सहायक गभर्नर रोटरियन टुबराज बास्तोला तथा प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर इलेक्ट डा. आई.पी. ढकालले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै रोटरीको मूल मन्त्र ‘सेवा नै सर्वोपरि’ लाई व्यवहारमा उतार्दै समाज रूपान्तरणका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन शुभकामना व्यक्त गरे ।
कार्यक्रम संयोजक पूर्व अध्यक्ष रोटरियन पुरन कुँवरले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा पूर्व अध्यक्ष रोटरियन महेन्द्र गोदारले परम्परागत रोटरी टोस्ट प्रस्तुत गरेका थिए । रोटरी क्लब अफ पोखरा मिडटाउनको रजत जयन्ती तथा २५औँ पदस्थापन समारोहले संस्थाको २५ वर्षे गौरवपूर्ण यात्राको स्मरण गर्दै आगामी दिनमा नैतिक नेतृत्व, मित्रता, मानवीय सेवा तथा दिगो सामुदायिक विकासप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ । समारोहमा रोटरीका उच्च पदाधिकारी, विभिन्न क्लबका अध्यक्ष, पूर्व जिल्ला गभर्नर, सामाजिक व्यक्तित्व तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।





