पोखरा/पोखरामा नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवम् कफी कपिङ च्याम्पियनसिप सम्पन्न भएको छ । नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना तथा पोखरा महानगरपालिका र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्रवद्र्धनमा सो कार्यक्रम आयोजना भएको हो ।
कार्यक्रममा कफी उत्पादनका क्षेत्रमा क्रियाशील उद्यमीहरू, कृषकहरू र कृषि सहकारीहरूको प्रतिनिधिमूलक सहभागिता रहेको थियो । कृषकहरूले पोखरा महानगर क्षेत्रमा करिब ४५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्ने गरेका छन् । आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरामा बर्सेनि करिब १५ टन कपि उत्पादन हुने गरेको छ ।
कपि कृषकहरूलाई प्रोत्साहनका लागि महानगरपालिकाको तर्फबाट कम्तीमा १ सय बोट कपि रोप्नेहरूलाई प्रति बोट ५० रुपैयाँ प्रदान गर्ने कार्यक्रमअन्तर्गत १० हजार बिरुवा लगाइएका छन् । महानगरपालिकाले कृषकहरूलाई कफी प्याकेजिङमा सहयोग गरेको छ भने, पोखरामा करिब १५ सयको हाराहारीमा कपि क्याफे तथा सपहरु सञ्चालनमा रहेका छन् ।
नगर प्रमुख धनराज आचार्यले कफी खेतीको व्यावसायिक विकासका लागि कृषकहरूलाई बीउ तथा बिरुवामा अनुदान प्रोत्साहन लगायत बजारीकरणमा समेत आवश्यक सहयोग तथा समन्वय गरिएको बताए । कफि क्याफेहरू सञ्चालनका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत् वारिष्टा लगायतको सीप विकासका तालिम कार्यहरू समेत सञ्चालन गरिएको उनको भनाइ छ ।
महानगरपालिका कृषकहरूको साथमा रहेको विश्वास दिलाउँदै उनले बाँझो जमिन तथा बाँदरहरूले क्षति पु¥याउने क्षेत्रमा यसको खेती गर्न कृषकहरूलाई आह्वान समेत गरे ।
कार्यक्रममा कपि कपिङमा उत्कृष्टता हासिल गर्ने कफि उद्यमी तथा कृषकहरूलाई नगदसहित सम्मान समेत प्रदान गरिएको छ ।





