शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काठेखोलाका स्थानीय सडकमा तीनथरीका मापदण्ड

काठेखोलाका स्थानीय सडकमा तीनथरीका मापदण्ड

‘ग्रामीण बस्तीमा नसकिने खालको मापदण्ड बनाइयो भने बाढी पहिरोको जोखिम बढ्छ’ गाउँपालिका अध्यक्ष राजु थापाले भने, ‘स्थानीयको अपनत्व बढ्ने र यातायात पनि सहज बन्ने गरी यी मापदण्ड तोकिएको हो ।’ 


  • ढोरपाटन संवाददाता
  • असार २२ २०८३, सोमबार
??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

बागलुङ/राजमार्ग, सहरी सडक र ग्रामीण सडकको आफ्नै मापदण्ड हुन्छ । राजमार्गमा विशेष निगरानी र कडाइका साथ मापदण्ड लागू गरिन्छ । राष्ट्रिय गौरवको आयोजना भएमा २५ मीटरको मापदण्ड छाड्नुपर्ने प्रावधान छ ।

तर स्थानीय सडकप्रति चासो राखेको पाईदैन । बागलुङको काठेखोला गाउँपालिकाले भने सडक बनाउँदा बस्ती जोखिम नपर्ने गरी स्थानीय मापदण्ड बनाएको छ । यो मापदण्ड अनिवार्य रुपमा पालना गर्नैपर्ने प्रावधान बनाइ लागू समेत गरिएको छ ।

ग्रामीण क्षेत्रमा पनि धमाधम सडकहरु बन्दैछन् । घरहरु पक्की बनाउने होड चलेको छ । तर सडक बनाएपछि सोही अनुसारको सडक मापदण्ड छाडेर मात्र घर बनाउने नीतिनै बनाएर लागू गरिएको गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताए । यो मापदण्डले जोखिम न्युनिकरणमा सहयोग पुग्ने थापाको भनाई छ । पालिकाले आफ्नै सडक गुरुयोजना बनाएपछि मापदण्ड विपरितका घरटहरा बनाउन रोक लगाएको छ ।

ग्रामीण बस्ती भएपनि काठेखोला गाउँपालिकालाई चिरेर मध्यपहाडी लोकमार्ग गएको छ । २२ किमी सडक मध्यपहाडी लोकमार्गमा सुचिकृत छ । यो खण्ड संघिय सडक र मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयको मातहतमा पर्छ । यहाँ आउने मापदण्डको विवाद अझै कायम छ । त्यो समाधान गर्ने जिम्मा पनि आयोजनाको हो ।

तर पालिका स्तरीय सडकमा भने मापदण्ड कडाइका साथ लागू गरिएको थापाले बताए । उपाध्यक्ष नेतृत्वमा रहेको अनुगमन समितिले मापदण्डलाई कडाई गरेको हो । यो पालिकाभित्र ३ सय ९८ किमी ग्रामीण सडकको ट्रयाक खुलेको तथ्यांक छ । ती सडकलाई पालिकाले तीन समूहमा राखेर आवस्यक मापदण्ड कायम गराएको हो ।

गाउँपालिकादेखि वडा कार्यालय जोड्ने सडकलाई ‘क’ वर्गको सडक नामाकरण भएको छ । ती सडकमा सेट व्याकसहित १२ मीटर चौडाका बनाइने पालिकाको नीतिमा उल्लेख छ । पालिका केन्द्रदेखि यहाँका ८ वटा वडा कार्यालय पुग्ने सडक बनिसकेको छ । वडा नं. ५, ६, ७ सम्म कालोपत्रे समेत भएको छ भने वडा नं. ८ जाने सडक स्तरीय बनिसकेको छ । वडा नं. ४ मा जाने सडकको केही खण्ड कालोपत्रे भएको छ भने आगामी वर्षभित्र वडा कार्यालयसम्म कालोपत्रे सडकले जोड्ने लक्ष्य छ ।

अन्यमा पालिकाको आन्तरिक श्रोतले नपुग्ने भएपछि प्रदेश सरकारको साझेदारीमा रकम माग भएको गाउँपालिका अध्यक्ष राजु थापाले बताए । वडा कार्यालयदेखि मुख्यबस्ती जोड्ने सडकलाई पालिकाले ‘ख’ वर्गका सूचिकृत गरेको छ । ती सडकहरु सेटव्याकसहित १० मीटरका हुनेछन् । ती सडकलाई स्थानीयको अत्यावस्यक सेवामा उपयोग गर्नुपर्ने भएकोले ग्राभेल गर्नेगरी अधिकांसमा काम भएको छ ।

गाउँपालिकाले सडक गुरुयोजना समेत बनाइसकेको छ । गुरुयोजनामा ती सबै सडकको मापदण्डसहित पुलपुलेसा, कल्भर्ट जस्ता पुर्वाधार बनाउने योजना पनि समावेश छ । ‘ग’ वर्गको सडक भने बस्तीदेखि बस्ती जोड्ने सडक हुन्् । ती सडकलाई ६ मीटर चौडाका मात्रै बनाइएको छ । ‘ग्रामीण बस्तीमा नसकिने खालको मापदण्ड बनाइयो भने बाढी पहिरोको जोखिम बढ्छ’ थापाले भने, ‘स्थानीयको अपनत्व बढ्ने र यातायात पनि सहज बन्ने गरी यी मापदण्ड तोकिएको हो ।’

मापदण्डमा धेरै राखेर सडक बनाउँदा कम राख्ने काम नगर्ने गरी वडा अध्यक्षहरुले स्थानीय सहभागितामा गुरुयोजना बनाएका थिए । सडक पुर्वाधारकै कारण बाढी पहिरो जाने खतरा न्युनिकरण गर्न यो विधि ल्याएको प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलले बताए । त्यस बाहेक अन्य पुर्वाधार बनाउने वा भवनका लागि पनि नक्सापास गर्ने र सडक वा सार्वजनिक स्थलको आसपासमा बनाउने भए सोही प्रकृतिको मापदण्ड पुरा गर्नुपर्ने प्रावधान राखिएको छ । व्यक्तिगत घरजग्गाको लागि पालिकाले नक्सापासको बाध्यकारी प्रावधान राखेको छैन ।

बरु वडा तहबाट संकलन हुने करको आधारमा राजश्व बाँडफाँड गर्ने र वडा समानिकरणका योजना संचालन गर्ने नीति बनाएको छ । यो नीतिले वडाले आफ्नो राजश्व संकलनमा आँफै चासो देखाउन थालेको छ । काठेखोला गाउँपालिकाको वडा नं. १, २, ५ र ६ मा पर्ने मध्यपहाडी लोकमार्गको मापदण्ड भने अझै पुरा भएको छैन । ‘लोकमार्गको मापदण्ड पुरा गर्दा गाउँको बस्ती समेत सकिन्छ, यस्तोमा भूगोल हेरेर काम गर्न सके राम्रो हुन्थ्यो’ वडा नं. ६ का अध्यक्ष वृहस्पति कँडेलले भने, ‘मापदण्ड धेरै भएकोले स्थानीयले मान्न बाध्य बनाउन सकिएको छैन ।’ राष्ट्रिय आयोजना भएकोले २५ मीटरको मापदण्ड लागू गर्नुपर्ने भएपछि यहाँ लागू नभएको हो । लोकमार्ग आयोजना कार्यालयले पनि अहिलेसम्म यहाँ मापदण्ड बाध्यकारी बनाउन सकेको छैन । लोकमार्ग आयोजनाको राजपत्र प्रकाशित नभएकोले कार्यालयले पनि कडाइ गर्न नसकेको एक इन्जिनियरले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->