
बागलुङ/भारतीय पर्यटकको लर्को लाग्न थालेको कालीगण्डकी करिडोरमा बुटवलदेखि मुक्तिनाथसम्म बाक्लो संख्यामा सवारी चल्न थालेका छन् । सडक अधिकांस खण्ड कालोपत्रे भैसकेको छ भने केही खण्डमा काम भैरहेको छ । तर यो खण्डका दर्जन पुल भने जोखिमका छन् ।
नेपाली सेनाले बाह्र वर्षअघि सडकको ट्रयाक खोल्ने क्रममा अस्थायी रुपमा राखेका ट्रस्ट पुलहरु भने अझै फेरिएका छैनन् । नयाँ सडकमा पुराना जीर्ण पुलले यात्रा जोखिमको बनाएको हो । करिडोरअन्तर्गत बागलुङका तीनवटा र गुल्मीका ६ वटा पुल अहिले सबैभन्दा बढी जोखिमका छन् ।
जिर्ण पुलमा अहिले जोखिम मोलेर सवारी गुडीरहेका छन् । ट्रस्टका ती पुलहरु खिया लागेका छन् । पुलको बिचमा राखिएका डेकहरु हल्लेका छन् । कतिपय खियाले मक्किइसकेका छन् । टायर घोटिएर चिप्लो भैसकेका छन् । पैदल यात्रीले पानी परेको बेला चिप्लने गरेको गुनासो गरे ।
करिडोरमा पछिल्लो समय भैरहवादेखि मुक्तिनाथ जाने अधिकांस यात्रीको गन्तव्य बनेको छ । भारतीय पर्यटक र तीर्थयात्री पनि यो सडक प्रयोग गर्ने धेरै छन् । भैरहवाबाट सामान ल्याएर बागलुङ र बेनी आउने १४ पाङग्रे ट्रक समेत यो सडकमा गुड्न थालेका छन् । गह्रौ सवारी गुड्दा पुल हल्लिएको, खिया लागेका फलामका ट्रष्ट र नटहरु फुत्किन थालेको भन्दै स्थानीयले जोखिम बढेको बताए । ‘पुलहरु जीर्ण छन्, कता दुर्घटना हुने हो भन्ने डर भैसकेको छ’ जैमिनी नगरपालिका वडा नं. ५ का हरिबहादुर क्षेत्रीले भने, ‘सेनाले अस्थायी रुपमा राखेको पुलको भरमा १२ वर्ष बिताइसकियो, अझैपनि पक्की पुल बन्ने सुरसार छैन ।’
जैमिनी नगरपालिका वडा नं. १ र ५ जोड्ने ठेउलेखोला पुल, जैमिनी नगरपालिका वडा नं. ७ को लौंवाखोला पुल र बागलुङ र गुल्मी जोड्ने पालुङखोलाको पुल बढी जोखिमका छन् । बागलङ नगरपालिका वडा नं. १ को मालढुंगादेखि वडा नं. १० गलुवा जोड्ने काठेखोलाको पक्की पुल पनि जिर्ण छ । यो पुल तत्कालिन जिल्ला विकास समितिले २०६६ सालमा साना सवारी साधनका लागि भन्दै एकतर्फीको बनाएको थियो । चार वर्ष अघि काठेखोलामा आएको बाढीले यो पुलको उत्तर तर्फको पिलर भत्काएको थियो । सामान्य मर्मत गरेर चलाएपनि एकतर्फी भएकोले गह्रौ भार नथेग्ने र धेरै सवारी चल्दा यो पुल अझै जोखिमको छ । सानो गाडीका लागि मात्र बनाइएको पुलमा ठूला सवारीलाई जोखिम हुने बागलुङ नगरपालिकाका इन्जिनियर दिपेन्द्र भण्डारीले बताए ।
करिडोरअन्तर्गत बागलुङ र गुल्मी जोड्ने छिस्तीस्थित धुसको पालुङखोला पुलमा पैदल यात्रीलाई पनि जोखिम भएको स्थानीय ओमकार थापाले बताए । यो खोला गहिरो र पहरा भएकोले पुलबाट स्थानीयले गाईभैंसी वारपार गराउन पनि कठिन भएको उनले गुनासो गरेका छन् । बागलुङ नगरपालिका वडा नं. १० र १३ जोड्ने कालाखोलाको पुल भने तीन वर्ष अघि नै बनाइएको हो । त्यस बाहेक धापाखोला, अर्जेवा लगायतका पुल भने अघिल्लो वर्ष बनेर संचालनमा आइसकेका छन् ।
‘ठूलो खोला र बढी जोखिम भएको स्थानमा भने पुल अझै बनेन्’ जैमिनी नगरपालिका वडा नं. ५ का अध्यक्ष ठगबहादुर क्षेत्रीले भने, ‘जोखिम भएको नदेखेका हुन् की बेवास्ता हो ?’ जोखिम र दुर्घटना पर्दा नगरपालिकामाथी दोष आउने उनले बताए । अघिल्लो वर्ष ठेउले खोलामा आएको बाढीले यो पुलको छेउका घर बगाएको थियो भने दक्षिण तर्पmको पिलरमा असर परेपछि नगरपालिकाले पर्खाल लगाएर बाढी रोकेको थियो ।
करिडोर आयोजना कार्यालय पाल्पाका सिनियर डिभिजन इन्जिनियर शिवलाल दाहालले बागलुङका ३ वटा, गुल्मीका ६ गरी ९ वटा करिडोरतर्फ र कालीगण्डकी राजमार्गतर्फ पर्वत खण्डका ५ गरी १४ वटा पक्की पुल बनाउनुपर्ने बताए । ‘हामीले राष्ट्रिय योजना आयोगमार्फत अर्थ मन्त्रालयको स्विकृतिका लागि पत्र पठाएका छौं’ दाहालले भने, ‘स्विकृत नभएसम्म भन्न सकिएन, नत्र बनाउने योजना छ ।’ लागत स्टिमेटसहित माग गरिएकोले स्विकृत भएमा हिउँदमा ती पुल बनाउन शुरु हुने उनले बताए ।




