काठमाडौं / नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १४ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंले मंगलबार उनीहरूलाई दोषी ठहर गरेको हो ।
दोषी ठहर हुनेहरूमा रायमाझी, खाणसहित केशव दुलाल, सानु भण्डरी, सागर राई, सन्देश शर्मा, इन्द्रजीत राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे छन्। उनीहरूले संगठित रुपमा ठगी गरी उक्त कसूरबाट राज्यविरुद्धको अपराध गरेको अदालतको संक्षिप्त आदेशमा उल्लेख छ ।
त्यसैगरी एकीकृत कसूरतर्फ खाण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन, निरन्जकुमार खरेलले राज्यविरुद्धको कसूरमा मतियारका रुपमा अपराध गरेको आदेशमा उल्लेख छ ।
सोही मुद्दामा अन्य ७ जनाले सफाइ पाएका छन् । रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आषिश बुढाथोकीले पाए सफाइ पाएका हुन् । फरार रहेका अभियुक्तका हकमा पक्राउ परेका बखत कानुन बमोजिम हुने गरी मुद्दा मुल्तबीमा राखिएको छ ।
फरार प्रतिवादीहरू अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाञी, निरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्बू र सुनील बुढाथोकी पक्राउ परेका बखत कानुनबमोजिम हुनेगरी मुद्दा मुलतवीमा राखिएको छ ।





