शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हरित रोजगारीका निम्ति ३० दिने सीप विकास तालिम

हरित रोजगारीका निम्ति ३० दिने सीप विकास तालिम

सहभागीहरूले पुनः प्रयोग गरिएका कपडाबाट झोला, फूलको गुच्छा, गुडिया निर्माण गर्ने र मकैको खोस्टाबाट सजावटका फूल तथा उपहार सामग्री बनाउने सीप सिक्नेछन् ।


  • ढोरपाटन संवाददाता
  • असार २३ २०८३, मंगलबार

पोखरा/रिसाइक्लिङ र अपसाइक्लिङमार्फत् हरित रोजगारी सिर्जना जिसिआरयु परियोजनाअन्तर्गत पोखरामा सोमबारदेखि ३० दिने सिलाई तथा कटाई सीप विकास तालिम सुरु भएको छ । सर्कुलर इकोनोमीको अवधारणालाई आत्मसात् गर्दै फोहोर मानिने सामग्रीलाई पुनः प्रयोग गरी आयआर्जनमा बदल्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

तालिमको उद्घाटन गर्दै परियोजनाकी राष्ट्रिय परियोजना प्रबन्धक यमुना सिलुवालले हरित रोजगारी प्रवद्र्धन र वातावरणीय दिगोपनामा यस तालिमको विशेष महत्त्व रहेको बताइन् । उनले चक्रिय अर्थतन्त्रका अभ्यासहरूले समुदायलाई आर्थिक रूपमा सशक्तीकरण गर्न ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् ।

परियोजनाका मिल एण्ड कम्युनिकेसन विश्लेषक शशी थापाले सहभागीहरूलाई तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न र आफ्नो जीविकोपार्जनमा सुधार ल्याउँदै स्वच्छ र हरित पोखरा निर्माणमा योगदान दिन प्रोत्साहित गरे ।

विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक एवं मुख्य प्रशिक्षक सविता श्रेष्ठले तालिमको पाठ्यक्रमबारे जानकारी दिँदै ३० दिनभित्रै सहभागीहरूले पुराना कपडा प्रयोग गरी बजारयोग्य र गुणस्तरीय सामग्री तयार पार्न सक्ने बताइन् ।

तालिममा पोखरा महानगरपालिकाका विभिन्न वडाका १८ वटा रिसाइक्लिङ तथा अपसाइक्लिङ समूहका ३२ जना महिलाहरूको सहभागिता रहेको छ । सहभागीहरूले पुनः प्रयोग गरिएका कपडाबाट झोला, फूलको गुच्छा, गुडिया निर्माण गर्ने र मकैको खोस्टाबाट सजावटका फूल तथा उपहार सामग्री बनाउने सीप सिक्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->