शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दई पटक म्याद थप, जैमिनीको प्रशासनिक भवन बनेन

दई पटक म्याद थप, जैमिनीको प्रशासनिक भवन बनेन

२०८१ असार मसान्तसम्ममा काम सक्ने गरी २०७८ माघ २१ गते ८ करोड १७ लाख ६५ हजार रुपियाँमा ठेक्का सम्झौता गरी रफिना–प्राकृतिक–जुगल जेभीले काम थालेको थियो । पाँच वर्षदेखि निर्माणाधीन भवनको हालसम्म भौतिक प्रगति ६८ प्रतिशत मात्र छ ।


  • ढोरपाटन संवाददाता
  • असार २५ २०८३, बिहिबार

बागलुङ/निर्माण कम्पनीको ढिलासुस्तीले जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माण थालेको पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।

२०८१ असार मसान्तसम्ममा काम सक्ने गरी २०७८ माघ २१ गते ८ करोड १७ लाख ६५ हजार रुपियाँमा ठेक्का सम्झौता गरी रफिना–प्राकृतिक–जुगल जेभीले काम थालेको थियो । पाँच वर्षदेखि निर्माणाधीन भवनको हालसम्म भौतिक प्रगति ६८ प्रतिशत मात्र छ ।

समयमै भवनको काम नसकिँदा नगरपालिकाले मासिक डेढ लाखबढी रकम घरभाडामा खर्चिरहेको छ । तोकेको समयमा ५५ प्रतिशतमात्रै काम गरेको निर्माण कम्पनीले पहिलो पटक ६ महिना र दोस्रो पटक २०८२ असार १७ गतेसम्म म्याद थपेको थियो ।

दोस्रो पटक थपिएको समयमा पनि काम नसकिएपछि फेरी म्याद थप्ने–नथप्नेबारे अन्यौल रहेको जैमिनी नगरपालिकाका उप–प्रमुख हरिहर शर्माले बताए । ‘पाँच वर्षमा ६८ प्रतिशत मात्रै काम गरेको ठेकेदारले फेरी म्याद थप्दा काम सक्छ भन्ने आधार देखिदैन,’ शर्माले भने, ‘ठेक्का लिएर ओगट्ने प्रवृत्तिले विकासका काम अलपत्र परेका छन् ।’

जैमिनीले अहिले कुश्मीसेरा बजारका तीनवटा घरको पुरै र केही अन्य घरमासमेत विभिन्न शाखा राखेर प्रशासनिक सेवा प्रवाह गरिरहेको छ । प्रशासनिक भवनको अभावमा काममा अवरोध भएको उपप्रमुख शर्मा बताउँछन् । ‘कार्यपालिकाको बैठक, पाहुना तथा विशिष्ट व्यक्ति आउँदा वडाको भवनमा लैजानुपर्ने बाध्यता छ,’ शर्माले भने ।

निर्माण कम्पनीका प्रतिनिधि नरेश ओझालाई भवन निर्माणमा भएको ढिलाइबारे जानकारी लिन पटक–पटक सम्पर्क गर्दा उनको फोन उठेन । ओझाले भने परिवारका सदस्य गम्भिर बिरामी पर्दा कार्यक्षेत्रमा समय दिन नसकेको भनी अवगत गराएको नगर उप–प्रमुख शर्माले बताए । ‘ठेकेदारले काम गरेको भुक्तानी समेत लिन आएको छैन,’ शर्माले भने ।

४२ वटा कोठाको चार तलाको भवन निर्माण गर्ने गरी २०७८ सालमा जैमिनीका संस्थापक नगर प्रमुख इन्द्रराज पौडेलले शिलान्यास गरेका थिए ।

पालिकाको प्रशासकिय भवन ठेक्का लिएको निर्माण कम्पनीले बागलुङ नगर अस्पताल निर्माणमा पनि ढिलाइ गरेको छ । एक वर्षमा सक्नेगरी निर्माण थालिएको अस्पतालको भवन चार वर्ष बितिसक्दा पनि सकिएको छैन । बागलुङ नगरपालिका–१४ स्थित नारायणस्थान स्वास्थ्य चौकीलाई नगर अस्पतालमा स्तरोन्नति गर्ने नगरपालिकाको योजना हो ।

ठेकेदारको ढिलासुस्तीले नगर अस्पतालको भवन निर्माण अधुरै छ । संघीय सरकारको विशेष अनुदानमा २०७९ माघ ६ मा सक्नेगरी अस्पतालको भवन निर्माण थालिएको हो ।‘भवनको काम कहिले सकिन्छ अन्यौल छ,’ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->