बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

श्रीपति समाज सेवा पुरस्कार मानव सेवा आश्रमलाई

श्रीपति समाज सेवा पुरस्कार मानव सेवा आश्रमलाई


  • ढोरपाटन संवाददाता
  • असार २७ २०८३, शनिबार

पोखरा/  यस वर्षको श्रीपति समाज सेवा पुरस्कार मानव सेवा आश्रम नेपाललाई प्रदान गरिने भएको छ । श्रीपति कोईराला गुठीले शनिबार पोखरामा आयोजित श्रीपति कोइरालाको २१९ औं जन्मजयन्तीको अवसरमा २ लाख २२ हजार २२२ रुपैयाँ राशिको उक्त पुरस्कार आश्रमलाई दिने निर्णय गरेको हो ।

समाज सेवाको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने संस्थालाई गुठीले वर्षेनी पुरस्कार दिदै आएको छ । पुरस्कारको साथमा समाज सेवा पदक र सम्मान पत्र समेत प्रदान गरिनेछ । गुठीको आगामी साधारण सभाको अवसरमा पुरस्कार हस्तान्तरण गरिने छ ।

आश्रमले सडक र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन विवश बेसहारा र अशक्त मानिसको उद्धार गर्दै आएको छ । उनीहरुको उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलनमा आश्रमले पु¥याएको योगदानको कदर गर्दै पुरस्कार दिन लागिएको हो । ‘खुला आकाशमुनि रहेका असहाय र अभिभावकविहीन मानिसको मानवोचित व्यवस्थापन गरी आश्रमले समाज सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ,’ गुठीका अध्यक्ष फणीन्द्रराज कोइरालाले भने ।

गुठीले विसं २०७९ देखि राष्ट्रियस्तरको यो पुरस्कार वितरण सुरु गरेको थियो । पहिलो पटक यो पुरस्कार माइती नेपाललाई प्रदान गरिएको थियो । त्यसपछि दोस्रो पटक राष्ट्रिय आविष्कार केन्द्र काठमाडौं र तेस्रो पटक पदम भुवनेश्वरी नमूना सेवाश्रम सर्लाहीले यो सम्मान पाएका थिए । चौथो पटक विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखरा र पाँचौ पटक तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक डा. सन्दुक रुइत लगायतका संस्थाहरु सम्मानित भइसकेका छन् ।

श्रीपति कोइरालाको जन्म विसं १८६४ असार २७ गते पोखराको गैह्रापाटनमा भएको थियो । उनले भारतको बनारसमा ज्योतिषशास्त्र, धर्मशास्त्र, तन्त्रविद्या र आयुर्वेदको उच्च शिक्षा अध्ययन गरेका थिए । सरकारी जागिरका साथै उनले धार्मिक र मानवीय कल्याणका काममा आफ्नो जीवन बिताएका थिए । उनले पोखरा र पर्वतमा जग्गा खरिद गरी पाटीपौवा र मन्दिर स्थापना गरेका थिए ।

साधुसन्त र बटुवाका लागि बाटो, चौतारा र पौवा बनाएर उनले सामाजिक सेवाको जग बसालेका थिए । उनले स्थापना गरेका ऐतिहासिक विरासतको संरक्षण गर्न र उनको ख्यातिलाई जीवित राख्न गुठीले विभिन्न गतिविधि गर्दै आएको छ । गुठीले समाज सेवाका साथै छात्रवृत्ति र आर्थिक सहयोगका कार्यक्रमहरुलाई पनि निरन्तरता दिएको छ । कोईरालाको मानवीय सेवाको अभियानलाई उनका सन्ततिहरुले अगाडि बढाएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->