बागलुङ (गलकोट)/जिल्लाको गलकोट नगरपालिकामा रहेको गलकोट हुलाक कार्यालयको भवन जीर्ण बन्दा र पर्याप्त जनशक्ति नहुँदा दैनिक कार्यसम्पादन समस्या भएको छ ।
२०४५ सालमा तत्कालीन इलाका हुलाक कार्यालयको रूपमा स्थापना भइ हाल गलकोट हुलाक कार्यालयमा रूपान्तरण भएको कार्यालयको भौतिक पूर्वाधार र कर्मचारी दरबन्दी दुवै कमजोर हुँदा सेवा प्रवाहमा समस्या निम्तिएको हो ।
लामो समयदेखि मर्मत सम्भार हुन नसकेको पुरानो र चर्किएको भवनबाट कर्मचारीले जोखिम मोलेर सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको छ । यस कार्यालयमार्फत गलकोट नगरपालिकाका ११ वटा वडामा सेवा प्रवाह हुँदै आएको छ ।
भौतिक संरचनासँगै कार्यालयमा जनशक्तिको समेत अभाव छ । नगर सबै वडामा चिठ्ठीपत्र र कागजात नागरिकको घरदैलोमा पु¥याउन अहिले एकजना कर्मचारीको भर पर्नुपर्ने अवस्था छ । एक जना कार्यालयमा रहनुपर्ने र अर्को एक जना गाउँ गाउँमा पुग्नुपर्ने बाध्यता रहेको छ । पर्याप्त मात्रामा कर्मचारी नहुँदा समयमा नै सेवा उपलब्ध गराउन निकै कठिन भइरहेको र सेवा प्रवाहमा जटिलता थपिएको कर्मचारी मिना बुढाथोकीले बताइन् ।
कार्यालयका प्रमुख नरेश वलीका अनुसार, भौतिक संरचना र जनशक्तिको अभाव भएपनि नागरिकको आवश्यकतालाई ध्यानमा राखेर सेवालाई निरन्तरता दिइएको छ । हाल कार्यालयबाट राहदानी, सरकारी तथा गैरसरकारी कागजातहरू, वैदेशिक पार्सल, र विभिन्न पत्रपत्रिका ओसारपसार तथा वितरण गर्ने जस्ता महत्वपूर्ण सेवाहरू उपलब्ध भइरहेका छन् ।
सरकारले हुलाक सेवालाई थप व्यवस्थित र आधुनिक बनाउने उद्देश्यका साथ सरकारी कुरियर सर्भिसको रूपमा सञ्चालन गरेपछि हुलाक कार्यालयको व्यस्तता र नागरिकको आकर्षण झनै बढेको छ । नयाँ व्यवस्था लागू भएयता हालसम्म कार्यालयमार्फत ४४ वटा राहदानी सुरक्षित रूपमा सम्बन्धित नागरिकको हातमा पु¥याइएको छ ।
जीर्ण भौतिक संरचनाका कारण ढुक्कसँग काम गर्ने वातावरण नभएकाले नयाँ भवन निर्माणको लागि सम्बन्धित निकायमा जानकारी गराईसकिएको र आवश्यक प्रक्रिया पनि अगाडी बढेको वलीले बताए । नयाँ भवनको निर्माण र पर्याप्त जनशक्तिको व्यवस्थापन हुन सकेमा सेवा प्रवाह अझै तीव्र र प्रभावकारी हुने वली बताउँछन् ।
जिल्ला हुलाक कार्यालयसहित १० पालिका रहेको बागलुङमा ९ ओटा पालिकास्तरीय हुलाक कार्यालय छन् । तीमध्ये बुर्तिवाङ, गलकोट, कुश्मीसेरा र काठेखोलाको बिहुँमा रहेका आफ्नै भवन ढुक्क भएर काम गर्न नसक्ने गरी जीर्ण बनेका छन् । वि.सं २०४५ सालमा बनेका हुलाक कार्यालयका भवको मर्मतसम्भार नहुँदा मक्किएर भत्कने अवस्थामा छन् ।
मर्मत गर्ने बजेट अभावमा हुलाकका भौतिक संरचना जीर्ण अवस्थामा रहेको जिल्ला हुलाक कार्यालयका प्रमुख दुर्गा प्रसाद शर्माले बताए । हुलाकले तमान, निसी, बडिगाड र बरेङ, ताराखोला गाउँपालिकामा भाडाको घरबाट सेवा प्रवाह गरिरहेको छ । ‘ताराखोलाले एउटा कोठा उपलब्ध गराएको छ, भवन अभाव भएका ठाउँमा स्थानीय तहसंग सहकार्य गर्नेबारे छलफल भइरहेको छ,’ शर्माले भने ।
पालिका स्तरीय हुलाकमा एक खरदार, दुई हल्कारा र दुई जना हुलाकीको दरबन्दी भएपनि पदपूर्ति हुन नसक्दा काम गर्न असहज भएको शर्माको भनाई छ । जनशक्ति र भौतिक पूर्वाधारको अभावबीच स्मार्ट हुलाक बनाउने सरकारी योजनामा भएका जनशक्ति प्रयोग गरेर सेवा प्रवाहलाई चुस्त बनाउने प्रयास गरिरहेको शर्माले बताए ।




