शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कालीका मन्दिरमा चित्रकला कार्यशाला

कालीका मन्दिरमा चित्रकला कार्यशाला


  • ढोरपाटन संवाददाता
  • असार २८ २०८३, आइतबार

बागलुङ/बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजना र स्थानीय कलाकारको आतिथ्यतामा शनिबार बागलुङ कालिका मन्दिरमा चित्रकला कार्यशाला गरिएको छ ।

काठमाण्डौंका १३ जना, पोखरा, म्याग्दी र बागलुङका १४ जना र भारतीय दुई कलाकार गरी २९ जनाले कालीका मन्दिरमा लाइभ पेन्टिङ गरेर कार्यशाला गरेका हुन् । यो अभियानमा नेपाल ललितकला क्याम्पसका विद्यार्थीसमेत सहभागि थिए ।

बागलुङ नगरपालिका–३ का मछिन्द्र शाक्य र वडा नं. ९ का मिलन खत्रीले बोलाएपछि ती कलाकार आएका हुन् । उनीहरुले पनि मन्दिर परिसरमा लाइभ चित्रकला गरेका थिए । दुइ वर्षदेखि खत्री र शाक्यले विभिन्न स्थानमा पुगेर लाइभ पेन्टिङ गर्दै आएका थिए ।

आठ वर्षदेखि यस्तै काम गरेका शनिवारीय चिकला कार्यशालाका केन्द्रीय सचिव दिवेश प्रधान सहितको टोलीले शनिबार चित्रकलासँगै शाक्य नेतृत्वमा बागलुङमा पनि कार्यशाला समिति गठन गरेको छ ।

चित्रकलामा लागेकाहरुको पनि संस्था बनाएर उनीहरुको चित्रको मूल्यांकन, उचित मूल्य र पर्यावरणमा कलाकारिता गर्ने खालका अभियान संचालन गर्न समिति गठन गरिएको प्रधानले बताए । शनिबारको दिन, मन्दिरमा आउने सयौं भक्तजन र पर्यटकले उनीहरुको लाइभ पेन्टिङ अबलोकन गरेका थिए ।

यो कार्यशालामा बागलुुङ कालीका, महाकाली, मन्दिर आसपासको वातावरण र परिवेशलाई चित्रमा उतार्ने काम गरिएको छ । बागलुङ भगवती गुठी व्यवस्थापन समितिले चित्रकारहरुको कार्यशालालाई आयोजक बनिदिएपछि उनीहरुले चित्रकला पनि कालिका मन्दिरलाई नै उपहार स्वरुप दिएका छन् ।

समितिका अध्यक्ष भूपेन्द्र खड्काले ती चित्रलाई मन्दिर परिसरमा ग्यालरीको रुपमा सजाउने बताए । चित्रकार दिवेश प्रधानले त २६ वर्षअघि नेपाल ललितकला क्यामपसबाट चित्रकलामा स्नातक उत्तिर्ण गरेपछि पेशामा होमिएका थिए । उनले पछिल्लो आठ वर्षदेखि हरेक शनिबारलाई विभिन्न स्थानमा पुगेर लाइभ चित्र कोर्ने काम थालेका थिए । त्यही अनुभवलाई उनले संस्थागत गर्ने बताए । ‘आठ वर्षअघि पहिलो पटक बसन्तपुर दरबारमा पुगेर बनाएको चित्र तत्कालै बिक्री भयो’ उनले भने, ‘त्यसपछि हामीले शनिबार नियमित रुपमा घर बाहिर जाने योजना बनायौं ।’ उक्त योजनापछि चित्रकारहरुको संख्या पनि थपिएको उनको अनुभव छ ।

अहिलेसम्म प्रधान नेतृत्वमा भोटेकोशी, मुक्तिनाथ, मुस्ताङ, मार्दी बेसक्याम्प, जनकपुर, हेटौडा लगायतका स्थानमा पुगेर शनिबार सम्पदा, वातावरण र पर्यावरणलाई चित्रमा उतार्ने काम गरेका छन् । भक्तपुर सेरिज, पाटन सेरिज जस्ता अभियान पनि चलाएका प्रधानको अनुभवमा कालीगण्डकी, जैमिनी धाम, पञ्चकोट लगायतका स्थानमा चित्र कोरेका शाक्य र खत्रीको अनुभव पनि मिसाइएको हो । चित्रकलाको नेपालमा मूल्य नभएकोले कतिपयले आफ्नो प्रतिभा लुकाएको अवस्थामा चित्रकला कार्यशालामार्फत क्षमता र सिर्जना बाहिर आउने अर्का चित्रकार भक्तपुरका प्रविण श्रेष्ठले बताए ।

चित्रकलाबारे समाजमा अझैपनि राम्रो बुझाइ छैन । मुल्य समेत नपाएपछि चित्रकारहरु पेशाबाट पलायन भैरहेका छन् । उचित मूल्य पाउने र नागरिकलाई चित्रकलाबारे थाहा दिने गरी गरिएका अभियानले चित्रको उचित मूल्य पाउने, समाजमा सचेतना पनि फैलाउने र वातावरण संरक्षणमा सन्देश दिने काम भएको समितिका अध्यक्ष खड्का बताउँछन् ।

३३ वर्षदेखि बागलुङमा बसेर चित्र कोरिरहेका शाक्यको अनुभव पनि शनिवारीय कार्यले समाजमा चित्रबारे चेतना बढेको छ । हजारदेखि २० हजार सम्ममा पनि आफ्नो चित्र बेच्न सफल भएको अनुभव सुनाए । उनले राष्ट्रिय विभूती, पूर्व राजा लगायतको प्रोटेट बनाएका छन् । ल्याण्डस्केप भने वातावरण अनुसारका कोरेका छन् । तर सरस्वती, बागलुङ कालीका, बुद्ध, पशुपति नाथ, धौलागिरि र माछापुग्छ्रे हिमाल बढी बिक्री हुने गरेको अनुभव छ ।

खत्रीले भने क्यानभासमा चित्र कोर्ने मात्र नभइ पेवल आर्ट पनि भर्छन् । काठका टुक्राबाट जंगली जनावर, नटराज र आकृतिहरु बनाउने गर्छन् । शताब्दी घर, नेपालकै लामो झोलुङ्गे पुल, कालीगण्डकी नदी, राजा र राणा प्रधानमन्त्रीहरुको चित्र पनि उनले कोरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->