बागलुङ/गत बिहिबार बागलुङ नगरपालिका वडा नं. १० भकूण्डेमा बोलेरो जीप दुर्घटनामा प¥यो । भकूण्डेबाट बागलुङ बजारतर्फ आउँदै गरेको जीप सडकभन्दा दुई मिटर तल खसेको थियो । दुर्घटनामा मानवीय क्षति भने भएन ।
स्थानीयको खबरलगत्तै घटनास्थलमा पुगेको प्रहरीले चालकसंग दुर्घटनाको बारेमा सोधपुछ ग¥यो । सजिलो सडकमा जीप दुर्घटना भएको पाइएपछि प्रहरी सशंकित बन्यो । चालककै कारण दुर्घटना भएको हुन सक्ने आशंकाबीच प्रहरीले लागुपदार्थ सेवन गरे–नगरेको चेकजाँच ग¥यो । चेकजाँचमा चालकले लागुपदार्थ सेवन गरेको पुष्टि भयो ।
चालकले लागुपदार्थ सेवन गरी सवारी दुर्घटना गराएको पुष्टि भएपछि चालक सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. २ स्थायी घर भई हाल बागलुङ नगरपालिका वडा नं. ११ बस्दै आउनुभएका २८ वर्षिय चिरञ्जिवी खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘‘लागुपदार्थ सेवन जाँच किट (टिएचसि) द्वारा परिक्षण गर्दा चालक खतिवडाले लागुपदार्थ सेवन गरेको पुष्टि भयो’’ जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले भने । यात्रुको ज्यान जोखिममा पार्नेगरी लागुपदार्थ सेवन गरी सवारी चलाएको पाईएपछि अनुसन्धान गर्न जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी नायव उपरिक्षक त्वातीले जानकारी दिए ।
यसअघि प्रहरीले लागुपदार्थ सेवन गरी सवारी चलाउने चार जना चालकलाई नियन्त्रणमा लिएको छ । इभि चालक प्रेमबहाुर दर्जी, बोलेरो जिप चालक दिपक थापा, दिपशे घर्ति र मिनी ट्रक चालक उत्तम नेपालीले प्रहरीले नियन्त्रणमा लिएको हो । चालकलाई अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको थप गरिएको छ । उनीहरुलाई लागुऔषध सेवनमा मुद्दा चलाईएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक फणिन्द्र प्रसाईं, ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायव निरीषक मिनबहादुर कुँवरसहित दश जनाको टोली लागुपदार्थ सेवन चेकजाँचमा खटिएका थिए ।
अधिकांश सवारी दुर्घटना चालककै कमजोरीका कारण घटेको पाईएपछि प्रहरीले सवारी चालकले लागुपदार्थ सेवन गरे–नगरेको चेकजाँचसंगै स्वास्थ्य परीक्षण र सचेतनामुलक स्टीकर टाँस्ने अभियान चलाएको छ । चालकले मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाएको जनगुनासो बढेपछि अभियान चलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक मिनबहादुर कुँवरले जानकारी दिए ।




