पोखरा/कवि सावित्री आचार्यको दोस्रो गीति कविता संग्रह ‘देश परिवेश’ शनिबार पोखरामा लोकार्पण गरिएको छ ।
अलिमियाँ वाङ्मय प्रतिष्ठान र दीपशिखा साहित्य सङ्गमको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार, कवि तथा साहित्यप्रेमीहरूको उपस्थितिबीच ५९ वटा गीति कविता समेटिएको उक्त कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा दीपशिखा साहित्य सङ्गमका संस्थापक अध्यक्ष रामजीप्रसाद आचार्यले स्रष्टा परिचय प्रस्तुत गर्दै कवि सावित्री आचार्यको संघर्षपूर्ण जीवनयात्रा साहित्यिक योगदान तथा लेखन यात्राबारे प्रकाश पारे ।
कृतिमाथि समीक्षा गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ टुकादेवी पौडेल आचार्यले संग्रहमा समावेश गीति कविताहरू मौलिक, संवेदनशील र जीवनपरक रहेको बताइन् । उनका अनुसार संग्रहका ५९ वटै गीति कविताले पाठकलाई गहिरो संवेदनशील अनुभूति दिलाउने क्षमता राख्छन् ।
बिम्ब कवि तथा प्राज्ञ रमेश श्रेष्ठले सावित्री आचार्यका कविताहरू बजारका कृत्रिम ‘प्लास्टिकका फूल’ जस्ता नभइ नेपाली वनपाखा, पहरा र हिमाली काखमा फुल्ने रैथाने ‘सुनाखरी’ जस्तै मौलिक रहेको बताए ।
पद्मराज ढकालको अभिभावकीय साथ र टुकादेवी पौडेल आचार्यको शालीन समीक्षाले पुस्तकको गरिमा अझ बढाएको चर्चा गर्दै उनले यो उमेरमा पनि सावित्री आचार्यको निरन्तर सिर्जनशीलता सम्पूर्ण आमा तथा दिदीबहिनीहरूका लागि प्रेरणादायी उदाहरण भएको बताए ।
पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले ‘देश परिवेश’ नेपाली गाउँघर, समाज, संस्कृति र जीवनशैलीका मौलिक तथा टिपिकल पक्षलाई जीवन्त रूपमा प्रस्तुत गर्ने कृति भएको बताए ।
कृतिकार सावित्री आचार्यले कार्यक्रममा व्यक्त गरिएको माया, सम्मान र हौसलाप्रति आभार व्यक्त गर्दै यस्ता प्रेरणाले आफूलाई आगामी दिनमा अझ सशक्त सिर्जना गर्न ऊर्जा मिलेको बताइन् ।
दीपशिखा साहित्य सङ्गमका सल्लाहकार विपिन आचार्यले संग्रहमा गाउँघरका मौलिक विषय, स्थानीय संस्कृति, परम्परा र नेपाली समाजका टिपिकल जीवनपक्षलाई प्रभावकारी रूपमा समेटिएको बताए ।
अलिमियाँ वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ तथा दीपशिखा साहित्य सङ्गमका अध्यक्ष गौरव ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरूले ‘देश परिवेश’ नेपाली साहित्यका लागि महत्वपूर्ण उपलब्धि भएको धारणा व्यक्त गरेका थिए।कार्यक्रममा संग्रहभित्र समावेश केही गीति कविताको वाचन पनि गरिएको थियो ।
प्राज्ञ सरस्वती श्रेष्ठ ‘सरु’, प्राज्ञ गायत्री पराजुली, गीता तिवारी, सुजन आचार्य तथा मुक्तक मञ्चका अध्यक्ष अम्बिका भण्डारीले कृतिका कविता वाचन गरेका थिए।कार्यक्रमको सञ्चालन दीपशिखा साहित्य सङ्गमकी महासचिव मनिषा लामिछानेले गरेकी थिइन् ।





