बागलुङ/ताराखोला गाउँपालिका–३ हिल गाउँका यमबहादुर बगाले काठ, ढुंगा र माटोको काम गर्छन् । ग्रामीण घरगोठ निर्माणमा उनले धेरै समय बिताएका छन् ।
उनले अनौपचारिक क्षेत्रमा काम गर्न थालेको तीन दशक भैसक्यो । उनको सीपलाई सम्मान गर्दै ताराखोलाले श्रमिक परिचयपत्र दिएको छ । परिचयपत्रसंगै उनलाई पालिकाले तालिम दिएर श्रम बैंकमार्फत सामाजिक सुरक्षा कोषमा जोडेको छ ।
बगालेकै छिमेकी पधेंराखोलाका सोमबहादुर मगरलाई पनि गाउँपालिकाले परिचयपत्रसहित श्रम बैंकमा जोडेर सामाजिक सुरक्षा कोषमा जोडेको गाउँपालिकाका अध्यक्ष धनबहादुर बिकले बताए ।
गाउँपालिकाले दुइ वर्ष अघिदेखिनै अनौपचारिक क्षेत्रमा क्रियाशिल कामदारलाई सूचिकरण गर्ने, उनीहरुको कामलाई पालिकाले अपनत्व लिने र रोजगारदाता र पालिकाबीचको समन्वयमा ‘विश्व सहिद स्मृति श्रम रोजगार बैंक’मा जोडेको हो ।
पहिलो चरणमा पालिकाले ६७ जनालाई यो कोषमा जोडेकोमा परिचयपत्र समेत दिएको हो । युवाालाई स्थानीय श्रममा जोडेर रोजगारी दिन गाउँपालिकाले श्रम रोजगार बैंक स्थापना गरेको छ । दुइ वर्ष अघिनै स्थापित यो बैंकमा जोडिएका पहिला चरणका ६७ युवालाई गाउँपालिकाले रोजगारीमा जोडेको हो । उनीहरुलाई गाउँपालिकाले सामाजिक सुरक्षा कोषको घोषणा गरेको छ । यो कोषमार्फत उनीहरुको योगदानमा आधारित रकम जम्मा गरिदिएको छ । यो रकमले मजदुरी गर्नेहरुले नसकेको बेलामा उपदान जसरी रकम निकालेर उपयोग गर्न पाउने छन् ।
वडा नं. १ का नरबहादुर घर्तीले डोजर अपरेटरबाट श्रम रोजगार बैंकमा नाम दर्ता गरेको बताए । काम अनियमित भएको र सामाजिक सुरक्षा नभएकोले उनले पालिकाको श्रमरोजगार बैंकमा जोडिएको बताए । यसरी जोडिंदा काम नपाएको बेला वा काम गर्न नसक्ने अवस्थामा पनि सहजै रकम पाउने आसा लागेको बताए ।
सामाजिक सुरक्षा कोष सहितको बैंक स्थापना गरेर गाउँपालिकाले युवालाई रोजगार दिने योजना बनाएपछि विदेशमा जान चाहनेले पनि स्थानीय रुपमै बसेर काम गर्न पनि थालेका छन् । बिरामी परेमा वा दुर्घटना भैहालेमा समेत सामाजिक कोषबाट राहत पाउने व्यवस्था छ ।
यो रोजगारीमा छिरेपछि सदस्य बनेकाहरुले वर्षभरी कुनै न कुनै काम पाउनेछन् । पालिकाभित्रका कामको सूचिकरण गरेर उनीहरुलाई पठाउने व्यवस्था पनि हुनेछ । पारिश्रमिकको १० प्रतिशत सामाजिक सुरक्षाकोषमा जम्मा गर्दा गाउँपालिकाले २१ प्रतिशत थप गरिदिनेछ । यो रकम सुरक्षा कोषमार्फत बिरामी र दुर्घटना परेमा उपचार सेवा पाउनेछन् । उमेर पुगेर निवृत्त भएमा खाइपाइ आएको तलबको ६० प्रतिशत पेन्सन सुविधा पनि पाउने भएका छन् ।
माओवादी जनयुद्दको अति प्रभावित ताराखोलामा २५ जना सहिद भएका थिए । यहाँका पहिलो सहिद विश्व गौचनको सम्झनामा रोजगार बैंक स्थापना भएको हो ।
ताराखोलामा २ हजार २ सय घर धुरी छन् । ती मध्ये एक घरको एकजना अनिवार्य जोड्न सकेमा त्यसबाट सबै घरपरिवार सुरक्षित हुने आस लिइएको छ । फर्निचर उद्योग, ढुंगा उद्योग, कृषि, सडक, खानेपानी, सिंचाइ तथा भवन निर्माणका सबै काम स्थानीय श्रमिक प्रयोग हुनेछ ।
ताराखोलामा आफ्नै उत्पादन समेत धेरै छन् । ती उत्पादनको बजारीकरणमा समेत स्थानीय श्रमिककै उपयोग गर्ने योजना समेत कार्यविधिमा उल्लेख छ । पहिलो वर्ष ३ करोड ६ लाख विनियोजन गरेर यो काम थालिसकेको थियो । अहिले भने यो अद्यावधिक मात्र गरिरहेको गाउँपालिका अध्यक्ष धनबहादुर बिकले बताए ।




