प्रतिकात्मक तस्विर
बागलुङ/असार अन्तिम सातासमम पर्याप्त पानी नपरेर किसानले धान रोप्न पाएका छैनन् । तर शनिबारदेखि परेको अविरल झरीले आइतबार राती देखिनै कालीगण्डकी करिडोर र बुर्तिवाङदेखि ढोरपाटन जाने सडक अबरुद्व भएका छन् ।
कालीगण्डकी करिडोरमा पहिरो खस्दा सडक अबरुद्व भएको छ । जैमिनी नगरपालिका वडा नं. ७ र ८ को सिमाना नजिकै बेलबगरमा पहिरो र लेदो खस्दा सडक अबरुद्व भएको हो । करिडोरको बाटो बागललुङ, म्याग्दी र मुस्ताङ आएका पर्यटक गुल्मी, पाल्पा र बुटवल फर्कने गर्छन् । भारतीय भक्तजन र पर्यटकले यो सडक धेरै उपयोग गर्न थालेका छन् ।
सडक अबरुद्व भएपछि गाडीहरु रोकिएकोले यात्री समेत अलपत्र परेका छन् । प्रहरी नायव उपरक्षिक रामेश्वर त्वातीका अनुसार, सडक खुलाउने प्रयास भैरहेको छ । सडक ठप्प भएर यात्रीले सास्ती खेपेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । झरी परिरहेको र लेदो खसेकोले सडक खुलाउन अप्ठ्यारो भएको प्रहरीको भनाइ छ ।
यसैबीच सालझण्डी ढोरपाटन सडकको फल्लेघरदेखि माथीको खण्डमा पनि सडक अबरुद्व भएको छ । आइतबारदेखिनै सडकमा लेदो खसेर पटक पटक रोकिएको नगरपालिकाका कावा प्रमुख धनबहादुर अदैले बताए । सालझण्डी–ढोरपाटन सडक आयोजनाको निर्माणाधिन खण्ड पुरा नभएकोले यो पहिरोले पटक पटक सडक अबरुद्व भैरहेको छ । ढोरपाटन जाने आउने पर्यटकलाई यो पहिरोले सास्ती दिएको छ ।
नगरपालिकाले आफ्नै डोजर पठाएर सडक खुलाउने काम गरिरहेको छ । तर यो सडक खण्ड १६ वर्षदेखि निर्माणाधिन रहेको, पुरा नभएको कारण बर्षातमा यात्रीले दुःख पाइरहेका छन् । असार र साउन महिनामा ढोरपाटन र बुकीपाटक फुलैफुलले ढकमक्क हुने भएपछि पर्यटक पनि यही बेलामा जाने गरेका छन् । ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार, चालु बर्ष यहाँ ३५ हजार बढी पर्यटकले टिकट काटेर प्रवेश गरेका छन् ।




