पोखरा/ पोखरा महानगरपालिका–१२ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्र रानाभाट पक्राउ परेका छन् । बाल यौन दुव्र्यवहारको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी वीरेन्द्र कुमार पासवानका अनुसार रानाभाटलाई शुक्रबार पक्राउ गरी कास्की जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई अनुसन्धान थालिएको छ । पीडित बालबालिकाको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
रानाभाटले बालबालिकालाई विभिन्न प्रलोभन देखाउने, अनुचित प्रस्ताव राख्ने, शरीरका संवेदनशील अंगहरूमा छुने तथा लामो समयदेखि यस्ता व्यवहार दोहोर्याउँदै आएको उजुरीमा भनिएको छ । उनले घटनाबारे कसैलाई जानकारी दिए परिणाम राम्रो नहुने भन्दै बालबालिकालाई डर र धम्कीसमेत दिने गरेका थिए ।
बालबालिकामाथि यस्तो व्यवहार पटक–पटक दोहोरिएपछि पीडितले बाल अधिकारका सरोकारवाला र अभिभावकको सहयोगमा उजुरी दिएका थिए । डिएसपी पासवानका अनुसार अहिले प्रमाण संकलन, पीडित तथा सम्बन्धित व्यक्तिहरूको बयान लिने लगायत प्रक्रिया अघि बढिरहेको छ ।





