पोखरा/ कास्की प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट विभिन्न प्रकारका १ हजार ८४८ एम्पुल लागूऔषध, ५१० विभिन्न प्रतिवन्धित ट्याब्लेट तथा एउटा कार बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लागूऔषध नियन्त्रण ब्युरो, पोखरा र इलाका प्रहरी कार्यालय शिशुवाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा आइतबार राती १० बजे पोखरा महानगरपालिका–३२ मझुवामा पोखरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी५३ईवाई७७०४ को कार चेकजाँच गर्ने क्रममा कारका विभिन्न भागमा लुकाएर राखिएको उक्त लागुऔषध बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।
कारमा डाइजापाम ६०० एम्पुल, फेनरागन ६४८ एम्पुल र बुप्रिनुर्फिन ६०० एम्पुल गरी कुल १ हजार ८४८ एम्पुल लागूऔषध फेला परेको थियो । यसैगरी प्रहरीले कारबाट नाइट्रोभेट ३० चक्की, ट्यापेन्टाडोल १०० चक्की, ट्रामाडोल ३८० चक्की तथा पाँच थान मोबाइलसमेत बरामद गरेको छ।
घटनामा संलग्न भारतको उत्तर प्रदेश, गोरखपुरका विकास कुमार, आशिष कुमार, अभय कुमार मिश्रा, प्रितम कुमार र अविशेक कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।





