
बागलुङ/गाउँपालिकाको सीमित श्रोतले वडा तहमा बढीमा ५०÷६० लाख रुपैयाँ पुग्छ । त्यसैले विकासका काम गर्नुपर्ने बाध्यता छ । तर काठेखोला गाउँपालिका वडा नं. ८ मा भने यो वर्ष झण्डै १० करोडको पूर्वाधार काम भएको छ ।
गाउँपालिकाबाट आएको रकममा मात्र नभइ संघ र प्रदेशबाट विभिन्न योजनाका लागि आएको बजेट सदुपयोग गरेर १० करोडको काम गरिएको वडा अध्यक्ष प्रमानन्द कँडेलले बताए । उनको यो लगानीबाट मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्न पनि सहयोग पुग्ने बताइएको छ ।
राष्ट्रिय राजमार्ग भएकोले मध्यपहाडी लोकमार्गको विभिन्न स्थानमा वैकल्पिक मार्ग चाहिन्छ । लेखानीमा भएको लगानीले विकल्पको रुपमा पनि सहयोग पुग्न थालेको कँडेलले जानकारी दिए । चालु वर्ष मात्र यो वडामा संघ र प्रदेशबाट भित्राइएको १० करोड बढीको रकमबाट सडक पुर्वाधार योजनामा काम गरिएको छ । त्योमध्येको ६ करोड बढी रकम वैकल्पिक सडकमा लगाइएको हो ।
मध्यपहाडी लोकमार्गको काठेखोला गाउँपालिका वडा नं. ६ को सुल्डाँडादेखि गलकोट नगरपालिका वडा नं. १ को चौराहा जोड्ने सडक बनाउँदा लोकमार्गको २३ किमी सडकमा ८ किमी छोटो सडक बनेको हो । काठेखोलाको वडा नं. ८ को लेखानी सेतीचौरदेखि चौराहा जोड्दा सडक छोटो हुनेछ । यो छोटो सडकमा जिप तथा हलुका सवारी संचालन गर्दा गलकोट, बुर्तिवाङ र लोकमार्गबाट पश्चिम हिंडेका गाडीलाई एक घण्टा समय बचत हुने सवारी चालकले बताए ।
यो सडकले वडा नं. ८ को लेखानी र कादेश गाउँबासीले पनि स्तरीय सडक छोटो दुरीमा यात्रा गर्न पाउनेछन् । २०६०÷०६१ मा स्थानीयले चन्दा संकलन गरेर खोलेको ट्रयाक स्तरीय बनाएर वैकल्पिक बनाइएको हो । चालु वर्ष संघ, प्रदेश र पालिकाको लगानी जुटाएर अन्य शाखा सडक पनि स्तरीय बनाइएको कँडेलले बताए ।
वडाभित्रका दर्जन शाखा सडक पनि स्तरीय बनाइएको हो । सुल्डाँडा लेखानी, सेतीचौरतर्फ र सुल्डाँडा लेखानी, कादेश, गाजाको दह जाने सडकमा लगानी केन्द्रीत छ । गाजादह तर्फको सडकले गुल्मीको शान्तिपुर जोड्ने छोटो सडकमा पनि जोडिन लागेको हो । संघिय सरकारको स्थानीय पूर्वाधार विकास आयोजनाबाट चालु वर्ष ५ करोड बजेटमा यो सडकको लेखानी खण्ड स्तरोन्नती भएको हो । स्ट्रक्चर र सडक ग्राभेल गर्ने योजना पुरा गरिएको कँडेलले बताए ।
संघिय सरकारकै समपुरक योजनामार्फत ३ किमी सडक ग्राभेल भैसकेको छ । कादेश सिमडाँडा गाजादह हुँदै गुल्मीको शान्तिपुर जाने सडकको गाजा दहसम्म ट्रयाक खुलेको छ । यो सडकमा स्थानीय तह र पूर्वाधार विकास कार्यलयको ५०÷५० लाख गरी एक करोड लगानी भएको हो ।
डाङगोखोला, छोरेपाटा पिडल्ना सिंचाइ योजनामार्फत् २ करोड ८५ लाखको बजेट स्विकृत भइ कुलो निर्माण भैसकेको छ । यो कुलो बनिसकेपछि सडकलाई पनि सहयोग पुगेको छ । चालुवर्ष ६३ लाख रुपैयाँको काम भैसकेको हो । यो सिंचाइ आयोजना बनिसक्दा लेखानीका अधिकांस खेतमा सिंचाइसमेत पुगेको स्थानीय मनिषा शर्माले जानकारी दिइन् ।
वडाभित्र आधा दर्जन पदमार्ग बनाइएको छ । ती पदमार्गले सबै बस्ती जोडेको छ । कादेश दोबिल्ला मशानघाट जाने पदमार्ग १० लाख लगानीमा सम्पन्न भएको छ । गैरादेखि डल्लेचौर पदमार्गमा ३ लाख, भाटी पँधेरादेखि पुनथरसम्म ६ लाख ५० हजार, पिपलबोटदेखि सेतीचौर पदमार्गमा ५ लाख, बाङगबाज पँधेरादेखि देउरालीसम्म पनि ५ लाख लगानी भएको छ भने मलाग्री टोलदेखि राजुघुम्ती पदमार्गमा ५ लाख लगानीमै काम सकिएको छ ।
पसलटोलदेखि भुमेचौर मोटरबाटो स्तरीय बनाउन १४ लाख ६२ हजार खर्च गरिएको छ । चालु वर्ष लेखानीमा ५ किमी सडक ग्राभेल र ५ सय मिटर ढलान भएको हो ।




