शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तरामीमगरको पुस्तैनी पर्व ‘असारे’

तरामीमगरको पुस्तैनी पर्व ‘असारे’

वि.सं १७६६/६७ तिर डोल्पाबाट बसाइँ सरेर आउनुभएका तरामीमगरले थातथलो बसाएको ताराखोला गाउँपालिका वडा नं. ४ र ५ मा असारे पर्व विशेष रुपमा मनाइन्छ । बलि र पूजापाठ वडा नं. ४ को तारागाउँ र मेला भने वडा नं. ५ को करिमेलामा लाग्ने गर्छ ।


  • ढोरपाटन संवाददाता
  • असार ३० २०८३, मंगलबार

असारे पर्वमा सांस्कृतिक झाकी प्रस्तुत गरिदै । तस्विर : मिस्टर खिन म्यान

बागलुङ/पश्चिम बागलुङमा पर्ने ताराखोला जैविक गाउँपालिकाको रुपमा परिचित छ । यो पालिका स्रोत साधनसंगै कला संस्कृतिले पनि धनी मानिन्छ । असारे, भदौरे, सिस्नो खोस्ने र भुस पोल्ने पर्व यहाँका सांस्कृतिक धरोहर हुन् । ताराखोलाका मगर समुदायले राघे, माघेसङ्क्रान्ति र श्रीपञ्चमी पर्वलाई पनि विशेष रुपमा मनाउने गर्छन् ।

बर्सेनि असार महिनामा यहाँ असारे पर्व मनाइन्छ । असारे तरामीमगरको पुस्तैनी पर्व हो । असारे पर्व शुरु भएपछि ताराखोलाको करिमेलामा रौनक छाएको छ । असारे पर्वलाई खुसी साट्ने, मीठो–मसिनो खाने, प्रकृति र देउता पुज्ने पर्वका रुपमा लिइन्छ ।

नयाँपुस्ताले असारे मेलाका रुपमा संस्कृति धाने पनि जनबोलीमा भने असारे प्रचलित छ । बर्खाको खेतीपाती भ्याएर विश्राम लिन असारे बस्ने गरिएको बूढापाका बताउँछन् । आराम र मनोरञ्जनका लागि असारे पर्व सुरु भएको विश्वास गरिन्छ ।

बर्खे झरीको बेवास्ता गर्दै ताराखोलाबासीले असारे पर्वलाई हर्षाेउल्लासका साथ मनाउने असारे सांस्कृतिक संरक्षण मञ्चका अध्यक्ष ओमबहादुर रोकाले बताए ।

स्थानीय झकबहादुर घर्तीले डोल्पाको ताराभोटबाट आएका पूर्वजले असारे पर्वको चलन बसालेको स्मरण गर्छन् । ‘‘असारको उजेली पक्ष पारेर पर्व सुरु हुन्छ” घर्तीले भने, “पूजाआजा गर्ने, बलि चढाउने परम्परा छ ।” पर्वको अघिल्लो दिन गहुँ, चामलको रोटी खाने र भोलिपल्ट बूढापाकाले लठ्ठो बाट्ने, युवाले पिङ राख्ने चलन छ ।

असारेलाई साँचेर तरामीमगरको कूल घरमा राखिएको जमरालाई त्यही पिङमा चढाउने र वाचा बाँध्ने गरिन्छ । गाउँलेले मेलालाई ‘असारे बस्ने’ भनेर पनि चिन्छन् । असारे बसेका बेला खेतीपातीको काम गर्न नहुने मान्यता छ । वर्षातमा बाढी पहिरोजस्ता प्रकोप नहोस्, रोगव्याधी नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै प्रकृतिको पूजा गरिन्छ ।

यो पर्वमा मुखियाको घर (हेम्थो घर) को बारीमा रहेको थानमा राँगाको बलि समेत दिने गरिन्छ । “पहिलेपहिले यहाँ आउँदा बालबालिका हराउने गरेको र पछि ढुङ्गामा बलि चढाएर पूजा गर्न थालेपछि हराउन छाडेको भन्ने धार्मिक विश्वास छ” घर्तीले भने ।

वि.सं १७६६/६७ तिर डोल्पाबाट बसाइँ सरेर आउनुभएका तरामीमगरले थातथलो बसाएको ताराखोला गाउँपालिका वडा नं. ४ र ५ मा असारे पर्व विशेष रुपमा मनाइन्छ । बलि र पूजापाठ वडा नं. ४ को तारागाउँ र मेला भने वडा नं. ५ को करिमेलामा लाग्ने गर्छ ।

असारे ताराखोलाको ऐतिहासिक र सांस्कृतिक महत्वको पर्व भएको क्लबका अध्यक्ष रोकाले बताए । रोकाका अनुसार, तारागाउँस्थित थानमा पूजाआजा गरेपछि करिमेलामा सांस्कृतिक तथा खेलकुद कार्यक्रम हुने गर्छन् । मेलामा भलिबल, मौलिक नृत्य, रस्साकस्सी, धनुषवाण, भाले छुने र छेलोलगायतका प्रतियोगिता आयोजना गरिएको छ ।

असारे पर्वमा लाग्ने मेलामा युवायुवती पिङ खेल्ने, मीठा परिकार खाने, असारे गीत तथा नाचमा रमाउने गर्छन् । खेतीपातीपछि आराम गर्ने, आफन्त र मित्रजनसँग भेटघाट हुने अवसरका रुपमा समेत लिइन्छ । मेला भर्न हिल, अर्गल, हटिया, हरिचौर, तमान, खुङ्गा, म्याग्दीको रुम, निस्कोट, किमचौरबाट समेत सर्वसाधारण मेला भर्न आउँछन् ।

ताराखोलाको अर्गल, हिल, अमरभूमिलगायतका गाउँमा पनि बर्खे मेला लाग्ने गर्छ । पाल्पाको अर्गली र डोल्पाको ताराभोटबाट बसाइँसराइ गरी आएका मगरका पूर्वजले मेला पर्वको चलन बसालेको अध्यक्ष रोकाले जानकारी दिनुभयो । २४ गतेदेखि शुरु भएको असारे पर्व ३० गते मंगलबारसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->