पोखरा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले आइतबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्,‘अव्यवस्थित पार्किङको पीडा बुझाउन मिडिया हाउसअगाडि गाडी पार्क गरेर सरकारले गरेको सांकेतिक विरोध मलाई मन प¥यो । अरूले भोगिरहेको समस्या आफैँले एकपटक अनुभूति गर्नु कहिलेकाहीँ आवश्यक हुन्छ ।
अब सरकार अर्को कदम पनि चालोस् । सुकुम्बासी बस्तीमा केही दिन कुनै मन्त्रीको सन्तानलाई बस्न दिऊँ । तब सायद मन्त्रिपरिषद्ले वास्तविकता अनुभूति गर्नेछ । भोको पेटमा बच्चाले कुहिएको चिउरा र दालमोट खाँदा कस्तो लाग्छ ?आफ्नो बच्चा झरीमा भिजेको लुगा लगाएर कठ्याङ्ग्रिँदा कस्तो महसुस हुन्छ ? नीति बनाउनेहरूले तथ्य मात्र होइन,जनताको जीवन पनि नजिकबाट देख्नुपर्छ । किनभने अनुभूतिबाट बनेका निर्णयहरू प्रायः कागजमा बनेका निर्णयभन्दा धेरै मानवीय हुन्छन् ।’
उनको लेखाइमा दममात्र छैन,सोमबार बिहान देशका नाम चलेका कान्तिपुर, अनलाइन खबर, हिमालयन टिभी लगायत मिडिया हाउसको गेट अगाडि सवारी आवागमन नै प्रभावित हुने गरी शंकास्पद रूपले गाडी पार्क गर्ने काम सरकारबाटै भएको पनि जिकिर गरेका छन् ।
सोमबार बिहानैदेखि भएको हर्कतमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताको हात रहेको विभिन्न तथ्यहरुले पुष्टि गरिसकेपछि उनको भनाइलाई अस्वभाविक मान्न मिल्दैन ।
सोमबार एकाबिहानै तीनकुनेस्थित कान्तिपुर मिडियाको गेट अगाडि झन्डै ६ बजेतिरै बा प्रदेश ०१ ०३४ च ८४८० नम्बरको गाडी पार्क गरी अलपत्र छाडिएको अवस्थामा भेटिएको गाडी रवि जयसवाल भन्ने व्यक्तिले चलाउने गरेका थिए । उनी रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य थिए । बुद्धनगरस्थित अनलाइनखबरको अफिस अगाडि रोकिएको बा १२ च ८५४५ नम्बरको गाडी सुनील पौडेलको नाममा रहेको छ भने हिमालयन टेलिभिजन अगाडि राखिएको बा १० च १२५५ नम्बरको गाडी डिआर अटोमोटिभ्स, धुम्बाराहीको नाममा रहेको देखिएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा तथा भाटभटेनी सुपर मार्केटको अगाडि पनि त्यसरी नै गाडी छाडेको पाइएको छ ।
यी गाडीहरु प्रहरीले क्रेन लगाएर हटाएको छ तर यस्तो ‘हर्कत’ कसको उक्साहटमा किन भयो भन्ने प्रष्ट तस्वीर आइसकेको छैन । तर, आशंकाको सुइ राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा समूहतर्फ सोझिएको छ । अराजकता मच्चाउन र संचार माध्यमलाई त्रासमा पार्नमा निम्ति यस्तो हर्कत गरिएको नेपाल पत्रकार महासंघको ठम्याइ छ ।
प्रहरीले घटनाको छानबिन गर्ला,सत्य–तथ्य बाहिर आउला तर सोमबार जे भएको छ, त्यसले देश अराजकतातर्फ उन्मुख भएको संकेत दिएको छ । राज्य स्वयं ‘स्वेत आतंक’मा उत्रेको संकेतको रुपमा पनि यो घटनालाई हेरिएको छ । अनलाइनखबरका प्रधान सम्पादक वसन्त बस्नेतले राज्यको निकट रहेका मान्छेहरुको प्रोत्साहन बिना यस्तो हुनै नसक्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी स्वयंले प्रेस विज्ञप्तिमार्फत् घटनाको छानबिनको माग गरेको छ । तर प्रश्न यो छ कि, आखिर देश कसले चलाइरहेको छ ? पञ्चायतकालीन समयको झल्को दिने गरी के देश साँच्चै ‘भूमिगत गिरोह’को हातमा छ ? रास्वपा नेतृत्वबाट देशले यो प्रश्नको उत्तर खोजेको छ ।
केही दिनयता सरकार र यसका मन्त्रीहरुले जे कृत्य गरेका छन्, त्यसले लोकतन्त्रको हुर्मत लिन खोजेको देखिएको छ । ‘म नै राज्य हूँ’ भन्ने भाव बोकेका प्रधानमन्त्रीका गतिविधि तथा पार्टीसँग उनको झिनो सम्बन्धका कारण पनि यहाँ रास्वपाको विज्ञप्तिमात्र काफी हुँदैन । यो घटनामा प्रधानमन्त्री बालेन्द्र शाहले मुख खोल्नुपर्छ । आशंका गरिएजस्तै यो घटनामा आफू वरपरका मान्छे नभएकोमा आम संचारलाई विश्वस्त तुल्याउनु पर्छ । अकण्टक देश चलाउने सोचबाट रास्वपाको एउटा पंक्ति मुक्त हुनुपर्छ ।





