पोखरा/ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तरगत नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा पोखरामा निर्मित पालिकास्तरीय कृषि तथा पशुपन्छी सेवा केन्द्र पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । आयोजनाको बुटवल कार्यालयका प्रमुख डा.उत्तम आचार्यले उक्त केन्द्रको भवन, उपकरण तथा अन्य पूर्वाधारहरू पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई मंगलबार हस्तान्तरण गरेका हुन् ।
कृषक तथा कृषि पेसामा आबद्ध उद्यमी व्यवसायीहरूलाई प्रयोगशाला सम्बन्धी सेवा सुविधा उपलब्ध गराउने उद्देश्य केन्द्र निर्माण गरी पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको आयोजनाका निर्देशक डा.आचार्यले बताए । उनका अनुसार केन्द्रमार्फत् उत्पादक तथा खरिदकर्ताबीचको बजार सम्बन्धको प्रवद्र्धन तथा उद्यमशीलता विकासको लागि सहयोगी वातावरण निर्माणमार्फत् ग्रामीण उद्यम विकासमा मद्दत पुग्नेछ ।
नगर प्रमुख धनराज आचार्यले कृषकलाई गुणस्तरीय र वैज्ञानिक कृषि उत्पादनतर्फ उन्मुख गराउन केन्द्र मार्फत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार माटो, पानी, बिउ, मल, रोग तथा कीराको परीक्षणबाट खेतीका लागि आवश्यक पोषक तत्व, उपयुक्त बाली, मलको मात्रा तथा रोग नियन्त्रणका वैज्ञानिक उपायबारे यथार्थ जानकारी प्राप्त गर्न सहज हुनेछ । प्रयोगशाला सेवा समयमा नै प्राप्त गर्ने अवस्थाले कृषिमा उत्पादन लागत घट्ने, उत्पादन तथा उत्पादकत्व बढ्ने, रोगको जोखिम कम हुने र कृषकको आम्दानी वृद्धि हुने उहाँले विश्वास व्यक्त गरे ।
महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार कृषिको व्यावसायिक विकासका दृष्टिले यस्ता प्रयोगशालाले सुरक्षित, गुणस्तरीय र बजारमुखी उत्पादन प्रवद्र्धन गर्न महत्वपूर्ण टेवा पु¥याउने छ । साथै वैज्ञानिक परीक्षणका आधारमा उत्पादन गरिएका कृषि तथा पशुजन्य वस्तुको गुणस्तर सुनिश्चित हुँदा उपभोक्ताको विश्वास बढ्नुका साथै आन्तरिक तथा बाह्य बजारमा प्रतिस्पर्धा गर्न सहज हुने उनले बताए ।
प्रयोगशालाबाट प्राप्त तथ्याङ्क र अनुसन्धानका आधारमा प्रभावकारी कृषि नीति, कार्यक्रम र अनुदान योजनाहरू सञ्चालन गर्न सकिनेछ । प्रयोगशालाको उपयोगबाट महानगरमा आधुनिक प्रविधिमा आधारित उत्पादन प्रणालीलाई प्रवद्र्धन गर्दै दिगो, व्यावसायिक र प्रतिस्पर्धी कृषि विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । २ करोड ५३ लाख ५७ हजार १४६ रुपैयाँको लागतमा निर्माण गरिएको केन्द्रमा २ वटा प्रयोगशाला रहेका छन् ।





