पोखरा/पोखरा महानगरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत् सञ्चालन गरिएका विभिन्न सीपमूलक तालिम पूरा गरेका २०२ जना प्रशिक्षार्थीलाई योग्यताको प्रमाणपत्रसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
मन्टेशरी, ब्युटिसियन, केयरगिभर, बारिस्टा, कुक, वेट्रेस, सिलाइ–कटाइ लगायतका विभिन्न व्यावसायिक तथा सीपमूलक तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीलाई प्रमाणपत्र दिइएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उनीहरुलाई प्रमाणपत्र दिँदै सीप नै आत्मनिर्भरता, स्वरोजगार र आर्थिक समृद्धिको आधार भएको बताए ।
पोखरा महानगरपालिकाले चार वर्षअघि स्थापना गरेको व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत् सीप विकास, रोजगार प्रवद्र्धन तथा क्षमता अभिवृद्धिका विविध तालिम र गोष्ठीहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ । चालु आर्थिक वर्षमा मात्रै केन्द्रले ४६२ जनालाई सीपमूलक तथा ३०० जनालाई क्षमता विकाससम्बन्धी तालिम प्रदान गर्दै कुल ७६२ जनालाई लाभान्वित गरिसकेको केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार केन्द्र स्थापना भएदेखि हालसम्म हजारौं नागरिकले विभिन्न व्यावसायिक तथा उद्यमशीलतामूलक तालिम प्राप्त गरेका छन् ।





