बागलुङ/खोला तर्ने क्रममा एक महिला बेपत्ता भएकी छन् ।
मंगलबार दिउँसो करिब १ बजेट बागलुङको काठेखोला गाउँपालिका वडा नं. ७ र ८ को सिमानामा पर्ने रेशखोला तर्ने क्रममा गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ३ टेगा घर भएकी ४५ वर्षिय मिना कार्कीलाई खोलाले बगाउँदा बेपत्ता भएकी हुन् ।
खोलाले बगाई बेपत्ता हुनुभएकी कार्कीलाई स्थानीयले तत्काल खोजतलास गर्दा पनि फेला पार्न नसकेपछि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
खोलामा बेपत्ता कार्की श्रीमान टिका बहादुर गन्धर्वसंग घुम्न आएको प्रहरीले जनाएको छ । काठेखोला–८ लेखानीका वडा सदस्य गोपाल पुनले कार्कीलाई खोलाले बगाएको जानकारी गराएलगत्तै प्रहरी चौकी बिहुँको टोली खोजतलासमा खटिएको थियो ।
मंगलबार दिनभर खोजकार्य गर्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चिरञ्जिवी अधिकारीको नेतृत्वमा १० जना र सशस्त्र प्रहरी बल गुल्मबाट सहायक प्रहरी नायव निरीक्षक भद्रे बुढाको नेतृत्वमा १० जनाको टोली खोजीकार्यमा जुटेको प्रहरी नायव उपरिक्षक त्वातीले जानकारी दिए ।





