पोखरा/पोखरा महानगरपालिकाभित्रका विद्युत् तथा सञ्चारका तार भूमिगत गर्ने परियोजना अन्तिम चरणमा पुगेको छ ।
पोखराका मेयर धनराज आचार्यका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म, सभागृहदेखि न्यूरोड हुँदै मुख्य सहरी क्षेत्रका करिब २५ किलोमिटर क्षेत्रमा भूमिगत नेटवर्क निर्माणको ८० प्रतिशत काम सकिएको हो ।
उनले विद्युत् र सञ्चारका अव्यवस्थित तारहरू भूमिगत भएपछि पोखराको सौन्दर्य, सुरक्षा, विश्वसनीय विद्युत् सेवा तथा आधुनिक सहरी पूर्वाधारमा उल्लेखनीय सुधार आउने बताएका छन् ।
पोखरामा तार भूमिगत गर्ने कामको सुरु २०७८ सालमा भएको हो । दुई वर्षमा सक्ने गरी भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले २०७८ माघमा निर्माणको जिम्मा पाए पनि ठेक्का सम्झौता भएको १५ महिनापछि बल्ल आयोजनाको काम सुरु थियो ।
परियोजना प्रमुख आनन्द सुवेदीका अनुसार पोखरा–मुग्लिन सडक आयोजनाले अनुमति नदिएका कारण पनि केही समय मुख्य राजमार्ग क्षेत्रमा तार भूमिगत गर्न समस्या भएको थियो ।
आयोजनाअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेश मार्गदेखि कुँडहरचोक, अमरसिँहचोक, पृथ्वीचोक हुँदै जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैंकचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गागायत क्षेत्रमा तार भूमिगत गरिँदै छ ।
परियोजनाले विद्युतसँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गरेको छ । तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणको यो परियोजना एक अर्ब ३० करोडको हा्े ।
पोखरा सहरभरिको तारलाई भूमिगत गर्न भने ५ अर्ब बढी बजेट चाहिने अनुमान छ । २०७८ सालमा गरिएको अनुमान अझ रकम बढ्ने पनि परियोजनाका एक इञ्जिनियरले बताए ।
परियोजना प्रमुख आनन्द सुवेदीका अनुसार प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार विछ््याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरेको छ भने ठाउँ–ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पु¥याइने व्यवस्था मिलाइएको छ । पोखरा वितरण केन्द्रअन्तर्गत विद्युतका ९४ हजार एक सय ६५ ग्राहक छन् । यो देशकै ठूलो ग्राहक भएको वितरण केन्द्र पनि हो ।





