
पोखरा/ पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रभित्र बसोबास गरिरहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको व्यवस्थापन प्रक्रिया अघि बढाएको छ। यसका लागि गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन महानगरपालिकाले ग्रहण गरेसँगै व्यवस्थापनको कार्यतालिका सार्वजनिक गरिएको हो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार बसपार्क क्षेत्र खाली गर्ने उद्देश्यसहित आगामी दिनमा चरणबद्ध रूपमा प्रक्रिया अगाडि बढाइनेछ। उनले पहिलो चरणमा सहजीकरण समितिसँग छलफल गरी छानबिन प्रतिवेदनबारे जानकारी गराइने बताए ।
असार ३२ गते र साउन १ गते वास्तविक घरधुरी विवरण तथा प्रतिवेदनमा समावेश तथ्याङ्कको मिलान गरिनेछ। मिलान सम्पन्न भएपछि साउन २ गते सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ। उक्त नामावलीउपर सुझाव, दाबी तथा विरोधका लागि सात दिनको समय प्रदान गरिने महानगरले जनाएको छ।
सातदिने अवधि सकिएपछि अन्तिम नामावली प्रकाशित गरिनेछ। अन्तिम नामावलीका आधारमा सम्बन्धित परिवारलाई स्थानान्तरण गरिने स्थान यथाशीघ्र देखाइने र स्थान देखाएको मितिबाट सात दिनभित्र हाल बसोबास गरिरहेको बस्ती खाली गर्ने प्रक्रिया सुरु गरिने कार्यतालिका तय गरिएको छ।
महानगर प्रमुख आचार्यले सम्पूर्ण प्रक्रिया व्यवस्थित, पारदर्शी र न्यायोचित ढंगबाट सम्पन्न गरिने उल्लेख गर्दै सम्बन्धित सबै पक्षसँग सहयोग र सहकार्यको अपेक्षा गरेका छन् । बसपार्क क्षेत्रभित्र बसोबास गरिरहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारहरूको व्यवस्थापन गरी बसपार्क क्षेत्र खाली गर्ने प्रयोजनका लागि गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन केही दिन अघिमात्र महानगर प्रमुखलाई बुझाएको थियो ।





