पोखरा/ नेपाली कांग्रेसले प्रदेशहरुमा नेकपा एमालेसँगको सहकार्य तोड्ने निर्णय गरेपछि त्यसको तरंग गण्डकी प्रदेशमा देखिएको छ । तर सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच हालसम्म कुनै पनि प्रकारको दरार उत्पन्न नभएको र केन्द्रबाट निर्देशन पनि नआएकाले तत्काल सत्ता परिवर्तन हुने यकिन भने छैन् ।
यसैबीच नेकपा एमाले गण्डकी संसदीय दलको बैठक आज अपरान्ह ५ बजे बस्दैछ । बैठकमा नेपाली कांग्रेसको पछिल्लो निर्णयपछिको समसामयिक राजनीतिक अवस्था र सरकारमा पार्टीको सहभागिताका विषयमा छलफल हुने जनाइएको छ । एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारीले बैठक भए पनि मुख्य एजेन्डा सरकारसम्बन्धि नरहेको दावी गरे । ‘हामी स्थिरताको पक्षमा छौ, अरुले के गर्छन, भन्छन् भन्ने विषयमा धेरै चासो राखेका छैनौ’, अधिकारीले भने, ‘हाम्रो ध्यान सरकारमा रहीरहने वा बाहिरिने भन्नेमा छैन । पार्टी सदस्यता नविकरणलगायत धेरै विषयमा छलफल हुन्छ । बैठकमा कांग्रेसले गरेको निर्णयबारे पनि छलफल हुनसक्छ ।’
अधिकारीले स्पष्ट रुपमा यो कुरा नराखे पनि एमाले स्रोतका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था (कांग्रेससंगको गठबन्धन) का विषयमै छलफल हुने छ ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक प्रकाश बरालले गण्डकीमा दलहरुबीच कुनै पनि प्रकारको मनमुटाव नभएको बताए । ‘हिजो पनि राजनीतिक निर्णयका आधारमा एमालेसंग मिलेर सरकार बनाएका हौँ, अव पनि राजनीतिक निर्णय जस्तो हुन्छ सोही अनुसार अघि बढ्ने हो’, बरालले भने, ‘अहिलेसम्म पार्टीको आधिकारिक निर्देशन वा निर्णय केही आएको छैन् । नआएसम्म अहिलेकै गठबन्धन यथावत् रहन्छ ।’
कांग्रेससंगको गठबन्धन तोड्नु हुदैन– पूर्वमन्त्री पाठक
यसैबीच एमाले नेता एवं पूर्वमन्त्र कृष्णप्रसाद पाठकले कांग्रेस र एमालेबीच सुमधुर सम्बन्धका साथ सरकार सञ्चालन भइरहेकाले गठबन्धन तोड्न नहुने बताएका छन् । सुदुरपश्चिम प्रदेशमा बजेटको किचलोका कारण अहिलेको परिस्थिति उत्पन्न भएको भन्दै पाठकले अन्य प्रदेश र गण्डकीको अवस्था फरक रहेको जनाए ।
‘स्थिर सरकारका लागि पनि कांग्रेस र एमालेबीचको गठबन्धन तोड्नुहुदैन भन्ने मेरो व्यक्तिगत धारणा हो’, पाठकले ढोरपाटनसंग भने, ‘पटकपटक मुख्यमन्त्री, सरकार परिवर्तन गरेर भागवण्डा पुराएको भन्ने आलोचनालाई मध्यनजर राख्दै अहिलेकै सरकारलाई निरन्तरता दिनु आवस्यक छ ।’ अन्य पार्टीसंगको सहकार्यमा बन्ने सरकार अस्थिर हुने उनको भनाई छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकै नेतृत्वमा आगामी निर्वाचनसम्म मिलेर जाँदा राम्रो हुने भन्दै पाठकले आफ्नो व्यक्तिगत धारणा राखे । उनले संसदीय दलको बैठकले गर्ने निर्णय मान्य हुने पनि बताए ।





