पोखरा/पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रद्वारा सञ्चालित बालश्रम न्यूनीकरण, सामुदायिक विकास, जीविकोपार्जन तथा शिक्षा परियोजनाहरूको सामाजिक परीक्षण असार ८ गते सम्पन्न भएको छ ।
संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल प्रमुख अतिथि थिए ।
कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख चण्डिका पौडेल, गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारी, पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी बेलकुमारी गुरुङ, राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले, प्रहरी निरीक्षक शिशिर भट्टराई, बिन्ध्यवासिनी माध्यमिक विद्यालयका प्राचार्य वसन्तराज पाण्डे, किडासाका वित्त नियन्त्रक वसन्तराज पराजुली, रमेश बास्तोला, इन्सेक गण्डकीका संयोजक गणेश भण्डारी, समृद्धि सप्लायर्सका ध्रुव पोखरेल, पत्रकार श्याम कुँवर, सामाजिक विकास केन्द्रकी लेखा तथा प्रशासन प्रमुख सरिता ताम्राकार, परियोजनाका कर्मचारी तथा विभिन्न सरोकारवाला र अधिकारकर्मीको उपस्थिति रहेको संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् ।
कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी तथा सामाजिक परीक्षक दीपेन्द्र श्रेष्ठले सञ्चालित परियोजनाहरूको सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा सम्पन्न कार्यहरूको समीक्षा, प्राप्त सुझाव तथा आगामी दिनमा गर्नुपर्ने कामबारे व्यापक छलफल भएको थियो ।
सामाजिक परीक्षणका क्रममा उठेका विषय समेटिएको प्रतिवेदन बुधबार सामाजिक परीक्षक दीपेन्द्र श्रेष्ठले संघका अध्यक्ष गोकर्ण कार्कीलाई हस्तान्तरण गरे । प्रतिवेदन हस्तान्तरण गर्दै श्रेष्ठले बालश्रममुक्त पोखरा निर्माणका लागि स्पष्ट रणनीतिक मार्गचित्र, नीतिगत ढाँचा र कार्ययोजना आवश्यक रहेको बताए । उनले पोखरा उद्योग वाणिज्य संघको सामाजिक विकास केन्द्रले पोखरा महानगरपालिका, प्रदेश सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारवाला र गैरसरकारी संस्थासँग समन्वय गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने र निरन्तर संवाद तथा सहकार्यमार्फत रणनीतिक मार्गचित्र तयार गर्नुपर्नेमा जोड दिए ।
प्रतिवेदन बुझ्दै संघका अध्यक्ष गोकर्ण कार्कीले प्राप्त सुझाव कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले बालश्रमजस्तो निकृष्ट सामाजिक विकृति अन्त्य गर्न संघले कुनै कसर बाँकी नराख्ने बताए ।





