पोखरा / नेपालमा आयोन, एक्सपेङ र डाइुन विद्युतीय सवारीसाधनका आधिकारिक वितरक सीजी मोटर्सले पोखरामा नयाँ मल्टिब्रान्ड आउटलेट सञ्चालनमा ल्याएको छ।
गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्री भीमबहादुर काकीको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित कार्यक्रममा आउटलेटको उद्घाटन गरिएको हो। नयाँ आउटलेटमार्फत ग्राहकले एउटै छानामुनि विश्वप्रसिद्ध तीन विद्युतीय सवारी ब्रान्डका आधुनिक मोबिलिटी समाधानको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।
सीजी मोटर्सले उपत्यकाबाहिर पनि विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्ने आफ्नो प्रतिबद्धताअनुसार पोखरामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार यस विस्तारले नेपालमा स्मार्ट, दिगो तथा प्रभावकारी विद्युतीय यातायात प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ। उद्घाटन कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष दिपेन्द्र कोइरालाले उपत्यकाबाहिर विद्युतीय सवारीको बजार विस्तारमा सीजी मोटर्सले खेलेको भूमिकाको प्रशंसा गरे। उनले यस्तो विस्तारले गण्डकी प्रदेशमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्ने विश्वास व्यक्त गरे।

ग्राहक–केन्द्रित अवधारणामा निर्माण गरिएको आउटलेटमा सवारी अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राइभ तथा बिक्रीपछिको सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ। उद्घाटन समारोहमा मन्त्री काकीले गुणस्तरीय सेवा र दीर्घकालीन ग्राहक सम्बन्ध निर्माणमा कम्पनीले दिएको प्राथमिकताको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरे। साथै नेपाली सडक सुहाउँदो विद्युतीय सवारी साधन निर्माणका लागि कम्पनीसंग आवस्यक सल्लाह गर्नुपर्नेमा उनले जोड दिए । विद्युतीय सवारी साधनको प्रयोगले वातावरणमा सकरात्मक प्रभाव पार्ने उनले उल्लेख गरे ।
हाल देशभर २६० भन्दा बढी चार्जिङ स्टेशनको सञ्जाल विस्तार गरिसकेको सीजी मोटर्सले ग्राहकलाई सहज, भरपर्दो र सुलभ चार्जिङ सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीका अनुसार यही पूर्वाधारले नेपालमा विद्युतीय सवारीको प्रयोगलाई थप सहज बनाउन सहयोग पुर्याइरहेको छ।
सीजी मोटर्सका सहायक महाप्रबन्धक कञ्चन सिलवालले कम्पनीले विद्युतीय सवारी क्षेत्रमा सेवा विस्तारलाई निरन्तरता दिने बताए। कार्यक्रममा करिब १५० जना ग्राहक तथा सरोकारवालाको सहभागिता रहेको थियो। सो अवसरमा नयाँ सवारी खरिदकर्तालाई सवारी हस्तान्तरणसमेत गरिएको कम्पनीले जनाएको छ।





