शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

अन्नपुर्ण बेसक्याम्पको अविस्मरणीय यात्रा

अन्नपुर्ण बेसक्याम्पको अविस्मरणीय यात्रा


  • कुलराज सुवेदी
  • साउन १ २०८३, शुक्रबार

म घुमफिर मनपराउने मान्छे । सरकारी सेवामा रहेकोले जागिरकै सिलसिलामा पनि थुप्रै ठाउ पुगेको छु । फुर्सद हुँदा साथीभाइहरुसंग पनि घुमफिरमा निस्किहाल्छु । प्राकृतिक दृश्यहरुको अलावा यात्राको क्रममा भेटिने विविध भाषा, संस्कृती अनि रहनसहनले मलाई आकर्षित गर्दछ । हरेक यात्रापछि मैले आफुमा नयाँ उर्जा र प्रेरणा पाउछु । केहि समय यता भने मलाई नेपालको हिमाली क्षेत्रको लामो पदयात्रामा जाने इच्छा जागिरहेको थियो । तँ आँट म पुर्याउँछु भनेझैं गत साल अमेरिकाबाट साथी राजुले आफु दशैंको छेको पारेर नेपाल आउन लागेको र सोही मौकामा अन्नपुर्ण बेसक्याम्प घुम्न जाने प्रस्ताव राखे । मैले एकै बचनमा हुन्छ भने ।

तर दशैं लाग्दानलाग्दै भयंकर वर्षा भएर सडक अवरुद्व भयो । काठमाडौंबाट दशैं मनाउन बुटवल जानुपर्ने हामी पोखरा, स्याङ्जा, पाल्पा हुँदै बुटवल पुग्यौं । यताउता गर्दागर्दै दशैं पनि आईपुग्यो । फुपुदिदि यसैसाल बित्नुभएकोले बुवाआमा आफुहरुले टिका लागाउनुभए, तर हामीहरुलाई लगाईदिनुभयो । धेरै दिदिबहिनी भएकोले दशैमा हाम्रो घरमा परपाहुना बढि हुन्छन। पुर्णिमा सम्मनै घरमा दिदिबहिनी र ज्वाँईचेलाको भिडभाड हुन्छ ।

दशैं त सकियो तर मौसम अझै पुर्ण रुपमा खुलेन । भर्खर भएको जेनजी आन्दोलनले राजनीति सङ्क्रमणमै रहेकोले अझै हिंसा हुन्छ कि भन्ने डर थियो । दशैंको पर्सिपल्ट असोज १८ गते हिंड्ने भनेका हामी बल्ल तल्ल २१ गते बिहान बुटवलबाट पोखरातर्फको यात्रामा अगाडि बढ्यौं ।

हाम्रो टोलीमा बुटवल बहुमुखी क्याम्पसमा प्रविणता प्रमाणपत्र तह अध्ययन गर्दाका ब्याचमेट राजु न्यौपाने, कमल ज्ञवाली, केशव सापकोटा, दिवाकर ढकाल र म थियौं । बिहान ७ बजेतिर बुटवल छाडेका हामी गाडीबाटै सिद्दबाबा मन्दिरको दर्शन गरि अगाडि बढ्यौ । सिद्दबाबा र दोभान बिचको भिरमा सुरुङ मार्गको काम हुँदै थियो । अपेक्षाकृत रुपमा छिटै काम भैराखेको यो सुरुङ मार्ग सञ्चालनमा आएपछि यो खञ्डमा वर्षेनि पहिरोमा परि हुने जिवनको क्षति पक्कै पनि कम हुने छ ।

बर्तु्ङ, आर्यभञ्ज्याङ, गल्याङ, वालिङ, स्याङ्जा हुँदै हामी २ बजेतिर पोखरा पुग्यौं । सबै साथीहरुका ब्याग प्याक तयारी नै थिए । लेकसाइडमा गएर एकजोडी लठ्ठीको प्रतिदिन रु. २०० भाडा बुझाउने गरि ५ जोडी लठ्ठी लियौं । साथी केशवले फोनबाटै भाडाको स्कर्पियो गाडीको प्रवन्ध गरेका थिए ।४ बजेतिर पोखरा छाडि हेम्जाको भाइरल सडक हुँदै हामी अगाडि बढ्यौं । चालकले नयाँपुल भन्ने ठाउँबाट पोखरा बागलुङ सडक छाडि ग्रामिण सडक समाते जुन बाटो मोदीखोलालाई दाहिने पारेर किनारै किनार अगाडि बढि घान्द्रुकभन्दा केहि तलबाट जाने रहेछ । ६ बजेतिर हाम्रो गाडी अन्तिम स्टेशनमा रोकियो । सबैले आ–आफ्ना पोका पन्तुरा बोक्यौ । मौसम सफा थियो, केहि तल लामो झलुङ्गे पुल र त्यो पारी झिनु गाउँ थियो जहाँ हामी बास बस्दै थियौं । सबै जना अत्यन्त उत्साहित थियौं । अबको ५ दिन पदयात्राको लागि संसारभरि नै सबैभन्दा लोकप्रिय एबिसि ट्रेकको यात्रामा हुनेछौं भन्ने कुराले मन अत्यन्तै फुलेल भएको थियो ।

हाम्रो पदयात्राको पहिलो दिनको बास १,८०० मिटर उचाईको तल्लो झिनु भन्ने स्थानमा भयो । साबिकमा घान्द्रुक गाबिस वडा नं. ९ मा पर्ने यो गाउँ हाल अन्नपुर्ण गा.पा. वडा नं. ११ मा पर्ने रहेछ । यस गाँउमा धेरै घरहरु थिएनन् । सबै घरमा लज चलाइएको थियो । पदयात्राको लोकप्रिय रुट भएको हुँदा होटलहरु र तिनीहरुको सेवा व्यावसायिक थियो । हामी बसेको नमस्ते झिनु होटलकी साहुनी गुरुङसेनी बैनीहरु फरासिला थिए । माथि लागेपछि ड्रिंङ्कस गर्नु हुँदैन भनेर साथीहरुले याकको सुकुटीसंग कोदाको लोकल रक्सी खाएर रमाईलो गरे । म परे रक्सी नखाने, तर याकको सुकुटी भने स्वादिलो मानेरै खाए । केहिबेरको रमाईलो पछि खाना खाएर सुत्यौं ।

साथीहरु बिहान ४ नबज्दै उठेपछि म पनि बिउँझिए । बिहानको नित्यकर्म सकेर होटलमा बिदावादी भई ५ बजेको झिसमिसेमै हाते टर्चको उज्यालोमा हामीले यात्रा शुरु गर्यौ । सुरुमै ठाडो उकालो रहेछ । हामी सबेरै हिंडेको र घाम नलागेकोले त्यत्ति गाह्रो भने भएन । चट्ट मिलाएर बनाएका सिँढी थिए, ठाउँठाउँमा भारी बिसाउने चौतारी अनि कादुरीले बनाएका खानेपानीका धारा । झन्डै २ घण्टामा छोम्रोङ गाउँ पुग्यौं । ठिक्क घाम लाग्ने बेला हामी त्यहाँ पुग्दा सम्मुखमै माछापुछ्रे र अन्नपुर्ण हिमाल सुर्यको बिहानी किरणले चाँदी जस्तै टल्किएका थिए । पर्यटकहरु आँखै अगाडिको अलौकिक जस्तो देखिने दृष्य हेरेर मन्त्रमुघ्ध थिए । दृष्यावलोकनको लागि यो महत्वपुर्ण ठाउँ रहेछ । हाम्रो पुरै ५ दिनको यात्राको झण्डैझण्डै सम्पुर्ण रुट यहिंबाट देखियो ।

यहाँ पदायात्रामा जाने आन्तरिक तथा बाह्य पर्यटको विवरण र जानकारीहरु राखिने रहेछ । प्रहरी चौकी नभएको र चेकजाँचमा पनि आवश्यक सतर्कता नअपनाएको पाईयो । रुट, संभावित समस्याहरु, नजिकका स्वास्थ्य चौकी र सुरक्षाकर्मी आदिको जानकारी समेटेको साधारण ब्रोसर पनि नपाउँदा दुखः लाग्यो ।

छोम्रोङ पदमार्गको सबैभन्दा ठुलो गुरुङ गाँउ हो । यो गाउँ माथि डाँडादेखी तल खोलासम्म फैलिएको छ । घर र रिसोर्टहरुमा बौद्व धर्मसंग सम्बन्धित रङ्गिचङ्गि ध्वजापतकाहरु टाँगिएका थिए । ओरालोमा प्यागोडा शैलीको गुरुङहरुको कुलदेवताको मन्दिर र त्यसभन्दा अगाडि सानो चिटिक्क परेको गुम्बा भेटियो । त्यो भन्दा तल खेतमा लहलह झुलेका पहेलपुर धान थिए । हामी बेसक्याम्प पुगेर फर्कदा धान काटिसकिएको थियो । झन्डै २,१०० मिटरको उचाईमा रहेको यो स्थान सिमी, आलु लगायतका तरकारी खेतीको लागि प्रसिद्व रहेछ । पदयात्रामार्गमा सबैभन्दा खेती हुने ठाँउ यहिं रहेछ ।

झोलुङ्गे पुल तरेर बिस्तारै उकालो लागेपछि तल्लो सिनुवा आइपुग्यो । यहाँ केही क्षण थकाई मारेपछि पुनः उकालो लाग्यौं । केहि क्षणमा माथिल्लो सिनुवा आईपुग्यो जुन २,१०० मिटरको उचाईमा छ । एबिसि पदयात्रामा अन्तिम एकदिन बाहेक अन्य दिन धेरै उचाईमा हिंड्नु पर्दैन । २०००–३५०० मिटरमै अधिकांश यात्रा पुरा हुन्छ, त्यसैले अल्टिच्युड सिकनेशको समस्या खासै आउँदैन । बाटो सजिलो र राम्रो छ । चट्ट मिलेका ढुङ्गाहरुले बनाएको सिंढी, ठाउँठाउँमा भारी बिसाउने चौतारी, कादुरी भन्ने संस्थाले बनाएका खानेपानिका धाराहरु, पदयात्री संकेत चिन्हहरु अनि खोलाहरुमा फड्के वा पुलले यात्रालाई सहज बनाउँछ ।

माथिल्लो सिनुवादेखि केही क्षण ओरालो हिंडेपछि बिस्तारै तेर्सो बाटो सुरु हुन्छ । जंगलको छहारी सहितको तेर्सो बाटो, दाहिनेतर्फ मोदीखोलाको सुस्याहट, हरेक १०/१५ मिनेटमा आफ्नै पाखातर्फ र पारी पाखामा देखिने मनमोहक झरनाहरु अनि चराचुरुङ्गीको चिरविर–चिरबिर ध्वनिले हामीलाई स्वर्गिय यात्रामा रहेको अनुभूती दिलाउँथ्यो । बाटोमा अधिकांश समय माछापुन्छ्रे, अन्नपुर्ण र अन्य हिमश्रृंङखला सम्मुखमा देखिन्छन् । तिनको मोहकताले थकाई लागेको पत्तै पाईएन ।

बाटोमा पदयात्रीहरुको भीडभाड छ । झन्डै आधाआधी यात्रु नेपाली छन् । केही वर्ष पहिलेसम्म विदेशीहरु मात्र देखिने पदमार्गमा हाल देखिएको नेपालीहरूको ठुलो संख्याले घुमफिरमा हाम्रो बढ्दो रुचि र सुधारिएको जिवनस्तरलाई प्रतिबिम्वित गर्छ । एकजना ४ वर्षकी सानी नानी बुबाआमासंग हिंड्दै थिईन् । ८५ वर्षका रसियन नागरिक पनि बाटोमा भेटिए । अधिकांश नेपाली पदयात्रीहरु १८/२० देखी ३५ वर्ष बिचका थिए भने विदेशीहरु ५० कटेका धेरै देखिन्थे । पदयात्रामा युरोपियनसँगै कोरियनहरु ठुलो संख्या भेटिए । जापनिजहरु भने कम भेटिए । चिनियाँ र भारतिय त हुने नै भए । फाट्टफुट्ट आसियान मुलुक र ल्याटिन अमेरिकनहरु पनि भेटिए ।

यात्राकै क्रममा २५०५ मिटरको उचाईमा अवस्थित दोभान भन्ने ठाउँ पुगियो । त्यहाँ हामीले सुप खायौ, रु. १०० प्रति टुम्लेटको दरले तातोपानी किन्यौं र अगाडि बढ्यौं । यसपश्चात अलि ठुलोखाले निगाली बाँसको जंगल भेटियो । यहि बाँसैबाँसको जंगल हुँदै अगाडि बढ्दा पोजेङहेम बराह मन्दिर आईपुगियो । प्यागोडा शैलीको सुन्दर मन्दिर वरिपरी बौद्घ धर्मसंग सम्बन्धित रङ्गीचङ्गी ध्वजापताकाहरु टाँगिएको थियो । हिमाल यात्रा गर्नेहरुले यो मन्दिरमा पुजा गरेमा पहिरो, हिमपात, अनिकाल लगायतबाट संरक्षण मिल्छ भनि स्थानीयहरुले विश्वास गर्दा रहेछन् । यो मन्दिरभन्दा माथि माछा मासु लैजान निषेध छ । मन्दिरको सम्मुखमै पारीपट्टी विशाल झरना छ । थकित पदयात्रीहरुलाई मन्दिर, झरना अनि तल सुसाउँदै बगेको मोदीखोलाको दृष्यले पुलकित बनाउँछ ।

देउरालीसम्म पुग्ने लक्ष्य भएतापनि उकालो यात्रा र थकानले बेम्वो भन्ने स्थानबाट अगाडि जान सकिएन । २,३१० मिटमा अवस्थित यो स्थानको नेपाली नाम निगाली होला र विदेशी पर्यटकहरुले अंग्रेजीमा बेम्बो भन्दाभन्दै अपभ्रम्स भयो होला भन्ने मेरो आँकलन रह्यो ।

यात्राको तेस्रो दिन बिहान उज्यालो नहुँदै बेम्बोबाट अगाडि बढ्यौं । भर्खरै निर्माण सम्पन्न गरिएका जस्ता लाग्ने सिंढीहरु थिए, केही ठाउँमा अलि ठाडै उकालो पनि थियो । हामीले ब्यागमा प्रसस्त चकलेट तथा बिस्कुटहरु बोकेका थियौं । चकलेट, बिस्कुट र पानी खाँदै उकालो चढ्यौं । एकैछिन सानो पानी पर्यो, रेनकोट झिकेर लगायौं तर तुरुन्तै थामियो । देउराली भन्ने स्थानमा गएर खाना खायौं ।

यो पदयात्रा मार्गभरि खाना महंगो छ । शाकाहारी खानाको पनि प्रतिव्यक्ति रु. ६००÷७०० तिर्नुपर्छ । एबिसि पुग्दासम्म त मुल्य बढेर झण्डै रु. १००० नै पर्न जान्छ । एक कचौरा सुपको ४००÷५०० तिर्नुपर्छ । मोबाईल चार्ज गरेको र वाईफाई जोडेको पनि छुट्टै पैसा तिर्नुपर्छ ।

हाम्रो यहिं टोलीले ४ वर्ष अगाडी मुक्तिनाथको यात्रा गरेका थियौं । संगै कलेज पढेका साथीहरु भएपछि छुट्टै रमाईलो हुने । कलेज जीवनका स्मरणहरु ताजा भए । ठाँउठाँउमा गीत गाउँदै नाच्दै अगाडि बढ्यौं । गफगाफमै हामी २५ वर्ष अगाडि पुग्यौ, बुढ्यौली लाग्न थालेकोमा अलिअलि चिन्ता पनि लियौं । तर खुशी केमा थियौं भन्दा हामी सबै साथीहरु आ–आफ्नो क्षेत्रमा व्यस्त थियौं । केशव र दिवाकरको आफ्नै बिजनेश छ, कमल र म सरकारी सेवामा अनि राजु अमेरिकामा व्यावसायमा ।

आज तेस्रो दिनको बास बस्न एबिसी नै पुग्ने हाम्रो तयारी थियो । होटल बुकिङ पनि गरेका थियौं । कमललाई हिंड्न अलि गाह्रो भो । हाम्रो टिम थाहै नपाई छुट्टियो । साँझ ४ बजेतिर राजु, दिवाकर र म ३,७०० मिटरको उचाईमा रहेको माछापुच्छ्रे बेसक्याम्प पुग्यौं । बोलीचालीको भाषामा यसलाई एम्बेसी भनिदोरहेछ । यो अन्नपुर्ण हिमाल चढ्नेहरुको बेसक्याम्प हो । यहाँबाट एबिसी ढाईदेखि तीन घन्टाको दुरीमा छ । घाम अस्ताउने बेला हामी यहाँ पुग्दा मौसम राम्रो थियो । सबै हिमाल खुलेका थिए । पुर्वपट्टि माछापुच्छ्रे र पश्चिमपट्टी अन्नपुर्ण हिमाल सम्मुखमै थिए । अन्य सबै दिशामा समेत हिमालहरु देखिएका थिए । अस्ताउँदै गरेको घामको किरणले माछापुच्छ्रे सुनौलो देखिएको थियो । विदेशी तथा आन्तरिक पर्यटकहरु फोटो र भिडियो खिच्न व्यस्त थिए । मोबाइल डाटाले काम गरेको हुँदा मैले अनितालाई र बुबालाई भिडियो कल गरेर हिमालहरुको प्रत्यक्ष दृष्य देखाए । झण्डै १ घन्टा त्यतै भुल्दा पनि साथीहरु आएनन् । फोन सम्पर्क गर्दा एम्बेसीमै बस्नुपर्छ भन्दै थिए तर हामी अगाडि बढ्यौं ।

हिजो एबिसिको लागि होटल बुक गर्दा साहुले कुनै हालतमा आईपुग्नुपर्छ र नआएमा जरिवाना तिर्नुपर्छ भन्दै थिए । नेपालीहरुले योजना नबनाई हिंड्ने, दुरीको आँकलन नगर्ने र बुकिङ गरेको ठाउँमा नपुग्ने हुँदा व्यवसायीहरुले व्यवस्थित रुपमा हिंड्ने विदेशीहरुलाई नै मन पराउने गरेको कुरा थाहा पाएका थियौं । त्यसमाथी यती व्यस्त समयमा मुस्किलले पाएको होटलसम्म पुग्नै पर्छ भन्ने लागेर दुई जना साथीहरु पछाडी छुट्दा पनि मैले अलि कर गरेर हामी ३ जना एबिसीतर्फ अगाडि बढ्यौं । तर हिमालमा घाम अस्ताएपछि तुरुन्तै रात पर्ने रहेछ । एकडेढ घण्टा नहिंड्दै झमक्कै रात पर्यो । धेरैजसो पर्यटक कि तल एम्बेसिमै रोकिएका थिए कि माथि एबिसिमै पुगिसकेका थिए । हामी ३ जना मात्रै भयौ अध्यारो बाटोमा । त्यसमाथि मैले साथीहरुलाई भेट्टाउन सकिन । कतै बत्तिको उज्यालो पनि देखिएन । बेसक्याम्प कति टाढा छ भन्ने भेउनै पाउन सकिएन । लजवालाको फोन पनि लागेन । अब के गर्नेहोला भन्ने दोधारबिच तल साथीहरुसंग भने सम्पर्क भयो । उनीहरुले माथी आउन नसक्ने भन्दै एम्वेसिमै बास बसेको बताए । हामीले माथि पुग्न नसकिने भो, तलै झर्छौ, बासको व्यवस्था गर्न सकिन्छ कि सकिदैन भनेर सोध्यौं । एकछिनपछि उनीहरुले छुट्टै रुम नभएपनि हल कोठामा अरु पाहुनाहरुसंगै समुहमा सुत्ने प्रबन्ध गर्यौ भनेर फोन गरे । त्यसपछि अध्यारोमा छामछुम गर्दै हामी फेरि एम्वेसितिरै फर्कियौं । तल झर्दा पो थाहा भो हामी थुप्रै हिंडिएको रहेछ । यसरी माथि जाँदा र फर्कदाको गरि झण्डै साढे दुई घन्टा ब्यर्थमा हिंडेर हामी पुन एम्वेसिमै आईपुग्यौं । आज अन्य दिनको भन्दा हिंडाई अलि बढी भएकोले खाना खाएर तुरुन्तै सुतिहाल्यौं । अण्डरग्राउन्डमा रहेको हल कोठामा कोही घुर्ने, कोही खोक्ने, कोही गुनगुन गर्ने गरेकोले खासै निदाउन सकिएन ।

बिहान तीन नबज्दै उठ्यौं । आज एबिसि ट्रेकिङको सबैभन्दा महत्वपुर्ण दिन । सबैजना तयार भएर ४ः१० मा एम्बेसिबाट एबिसीतर्फ अगाडि बढ्यौं । सबेरै भएकोले ठिहिर्याउने जाडो थियो । आज बल्ल झोलामा ल्याएका सबै बाक्लो कपडाहरु काम लाग्यो । उचाई भएकोले हिंड्न गाह्रो भएको थियो तर लेकै लागेको भने होईन । बाटो भने सजिलो थियो, खासै उकालो हैन तेर्सो तेर्सो बाटो थियो । ट्रेकर्सहरुको भिडभाड थियो । सबेरै भएपनि जुनको उज्यालोले होला अन्नपुर्ण हिमाल आँखै अगाडि टल्केको थियो । बिस्तारै उज्यालो हुँदै जाँदा दृष्य अझै स्पष्ट हुँदै गयो ।

हामी बिहानको करिव ७ बजेतिर अन्नपुर्ण बेसक्याम्प पुग्यौं । यो ४,१३० मिटरको उचाईमा अवस्थित रहेछ । मौसम खुलेको थियो, कतै बादलको क्लेश पनि थिएन । माछापुच्छ्रेको शिरबाट उदाएको सुर्यको किरणले अन्नपुर्णको चुचुरोलाई बिस्तारै स्पर्श गर्दै थियो । सुर्योदयको यो अलौकिक दृष्यले हामी लगायत त्यहाँ पुगेका सबै स्वदेशी र विदेशी पदयात्रीहरु मन्त्रमुग्ध थिए ।

हाम्रो ठिक अगाडि अन्नपुर्ण दोस्रो थियो । त्यसपछि क्रमशः घडिको सुई हिंड्ने दिशामा अन्नपुर्ण प्रथम, गङ्गा चुली, टेन्ट पिक, गन्दर्भ चुली, माछापुच्छ्रे र हिमचुली हुँदै ३६० डिग्रीको बृत्तरेखा पुरा हुन्थ्यो । यि मध्ये ८,०९१ मिटर अग्लो अन्नपुर्ण प्रथम संसारका ८,००० मिटर भन्दा अग्ला १० हिमश्रृंखलामध्ये पर्दछ भने माछापुच्छ्रेको उचाई ६९९३६ मिटर रहेको छ ।

अन्नपुर्ण आाधार शिविर साँच्चिकै अभुतपूर्व रहेछ । पूर्वमा माछापुच्छ्रे, पश्चिममा अन्नपुर्ण, उत्तरमा टेन्ट पिक र दक्षिणमा हिमचुली लगायत गन्धर्ब चुली, मर्दि हिमाल तथा अन्य नाम थाहा नभएका दर्जनौ हिमालहरु एकै बिन्दुबाट ३६० डिग्रीको पानारोमिक भ्यूमा देखिंदा सपना हो कि विपना जस्तो लाग्ने रहेछ । यो सुन्दरताले जिवनका सबै दुख र पीडाहरु भुलाईदिने रहेछ ।

बिस्तारै घाम बढ्दै जाँदा जाडो पनि हरायो । हेलिकप्टरहरुले पोखराबाट खेपका खेप पर्यटकहरु सिंधै एबिसिमै झारे । विदेशीहरु खुशीले चिच्याईरहेका थिए । केही नेपालीहरु पनि हेलिकप्टरमा आएको देखियो । हेलिकप्टरमै खाद्यान्न र तरकारीहरु ओसारेको पाईयो । हेलिकप्टरले ओसारेको खाद्यान्न महंगो त हुने नै भयो । बेसक्याम्पको बोर्ड राखेको भन्दा केही माथिको डाँडामा गएर थुप्रै समय फोटो खिच्यौं, टिकटकको लागि भिडियो बनायौं । केही नाचगान गरेर पनि रमाईलो गर्यौ । जति समय त्यहाँ बसेपनि धित मर्ने रहेनछ । घर फर्कनु त थियो नै । एक घण्टाभन्दा बढी समय त्यहाँ बसेर तल एम्बेसितर्फ झर्यौ । २५ वर्ष पहिले अध्ययनको शिलशिलामा भेट भएका साथीहरुको मित्रताको निरन्तरता र यो बिशेष स्थानमा संगै आउन पाउनु पनि एउटा सौभाग्य नै हो ।

एम्बेसिमा आईपुग्दा ११ बजेको थियो । ब्रेकफास्ट खाएपछि आ–आफ्ना झोला बोकेर फिर्ती यात्राको लागि अगाडि बढ्यौं । बाटोमा उकालो चढ्नेहरुको उत्तिकै भिड थियो । हामी भने त्यो स्वर्गिय स्थानमा पुगेर फर्किसकेका थियौं । मन र मस्तिस्कमा त्यहाँको सुन्दरताको अमिट छापसंगै बोकेका थियौं । हामी सबैको मनमा गज्जवको सन्तुष्टी थियो । उकालो चढ्दै गरेका पदयात्रीले अघिल्लो स्टेशन वा आफुहरु आज बास बस्ने ठाउँ सम्मको दुरी र लाग्ने समयबारे सोध्थे । उनीहरु नआत्तिउन भनेर हामीले समय घटाएर उत्तर दिन्थ्यौं ।

ओरालो झर्दा मलाई हिंड्न ग्राह्रो भो । जाँदा सधैं अगाडी अगाडी भएको म फर्किदा सबैभन्दा पछाडी परे । मैले कुनैपनि ठाउँमा साथीहरुभन्दा अगाडि गएर एकछिन थकाई मार्न पाईन । सबैको पालो आउने रहेछ भनेर साथीहरुले जिस्क्याउँदै थिए । उनीहरुको सङ्केत उकालो चढ्दा म सबैभन्दा अघि भएको र अहिले ओरालो झर्दा सबैभन्दा पछि भएको तर्फ थियो ।

यात्राको चौथो दिन बेम्बु बस्यौं । फर्किदाको लागि होटल बुक गरेका थिएनौं । छुट्टाछुट्टै रुम नपाएपछि यहाँ पनि हल कोठाकै बास भयो । पाँचौ दिन ४ बजेतिर झिनु आईपुग्यौं । जाँदा बास बसेको होटलमा बढी भएको र यात्रामा नचाहिने जस्तो लागेका सामानहरु छाडेका थियौं । पदमार्ग कम उचाईमा रहेकोले सिजनमा यात्रा गर्दा १ दिनको लागि बाहेक धेरै न्यानो कपडा चाहिने रहेनछ । झिनु गाउँको केही तल तातोपानी रहेछ तर आजै पोखरा पुग्ने योजनाले गर्दा गएनौं । एकछिन् त्यहिं होटलमा थकाई मारेपछि खाजा खायौ र सामानहरु झोलामा थपेर ओरालो झर्यौ । झण्डै आधी घण्टामा जिपपार्क आईपुग्यौं । त्यहाँ नम्बरमा लागेको एउटा जिप रिजर्भ गरेर यात्राको पाँचौं दिन राती ९ बजेतिर पोखरा आईपुग्यौं ।

पोखरा आएर शुरुमै ट्रेकिङ स्टिकहरु फिर्ता गर्यौ । राती भएपनि पोखराको लेकसाइडमा चहलपहल हुने नै भयो । शरीर अत्यन्तै दुखेकोले सबैजना स्पा एण्ड मसाज सेन्टरमा गयौं । एक घण्टाको मसाज पश्चात शरीर फ्रेस भएको अनुभुती भयो । त्यसपश्चात लेकसाइडको एउटा होटलमा ड्रिङ्कस र भोजन गरेर बस्यौं । सुत्ने होटलमा आउँदा मध्यरात भैसकेको थियो । साथीहरु भोलिपल्ट बुटवल गए र म आफ्नो कर्मस्थल काठमान्डौं फर्किए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->