पोखरा/ कास्कीमा सुशासन, शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरोकारवाला निकायहरू बीचको समन्वय, सहकार्य र संवादमा कास्की प्रशासनले जोड दिएको छ ।
यसैक्रममा शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्ला सुरक्षा समिति, राजनीतिक दल र सञ्चारकर्मीबीच संवाद कार्यक्रमको आयोजना ग¥यो । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जिल्लाको शान्ति सुरक्षालाई चुस्त राख्न र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सबै पक्षको साथ र सहयोगको अपेक्षा गरे ।
कार्यक्रमका सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव विश्वराज पौडेल, एमाले जिल्ला सचिव दर्शन लामा, नेपाली कांग्रेसका प्रतिनिधि रामजीप्रसाद कोइराला र राप्रपाका नारायण गुरुङले विभिन्न सुझाव राखेका थिए । सञ्चारकर्मीहरुले पनि विभिन्न विषयमा प्रशासनको ध्यानाकर्षण गराएका थिए । प्रजिअ गुरुङले प्राप्त सुझावलाई ग्रहण गर्दै कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले आर्थिक वर्ष २०८२/ ०८३ मा जिल्लाको शान्ति सुरक्षाको अवस्था मजबुत रहनुका साथै प्रशासनिक सेवा प्रवाहमा समेत उल्लेखनीय प्रगति हासिल भएको बताए । उनले कार्यालयका तर्फबाट तथ्यांक प्रस्तुत गर्दै गत आवमा कुल ९ हजार ७ सय १४ वटा नागरिकता वितरण गरेको जनाए । त्यसमा सबैभन्दा बढी वंशजका आधारमा ९,६०० रहेका छन् । आमाको नामबाट २७ र गैरआवासीय नागरिकता ६९ वटा वितरण गरिएको छ । उक्त आवमा जिल्लाका ७६ जनाले नागरिकता परित्याग गरेका र १४ वटा नागरिकता रद्द गरिएको छ ।
१५ हजार ९ सय २५ वटा राहदानी वितरण गरिएको र राहदानी सेवाबाट मात्र प्रशासनले ७ करोड ४२ लाख ९५ हजार ५ सय ५० रुपैयाँ राजस्व संकलन गरेको सहायक प्रजिअ बरालले बताए । उनका अनुसार ३२३ वटा हातहतियार नवीकरण र १३ वटा ठाउँसारी गरिएको छ । ३२५ तिब्बतियन शरणार्थी परिचय पत्र र ४ वटा यात्रा अनुमति पत्र सिफारिस गरिएको छ ।
अपराध नियन्त्रण तर्फ जिल्ला प्रहरी कार्यालयमा २ हजार ३ सय २३ मुद्दा दर्ता भएकोमा १ हजार ५ सय ७४ फछ्र्यौट भई ७४९ बाँकी छन् भने कुल १ हजार ९ सय २८ जना (१७४६ पुरुष, १८२ महिला) मानिस पक्राउ परेका छन् । यता जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका ४९४ (अल्या १२६ समेत) मुद्दा मध्ये ३२९ फछ्र्यौट भएका छन् । जसमा अभद्र व्यवहारका ४२०, जुवाका २८, खाद्यका १७, सवारी दुर्घटना क्षतिपूर्तिका २८ र कालोबजारीको १ मुद्दा रहेका छन् ।
प्रहरीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ मार्फत २४२ जना पक्राउ परेका छन्, जसमध्ये ५९ जनामाथि मुद्दा चलाइएको, ४३ जनालाई ट्राफिक कारबाही गरिएको र १४० जनालाई तारेखमा छाडिएको छ । ट्रान्सपार्टीमा संलग्न विभिन्न देशका ३८ जना विदेशी नागरिकहरूलाई समेत नियन्त्रणमा लिई अनुसन्धान र कारबाही गरिएको छ । युवा पुस्तामा देखिएको ‘जेन–जी आन्दोलन’ का क्रममा भएका आगजनी, तोडफोड तथा चोरीमा संलग्न ६८ जना (६६ पुरुष, २ महिला) लाई पक्राउ गरी मुद्दा चलाइएको छ ।
यस्तै, सवारी मोडिफाइड र चर्को आवाज नियन्त्रणका लागि सञ्चालित “अपरेशन ३६५“ अन्तर्गत ७२२ वटा मोटरसाइकल नियन्त्रणमा लिई २९ जनामाथि मुद्दा चलाइएको छ । फैसला कार्यान्वयन तर्फ १११ वर्ष ७ महिना २२ दिन कैद सजाय भुक्तान गराउनुका साथै १३ करोड ५७ लाख ८४ हजार ५ सय ९२ रुपैयाँ बिगो संकलन गरिएको छ । फरार प्रतिवादी सहित ४९३ जना पक्राउ परेका छन् । कास्कीमा लागु औषध नियन्त्रण अभियान अन्तर्गत ठूलो परिमाणमा प्रतिबन्धित पदार्थ बरामद गरिएको छ ।
गत वर्ष कास्कीमा आगलागीका ७५, चट्याङका ५, बाढी पहिरोका २२, अविरल वर्षाका १७ र सुक्खा पहिरोका २ गरी कुल १२१ वटा विपद्का घटना भए । यी घटनाहरूमा परि २ जनाको मृत्यु र ८ जना घाइते भए भने २१ घर, ३ गोठ, १ स्कुल, ५ सवारी, २ पुल र ११ सडकमा भौतिक क्षति पुग्दा कुल ६ करोड ९४ लाख ७८ हजार १ सय रुपैयाँ बराबरको अन्दाजी क्षति भएको छ । प्रशासनले मनसुन, शीत लहर, आगलागी र महामारी सम्बन्धी विपद् पूर्वतयारी तथा प्रतिकार्य आपत्कालीन कार्ययोजना २०८३ बनाई काम गरिरहेको बरालले बताए ।
प्रशासनले ३० पटक बजार अनुगमन गरी ३८ वटा व्यवसायलाई कुल ७ लाख २० हजार रुपैयाँ जरिवाना गरेको छ । कास्की प्रशासनले आगामी दिनमा अभिलेख व्यवस्थापनमा सूचना प्रविधिको उपयोग गर्ने, सेवा प्रवाहको लेआउट सुधार गरी अपाङ्गता मैत्री एवं जनमैत्री बनाउने, अन्तरनिकाय संवाद र नागरिक संवादलाई प्रभावकारी बनाउने तथा लागु औषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्ने कार्यदिशा तय गरेको छ ।





