बागलुङ (खर्वाङ)/पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाईते भएका छन् । शुक्रबार साँझ निसीखोलाको झिंवाखोलामा मोटरसाइल र सिपमा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
निसीबाट देविस्थान आउँदै गरेकोे लु ८० प ३११९ नम्बरको मोटरसाइकल निसीखोला–४ झिँवाखोलामा अनियन्त्रित भई सडकमै दुर्घटना हुँदा पछाडि सवार निसीखोला–४ बस्ने ३० वर्षिय कुसमाया सुनार घाईते भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी नायब निरीक्षक सुदीप भट्टराइले जनाकारी दिए ।
घाईते सुनारको अनुहारमा चोट लागेको र जिल्ला अस्पताल बुर्तिबाङमा उपचारपछि थप उपचारको लागि पोखरा रिफर गरिएको प्रनानि भट्टराइले बताए ।
यस्तै, निसीखोलाकै सिपमा भएको जीप दुर्घटनमा दुई जना घाईते भएका छन् । पातिहाल्नेबाट निसी आउदै गरेको लु १ च ४६५७ नम्बरको पिकअप र पातिहाल्नेतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००४ प ५८४८ नम्बरको मोटरसाइकल सिपको ओरालो र घुम्ती सडकमा अनियन्त्रित भई दुर्घटनामा परेका हुन् ।
ओरालो र घुम्ती सडकमा अनियन्त्रित हुँदा मोटरसाइकल पोलमा ठोकिएको र जीप सडकबाट तल खसेको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाईते भएको भट्टराईले बताए ।
दुबैको खुट्टामा सामान्य चोट लागेको र उपचारको लागि बुर्तिबाङ पठाइएको छ । जिपमा सवार चालकसहित चारै जना सकुशल रहेको प्रनानि भट्टराईले जानकारी दिए ।




