पोखरा/जिल्ला प्रशासन कार्यालय कास्कीले १ वर्षमा २७ जनालाई आमाको नामबाट नागरिकता दिएको छ । गएको आर्थिक वर्ष कास्की प्रशासनले ९ हजार ७ सय १४ वटा नागरिकता जारी गरेको थियो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले सबैभन्दा बढी वंशजको आधारमा ९ हजार ६ सय नागरिकता जारी भएको बताए । कास्कीमा सो अवधिमा गैरआवासीय नागरिकता ६९ वटा वितरण गरिएको छ । जिल्लाका ७६ जनाले नागरिकता परित्याग गर्दा १४ वटा नागरिकता रद्द भएका छन् ।
कास्कीमा नागरिकताभन्दा राहदानी लिनेको संख्या उच्च छ । गएको वर्ष १५ हजार ९ सय २५ वटा राहदानी वितरण गरिएको छ । राहदानी सेवाबाट मात्र प्रशासनले ७ करोड ४२ लाख ९५ हजार ५ सय ५० रुपैयाँ राजस्व संकलन गरेको सहायक प्रजिअ बरालले बताए ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्ला सुरक्षा समिति, राजनीतिक दल र सञ्चारकर्मीबीच आयोजना गरेको संवादमा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जिल्लाको शान्ति, सुरक्षालाई चुस्त राख्न र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सबै पक्षको साथ र सहयोगको अपेक्षा गरे ।
कार्यक्रमका सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव विश्वराज पौडेल, एमाले जिल्ला सचिव दर्शन लामा, नेपाली कांग्रेसका प्रतिनिधि रामजीप्रसाद कोइराला र राप्रपाका नारायण गुरुङले सुझाव राखेका थिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बरालले आर्थिक वर्ष २०८२÷०८३ मा जिल्लाको शान्ति सुरक्षाको अवस्था मजबुत रहनुका साथै प्रशासनिक सेवा प्रवाहमा समेत उल्लेखनीय प्रगति हाँसिल भएको बताए ।
जिल्ला प्रहरी कार्यालयमा २ हजार ३ सय २३ मुद्दा दर्ता भएकोमा १ हजार ५ सय ७४ फछ्र्यौट भई ७ सय ४९ बाँकी छन् । एक वर्षमा १ हजार ९ सय २८ जना (१७४६ पुरुष, १८२ महिला) मानिस पक्राउ परेका छन् । यता जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका ४ सय ९४ मुद्दामध्ये ३२९ फछ्र्यौट भएका छन् । जसमा अभद्र व्यवहारका ४ सय २०, जुवाका २८, खाद्यका १७, सवारी दुर्घटना क्षतिपूर्तिका २८ र कालोबजारीको १ मुद्दा छन् ।
प्रहरीले सञ्चालन गरेको ‘स्विप अप्रेसन’मार्फत २ सय ४२ जना पक्राउ परेका छन् । जसमध्ये ५९ जनामाथि मुद्दा चलाइएको छ भने ४३ जनालाई ट्राफिक कारबाही गरिएको छ । ट्रान्स पार्टीमा संलग्न विभिन्न देशका ३८ जना विदेशी नागरिकलाई समेत नियन्त्रणमा लिई अनुसन्धान र कारबाही गरिएको छ ।





